- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सुरक्षा बल एसएसबीले तुइन काटेकै कारण जयसिंह धामी महाकालीमा बेपत्ता भएको दाबी गरेका छन् । बुधवार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले भारतको हेपाहा प्रवृत्ति स्वीकार्य नहुने बताए ।
‘भारतीय सीमा सुरक्षाकर्मीले तुइन काटेकै कारणले जयसिंह धामी बेपत्ता भएका हुन्, अमानवीय, क्रूर कार्यको घोर भर्त्सना गर्दछु, भारतले सार्वजनिक रूपमा क्षमा याचना गर्नुपर्छ,’ राष्ट्रिय सभामा धारणा राख्दै श्रेष्ठले भने,‘अबको दिनमा यस प्रकारको हेपाहा प्रवृत्ति नदेखाउन पनि माग गर्दछु ।’ उनले परिवारजनले धामीको सास र लास फेला नपरेपछि कुशको शव बनाएर दाहसंस्कार गरेको घटनाले अत्यन्त पीडा भएकोसमेत बताए ।
भारतसँग नेपालले सधैँ असल मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहेको भन्दै श्रेष्ठले सबै समस्याहरू कुटनीटिक ढङ्गबाट समाधान गर्न नेपालले चाहेको बताए । ‘भारतसँग हामी असल मैत्रीपूर्ण सम्बन्ध कायम गर्न चाहन्छौँ, सबै समस्याहरूलाई कूटनीतिक ढङ्गबाट सकारात्मक संवाद गर्न चाहन्छौँ,’श्रेष्ठले धारणा राख्दै भने ।
सरकारले सो घटनाको छानबिनका लागि समिति बनाए पनि परिपक्व कूटनीतिक पहल भने नभएको भन्दै उनले भारतसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्न र दोषीलाई कारबाही गर्दै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।