- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेले पार्टीलाई नयाँ गतिसाथ अगाडि बढाउन नौं वटा विभाग बनाउने निर्णय गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनुपस्थित बैठकमा अध्यक्ष केपी ओलीले विभिन्न विभाग गठन गरेका हुन् ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सोमबार सम्पन्न स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ गति साथ अगाडि बढाउने अभिप्रायका साथ विभागहरु गठन भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
जसअनुसार स्कूल विभागको प्रमुखमा अध्यक्ष केपी शर्मा ओली छन् । जसमा ११ जना सदस्य चयन गरिएको छ । १४ सदस्यीय संगठन विभागको प्रमुखको जिम्मेवारी उपमहासचिव विष्णु पौडेलले पाएका छन् ।
त्यस्तैगरी १४ जना सदस्य रहेको संसदीय विभागको प्रमुख सुवासचन्द्र नेम्वाङलाई चयन भएका छन् । आर्थिक विभाग प्रमुखको जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ । आर्थिक विभागमा हाललाई २ सदस्य चयन गरिएको छ ।
पर्यटन विभाग प्रमुखमा भानुभक्त ढकाल, निर्वाचन विभाग प्रमुखमा अग्नी खरेललाई जिम्मेवारी तोकिएको छ । विदेश विभागको प्रमुखमा राजन भट्टराई चयन भएका छन् । अन्य चार विभाग प्रमुखको जिम्मेवारी प्रदीप ज्ञवालीको पाएका छन् । पार्टी नियमावली अनुसार २५ सदस्यीय विभाग गठन गर्न सकिने भएकाले अहिले केही सदस्य समेटेर विभागहरु गठन गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।
बाँकी रहेका विभाग र विभागका सदस्य थप्ने काम क्रमश जारी राखिने र नेपाल समूहका नेताहरु पार्टीमा फर्किए उनीहरुलाई समेट्न पर्याप्त ठाउँ सुरक्षित गरिएको पनि उनले बताए । उनले भने, ‘पार्टीमा फर्किनेका लागि ठाउँ सुरक्षित छ, विभागमा थोरै सदस्य राखेको कारण पनि यही हो ।’
विधान कस्तो बनाउने भन्नेबारे २२ गते अनौपचारिक छलफल राखिएको ज्ञवालीले बताए । तीन दिनसम्म बसेको स्थायी कमिटी बैठक सोमबार सकिएको छ। विधान महाधिवेशन भदौ २७ र २८ गते गर्ने निर्णय बैठकले गरेको छ।
यता नेपाल पक्षले ओलीले एकलौटी रुपमा गरिरहेको निर्णयहरुप्रति आपत्ति जनाउँदै आएको छ । एकताको प्रयास चलिरहेका बेला ओलीले गरेका निर्णयहरुबारे नेपाल पक्षले असन्तुष्टी जनाउँदै आएको छ । यसअघि ओलीले एमालेमा नेपाललाई कुनै पनि स्थान नभएको र नेपाल देशद्रोही भएको समेत आरोप लगाइसकेका छन् ।
शनिवार ओलीले काठमाडौँ जिल्ला कमिटीको बैठकमा बोल्ने क्रममा नेपालमाथि दक्षिणपन्थीको आरोप पनि लगाए । दोस्रो तहका नेताहरूले नेपालसहितको एकताका पक्षमा मत सिर्जना गरिरहेका बेला अध्यक्ष ओलीले भने नेता नेपाललाई देशदोह्रीको आरोप लगाएपछि स्थिति विग्रिएको कार्यकर्ताहरुले बताएका छन् । यता नेपालले ओलीलाई राजा महाराजाको संज्ञा दिंदै ओलीसँग संवाद गर्नुको औचित्य नभएको बताइसकेका छन् ।