- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मेवारी पार्टीका तीन जना शीर्ष नेतालाई दिएको छ ।
ललितपुरको बालकुमारीमा बसेको बैठकले पार्टीको सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, कार्यकारी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मेवारी दिएको प्रवक्ता डम्बर खतिवडाले संचारकर्मीहरुलाई जानकारी दिए ।
‘बैठकको मुख्य विषय चाहीँ, सरकारमा कसरी सामेल हुने, र कहिले हुने भनेर सैद्धान्तिक छलफल गरेका छौं । सरकारमा सहभागी हुनेबारे सकारात्मक धारणा आएको छ । त्यस्तै, पार्टीको नियामावली पनि बनाएका छौं, उनले भने ।
बैठकले मन्त्री छनौट गर्दा सबै वर्ग क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी चयन गर्ने मापदण्ड समेत बनाएको प्रवक्ता खतिवडाले बताए । बैठकमा केही नेताले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जानुपर्ने धारणा राखेका थिए भने केहीले अहिलेसम्म अवसर नपाएकाहरुलाई पठाउनुपर्ने धारणा राखेका थिए ।
कार्यकारिणी समितिको अर्को बैठक भोलि विहीबार बिहान ११ बजे पुनः बस्ने र पार्टी सङ्गठनका विभिन्न विषयमा छलफल हुने जसपाले जनाएको छ ।