arrow

'एमालेलाई सग्लो राख्ने हो भने ओलीसँगको साइनो-सम्बन्ध राख्न हुँदैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १५ शुक्रबार
kp-oli-standing-committee-meet.jpg

काठमाडौँ ।   नेकपा (एमाले) का नेता तथा सांसद मेटमणि चौधरीले  एमालेलाई सग्लो राख्ने हो भने एमाले र केपी ओलीबिच कुनै प्रकारको साइनो-सम्बन्ध राख्न नहुने बताएका छन् । शुक्रवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  उनले भने,‘अब तपाईँहरू हेर्दै जानुहोस्, संसदीय दलभित्रपनि केही दिनभित्र पनि हामी त्यो खालको वातावरण बनाउनेछौँ । र, केन्द्रीय कमिटीमा त केपी ओली र हाम्रो बिचमा त निकै थोरै संख्या मात्रै तलमाथि हो । र, त्यो भित्र पनि एक खालको माहौल बन्दै छ। यदि त्यो पोज सनमा हामी पुग्यौँ भने केपी ओलीलाई संसदीय दलको नेता र पार्टी अध्यक्षबाट हटाउनुपर्छ र हटाउन सकेनौँ भने नेकपा एमालेलाई जोगाउन सक्दैनौँ । त्यो त तयारी हुनुपर्छ । र, हामी प्रयास गरिरहेका छौँ ।’

उनले ओलीलाई आफूहरूले करेक्सन गर्न नसकेको र उनलाई रिजाईनेशन गर्ने ठाउँमा पुर्‍याउन नसके एउटा प्रोसेसमा पुग्नुपर्ने भन्दै त्यस्तो अवस्थामा पार्टी फुटाइने सङ्केत गरे । उनले भने,‘यो साथसाथै कोही सुरुमै आउनुहोला, कोही पछि पछि आउनुहोला, कोही एक वर्षपछि आउनुहोला, कोही निर्वाचन ताका आउनुहोला, तर यो प्रोसेसमा चाहिन् हामी छिर्छौँ । अगाडि बढ्छौँ ।’

चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्र मध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउन सक्ने उल्लेख गर्दै आफूहरूले त्यो रिस्क मोल्न नचाहेको बताए।  उनले भने,‘यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौँ भने हामी हाम्रो आफ्नै आँखा अगाडि केपी ओली अध्यक्ष रहेको पार्टी समाप्त भएको देख्नेछौँ । म यो रिपोर्टर्स क्लब नेपालमा घोषणा गर्न चाहन्छु यदि हामीले अर्को पार्टी निर्माण गर्न सकेनौँ भने, केपी ओली नै यो नेकपा एमालेको अध्यक्ष भइराख्ने हो भने हाम्रो आफ्नै आँखा अगाडि हेर्दाहेर्दै नेकपा एमाले समाप्त भएको देखिन्छ । एमाले १६५ वटा निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त भएको त्यो खालको पोजिसन आउन सक्छ । तर, हामी यो रिस्क मोल्न चाहँदैनौँ । यसको लागि फेरि पनि बृहत् टाइपको कम्युनिस्ट पार्टी निर्माण गर्ने, त्यो पार्टी निर्माण गर्नको लागि अहिले जति सकिन्छ नेकपा एमालेभित्रबाट विभाजन गर्ने, पार्टी निर्माण गर्ने, त्यसपछि नेपालमा रहेका जति कम्युनिस्ट पार्टीहरू छन्, माओवादी केन्द्र, विप्लवदेखि लिएर जनमोर्चा, अनि नेपालको कम्युनिस्ट आन्दोलनसँग आईडोलजिकल्ली नजिक रहेको उपेन्द्र यादवको समेत पार्टीको बिचमा एकता गर्ने र फेरि पनि यो मुलुकको सबैभन्दा लार्जेष्ट पार्टी, र यो मुलुकलाई नेतृत्व गर्ने ठाउँमा पुर्‍याउनुपर्छ भन्ने हाम्रो निष्कर्ष रहेको छ ।’

उनले आफ्नो समूह आज-भोलिभित्रै सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् । उनले ६ वटा मन्त्रालयसहित सरकारमा जानेबारे आजै निर्णय हुने पनि जानकारी दिए । उनले भने,‘हामीले यति नै सङ्ख्यामा मन्त्रालय चाहिन्छ भनेर खोजेको छैन । तर, समानुपातिक प्रतिनिधित्व हुनु नै पर्छ । सम्भवतः मलाई के लाग्छ भने ६ को वरिपरिको मन्त्रालयमा हामी सहभागी हुन्छौ ।’ उनले सरकारमा सहभागी हुनेबारे सम्भवतः आजै निर्णय हुने पनि जानकारी दिए । यदि आज नभए आउने हप्तासम्म सरकारमा सहभागी भैसक्ने उनको भनाई छ । 

उनले पार्टी फुटाउनको लागि दल विभाजनसम्बन्धी अध्यादेशको पक्षमा आफूहरू नरहेको पनि स्पष्ट पारे । यसअघि केपी ओली नेतृत्वको सरकारले यस्तो अध्यादेश ल्याउँदा आफूहरूले त्यसको घोर विरोध गरेको चौधरीले स्मरण गराए । उनले भने,‘हिजो केपी ओलीले यो अध्यादेश ल्याउँदा हामीले विरोध गरेका थियौँ । अहिले हामी आफैले ल्याउँदा यसमा नैतिक प्रश्न हामीमाथि उठ्छ । त्यसैले दल विभाजनको अध्यादेश हामीले ल्याउन मिल्दैन । ल्याउनु पनि हुँदैन । हामीलाई चाहिएको सांसद सङ्ख्या भनेको ४८ हो । ४० प्रतिशत सङ्ख्या हामी सजिलै पुर्याउँछौं । केन्द्रीय कमिटीमा त हामी हाराहारीमै छौँ । हामीलाई अप्ठ्यारो भनेको संसदीय दलमा हो । अब संसदीय दलमा पनि हामी त्यो सङ्ख्या पुर्याउँछौं ।’

उनले आफूहरूले एमाले विभाजन गरेर अघि बढ्दा धेरैले साथ दिने पनि बताए । उनले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने मात्रै नभएर नदिने सांसदहरुपनि आफूहरूसँग आउने दाबी गरे । 

चौधरीले तत्कालिन् प्रधानमन्त्री ओलीले पहिलो पटक गरेको संसद विघटन पुनर्स्थापना भएपछि पूर्ण फैसला नआउँदै दोस्रो पटक संसद् विघटन गरेको र एकपछि अर्को गरेर निरङ्कुश बन्ने बाटो लिएकोले आफूहरू विरोधमा उभिएको स्पष्ट पारे । उनले भने,‘केपी ओली संविधान समाप्त गर्ने, कानुन नमान्ने, अध्यादेशमार्फत देश चलाउन खोज्ने, समग्रमा राजनीतिक सिस्टम नै सकेर आफूलाई तानासाही शासक बनाउने प्रयासमा लागेको कुरा छर्लङै छ । त्यति मात्रै होइन, ओलीले नेपालको कम्युनिस्ट आन्दोलन नै समाप्त हुने पोज सनमा पुर्‍याएकोले हामी यस अवस्थामा ओलीको स्टेपलाई स्थगन् गर्ने कित्तामा उभियौँ ।’

उनले आफूहरू ओलीको असंवैधानिक कदमको विरोधमा सुरुदेखि नै उभिएको स्मरण गराए । उनले भने,‘हामीले हिम्मत गरेर ओलीलाई प्रधानमन्त्रीबाट हटाएका हौँ । ओलीको विकल्पमा प्रधानमन्त्री बन्न काँग्रेस सभापति शेरबहादुर देउवालाई तयार गर्‍यौँ । सर्वोच्च अदालतमा गएर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्‍यौँ । उहाँले माग्नुभएको विश्वासको मतको सम्बन्धमा पनि पक्षमा नै मतदान गर्‍यौँ । यो सब किन गरियो ? भन्दा प्रतिनिधिसभा पूरा कार्यकाल चलोस्, अर्को पटक पुनः यस्तै सन्की शासक आएर प्रतिनिधिसभा विघटन गर्ने हिम्मत नगरोस् भनेर गरेको हो ।’

सांसद चौधरीले आफूहरू अहिले बलियो राष्ट्रिय सरकारका बनाउनुपर्ने पक्षमा रहेको पनि सुनाए । उनले वर्तमान सरकारले फेरि बजेट ल्याउने उल्लेख गर्दै यसलाई पास गर्ने आफूहरूको दायित्व रहेको पनि सुनाए । 
 



नयाँ