सीमा समस्या समाधानका लागि ऐतिहासिक प्रमाणका आधारमा कूटनीतिक संवाद गर्न सुझाव
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
671
Shares
काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले नेपाल–भारत सीमा समस्याको स्थायी समाधानका लागि कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्।
राष्ट्रिय सभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनीहरूले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा दुई देशबिच संवाद अघि बढाउन सरकारलाई सुझाव दिएका हुन्।
नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले नेपाल–भारत सीमासम्बन्धी विषय दुई देशबिचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत नै टुङ्गो लगाइनुपर्ने स्पष्ट पारे।
"यस विषयमा सरकारले संयमित, स्पष्ट र जिम्मेवार कूटनीतिक दृष्टिकोण अपनाउनुपर्छ", उनले भने।
त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णुबहादुर विश्वकर्माले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने खालका अभिव्यक्ति कसैबाट पनि आउन नहुने भन्दै राष्ट्रिय संवेदनशीलतामाथि जोड दिए।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद सम्झना देवकोटाले नेपाल–भारत सीमा सन् १८१६ को सुगौली सन्धिबाट निर्धारित भएको ऐतिहासिक तथ्यलाई उल्लेख गरिन्।
उनले सुगौली सन्धिका ती प्रमाणहरूलाई आधार मानेर सीमा समस्या कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारलाई सुझाव दिइन्।