- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यताको विषयमा देखिएको विवाद समाधान गर्न फेरी क्रियाशील सदस्यता छानबिन समितिलाई नै जिम्मा दिएको छ ।
बुधवार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले सदस्यताका विषयमा देखिएको विवाद २४ घण्टा भित्र समाधान गरेर पेस गर्न समितिलाई जिम्मा दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
समितिका संयोजक रमेश लेखकले बुधवार मात्रै पार्टी पदाधिकारी बैठकमा सभापतिलाई सदस्यताको प्रतिवेदन बुझाएका थिए । जसअनुसार देशभर नयाँ तथा पुराना गरी काँग्रेसका क्रियाशील सदस्यता सङ्ख्या ८ लाख ५२ हजार ७११ पुगेको छ ।
समितिले बुझाएको प्रतिवेदनमा देशभरका १२१ वडामा अझै पनि सदस्यताको विवाद रहेको औँल्याइएको छ । यस्तै केही स्थानमा १३औँ महाधिवेशनकै सदस्यतामा पनि विवाद रहेको उल्लेख गरिएको छ ।
बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पुरै जिल्ला भरका क्रियाशील सदस्यतालाई प्रतिवेदनमा राखिएको छैन ।
यस्तै पार्टीको समायोजनका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलान्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।
भोलि बिहीबारसम्म पनि समितिबाट बाँकी विवाद समाधान नभए पदाधिकारीबाट नै विवाद मिलाउने प्रयास हुने बताइएको छ ।