- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलले मङ्गलवार राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. विश्व नाथ पौडेललाई भेटेर आफ्नो गुनासो सुनाएको छ । भेटका क्रममा महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यले सुनचाँदी व्यवसाय सञ्चालनका क्रममा व्यवसायीले भोग्नु परेका विभिन्न किसिमका समस्याहरूको बारेमा जानकारी गराएका थिए ।
बजारमा पर्याप्त मात्रामा कच्चा पदार्थको समेत आपूर्ति हुन नसक्दा यसबाट व्यवसाय सञ्चालनमा समस्या सृजना भएको उनको भनाई छ । उपाध्यक्ष पौडेलसँग उनले यो व्यवसायको विकास र बिस्तारकालागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिका बारेमा प्रकाश पारेका थिए।
महासङ्घकाको प्रतिनिधिमण्डलसँग भएको भेटका क्रममा उपाध्यक्ष पौडेलले सुनचाँदी क्षेत्रको विकास र बिस्तारकालागि राज्यले आवश्यक पहल गर्ने बताए । सुनचाँदी क्षेत्रका एजेण्डाहरुलाई राष्ट्रिय नीतिमा समावेसगरी त्यसलाई व्यवहार मा कार्यान्वयनमा ल्याउन सके यो क्षेत्रबाट अरुबढी लाभ लिन सकिने उनको भनाई छ । मौलिक गरगहनाको संरक्षण र प्रवर्द्धन, खानी उत्खनन, निर्यात प्रवर्द्धन जस्ता विषयलाई आयोगले महत्त्वका साथ हेर्ने प्रतिबद्धता पनि त्यस क्रममा उनले व्यक्त गरे ।
आयोगका उपाध्यक्ष डा. पौडेलले मुलुकको आर्थिक विकास र रोजगारीको अवसर सृजना गर्नमा सुनचाँदी क्षेत्रको योगदान महत्त्वपूर्ण हुने बताए। यो क्षेत्रबाट बर्सेनि अरबौँको राजस्व प्राप्त हुने मात्र नभई लाखौँको सङ्ख्यामा रोजगारीको अवसर समेत सृजना हुने भएकोले मुलुकको आर्थिक विकास र परिवर्तनमा यो क्षेत्रमा भूमिका महत्त्वपूर्ण रहेको उनले बताए ।
उपाध्यक्ष पौडेलसँगको भेटका क्रममा महासङ्घको तर्फबाट अध्यक्ष शाक्य सहित महासचिव धर्म सुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सचिव किरण भाइ बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।