arrow

कांग्रेस क्रियाशील सदस्यताको विवाद: समितिले त्रुटी सच्यायो, बाँकी विवाद शीर्ष नेताले टुङ्याउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १४ बिहिबार
deuba-home-house-pm-niwash-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा देखिएको बाँकी विवाद समाधान गर्न पदाधिकारीलाई जिम्मा दिंदै क्रियाशील छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिमा टुंगो नलागेका वडाहरुको विवाद वाहेक विवरणमा देखिएका त्रुटीहरु सच्याएर प्रतिवेदन बुझाइएको हो । बिहीबार समितिले दोस्रो पटक प्रतिवेदन बुझाएको हो । 

बिहीबार बसेको वर्तमान र पूर्वपदाधिकारीको बैठकले सदस्यताबारे विवाद रहेका वडाको समस्या समाधान गर्न पाँच दिनको समय माग गरेको पनि लेखकले जानकारी दिए । ‘पदाधिकारीहरुकै परामर्शमा बनेको मापदण्ड अनुसार २४ घन्टाको समय थप गरी विवरणमा देखिएका त्रुटीहरु सच्याएर प्रतिवेदन बुझाएका हौं । बाँकी विवाद टुङ्याउन पदाधिकारीहरुकै जिम्मा,’ लेखकले भने ।

छानविन समितिका प्रवक्ता प्रदिप पौडेलले आफूहरुले तयार पारेको प्रतिवेदनका त्रुटीहरु मात्र सच्याउने भनेकाले त्यो काम सकेर जिम्मेवारी पूरा गरेको बताए । प्रवक्ता पौडेलले हाम्राकुरासँग भने,‘छानबिन समितिभित्र एकमत नभएका विषय पदाधिकारी स्तरबाट टुंग्याउने मापदण्ड पहिल्यै बनेको थियो । त्यसैले पदाधिकारी स्तरबाट खोज्नुपर्ने समस्याको पहिचानसमेत गरी प्रतिवेदन बुझाएका हौं ।’ करिब एक सय वडाको समस्या समाधान गर्न नसकेको पौडेलले बताए । 

समितिले प्रतिवेदन बुझाए पनि सर्लाही, धनुषा, बारा, सप्तरी,  सिन्धुपाल्चोक, रसुवा जिल्लाका केही वडाको विवाद कायमै छ । क्रियाशील सदस्यताको विवाद समाधान नहुँदा कांग्रेसको महाधिवेशन कार्यतालिका भने प्रभावित बनेको छ। साउन १२ का लागि तोकिएको वडा अधिवेशन अनिश्चित बनेको छ ।

प्रतिवेदन अनुसार हालसम्म आठ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्यता फाइनल भएको छ । अब विवाद रहेका वडा र विदेशस्थित जनसम्पर्क समितिको सदस्यता तथ्याकं आएपछि कुल सदस्यता संख्या टुंगो लाग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ