arrow

जसपालाई मन्त्रीहरुको नामावली टुङ्याउन सकस

मन्त्रीहरुको टुंगो आइतबारसम्म मात्र लाग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
upendra-yadav-election-commission-jasapa.jpg

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले दुई दिन भित्रमै मन्त्रिपरिषदलाई पूर्णता दिने बताए पनि जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो तर्फबाट मन्त्रीहरुको टुंगो आइतबारसम्म मात्र लाग्ने जनाएको छ ।

निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको जसपाको कार्यकारिणी समितिको विहीबारको बैठकमा मन्त्रीहरुको नामावली टुङ्याउने विषयमा छलफल जारी रहेको जसपाका एक नेताले बताए ।

उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि मंगलबारबाट जारी बैठकमा संगठन विस्तार, कार्यकारिणी समितिको पूर्णता, मन्त्री पठाउने विषय, तथा समायोजन लगायतको विषयमा छलफल भइरहेको छ ।

समितिको बुधबारको बैठकले मन्त्री पठाउनेबारे निर्णय गर्ने जिम्मेवारी पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको छ ।

तीन शीर्ष नेताले पहिले अवसर नपाएका नेताहरुलाई मन्त्रिपरिषदमा अवसर दिनेगरी तयारी गरिरहेका छन् । प्रधानमन्त्री देउवाले निर्वाचन आयोगले जसपाको विवाद छिनोफानो भएलगत्तै दुई दिन भित्र मन्त्रिपरिषदलाई पूर्णता दिने बताएका थिए ।

त्यस्तै यता जसपाका कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवले कम्तीमा ६ वटा मन्त्रालय पाउनु पर्ने जसपाको अडान रहेको बताएका छन् । ‘७ वटा मन्त्रालय पाउनु पर्ने हाम्रो अडान हो। भागबन्डा मिलाउन केही समस्या छ भने कम्तीमा ६ वटा मन्त्रालय पाउनु पर्छ।’

सत्तारुढ दलहरूबिच बरावारिको आधारमा मन्त्रालय भागबन्डा गर्नु पर्ने उनको भनाइ छ। ‘यसको मतलब हो, नेपाली काँग्रेस र माओवादीले जति मन्त्रालय पाउँछन्, त्यति नै हामीले मन्त्रालय पाउनु पर्छ भन्ने भनाइ हो।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ