- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका संशोधन साथै क्रियाशील विवाद निरुपणलगायतका विषयमा छलफल गर्न आज विहीबार पदाधिकारी बैठक बस्दैछ ।
दिउँसो २ बजेपछि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा महाधिवेशनबारे नयाँ निर्णय गर्ने सम्भावना छ ।
तर क्रियाशीलता विवाद समाधान भइनसकेकाले वडा तहको अधिवेशन अझ पछाडी धकेलिने र भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको महाधिवेशन समेत प्रभावित हुने संकेत देखिएको छ । यद्यपी, बुधबारको पदाधिकारी एवम पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनलाई पूर्णता दिनका लागि एक दिनको समय दिएको थियो ।
उक्त समितिले पनि २४ घन्टाभित्र आफ्नो पूर्ण प्रतिवेदन बुझाउनुपर्ने बाध्यताका कारण आज नै क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा मिलाएर प्रतिवेदन बुझाइने क्रियाशील सदस्यता छानविन समितिका प्रवक्ता प्रदिप पौडेलले जानकारी दिए । ‘हामीले नयाँ निर्णय केही गर्दैनौं, जुन निर्णय गरेका छौ अर्थात प्रतिवेदनमा भएका त्रुटीहरुलाई सच्याएर बुझाउने छौं,’ उनले भने ।
प्रतिवेदन कार्यान्वयनका लागि थप समय मागेको बताउँदै प्रवक्ता पौडेलले क्रियाशील सदस्यता विवाद समाधान भइनसकेका स्थानका बारेमा पदाधिकारीस्तरबाट नै समाधान निकालिने उनले जानकारी दिए । विसं २०७७ फागुन ६ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आसन्न १४ औँ महाधिवेशनको प्रयोजनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको भएपनि उक्त समितिले समायोजनका कारण विवाद भएका स्थानको विषयमा प्रवेश नगरी प्रतिवेदनमा भएका त्रुटीहरुलाई मात्र सच्याउन समय माग गरेको थियो ।
सर्लाही, बारा, सप्तरीलगायतका जिल्लामा क्रियाशील सदस्यता विवाद अझै कायम छ । विवाद समाधानको माग राख्दै नेता कार्यकर्ताहरु अझै केन्द्रीय कार्यालय सानेपामा धर्ना बसिरहेका छन् । त्यसैले सदस्यता विवाद टुंगो लाग्न अझै केही दिन लाग्ने भएकाले केन्द्रीय महाधिवेशन प्रभावित हुनसक्ने देखिएको हो ।
क्रियाशीलताको टुंगो लागिसकेपछि केन्द्रीय समितिबाट अनुमोदन गरिने साथै निर्वाचन निर्देशिका र महाधिवेशन कार्यतालिका पनि केन्द्रीय समितिबाट अनुमोदन भएपछि मात्रै निर्वाचन समितिले काम शुरु गर्ने भएकाले महाधिवेशन पछाडी धकेलिने निश्चित देखिएको छ ।
कांग्रेसको विधानअनुसार प्रत्येक चार वर्षमा गर्नुपर्ने महाधिवेशन चार वर्षे कार्यकाल २०७६ फागुन १९ मा नै सकिएको र त्यसपछि ६ ६ महिना गरी एक बर्षको म्याद पनि सकिसकेको छ । जसका कारण केन्द्रीय समितिमा विशेष महाधिवेशन देखि विभिन्न विकल्पहरुका बारेमा छलफल भइरहेको छ ।