प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा ठप्प, रोकियो बजेटमाथिको छलफल
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
830
Shares
काठमाडौँ । नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र साहले प्रतिनिधि सभामा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी सांसदहरूले अवरोध गरेपछि राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।
बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै उठेर अवरोध सिर्जना गरेका थिए। सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्धारित कार्यसूची अगाडि बढाउनका लागि सांसदहरूलाई पटक–पटक आग्रह गरे पनि विरोध र नाराबाजी जारी रहेपछि बैठक स्थगित गरिएको हो।
बैठक अवरुद्ध भएसँगै आजका महत्त्वपूर्ण कार्यसूचीहरू प्रभावित भएका छन्। आजको कार्यसूचीमा सभाका अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यक्रम तय थियो।
यसैगरी, सबैभन्दा महत्त्वपूर्ण कार्यसूचीका रूपमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो, जुन अवरोधका कारण अघि बढ्न सकेन। अर्थमन्त्री वाग्लेले नै प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत तय भएको थियो।
प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्तिका कारण संसद् तातिरहेका बेला राष्ट्रिय सभाको बैठक आगामी जेठ २६ गते मङ्गलवार अपराह्न १ः१५ बजे बस्ने गरी स्थगित भएको छ।