कांग्रेसमा नयाँ सहमति : सदस्यता विवादमा नयाँ मापदण्ड बनाइने
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
578
Shares
काठमाडौं। क्रियाशील सदस्यताका सन्दर्भमा केही जिल्लाको विवाद मिलाउन भन्दै बैठक बसेका कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच नयाँ सहमति बनेको छ ।
शुक्रबार (आज) तीन नेताबीच बारा, सप्तरी, सिन्धुपाल्चोक, सर्लाही, धनुषा र रसुवा जिल्लाको क्रियाशील सदस्यता विवादमा नयाँ मापदण्ड बनाएर विवाद टुङ्गो लगाउने सहमति बनेको हो । ती जिल्लाको विवाद पाँच दिनभित्र टुङ्ग्याउने नेता त्रयबीच सहमति छ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतका अनुसार विवाद समाधानमा केही समस्या भए नयाँ मापदण्ड बनाइने सहमति बनेको हो ।
‘केही क्राइटएरिया बनाउने भन्ने विषयमा सहमति छ, छलफल सकारात्मक छ, अब विवाद रहँदैन,’ सहमहामन्त्री महतले हाम्राकुरासँग भने ।
त्यसका लागि पहिले अन्य पार्टीबाट समायोजन भएकाहरूबाट आएका सदस्यतालाई हेरिने छ ।
कांग्रेस क्रियाशील सदस्यताको विषयमा बारा र सप्तरीमा जिल्लाभर विवाद छ । यस्तै धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २, रसुवा र सिन्धुपाल्चोकका केही स्थानमासमेत विवाद छ ।
कांग्रेसले बनाएको क्रियाशील सदस्यता छानबिन समितिले विवादको विषय समाधान हुन नसकेका जिल्लाको विवादमा सहमति गर्न शीर्ष नेतृत्वलाई सुम्पेको थियो ।