सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, अर्थमन्त्रीले जवाफ दिने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
337
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक बस्दै छ।
बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ भने छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यक्रम रहेको छ।
त्यसै गरी बैठकमा अर्थमन्त्री डा. वाग्लेले 'विनियोजन विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्दै उक्त विधेयक सदनमा पेस गर्ने कार्यसूची छ।
साथै अर्थमन्त्रीद्वारा नै 'राष्ट्र ऋण उठाउने विधेयक, २०८३' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरी सो विधेयक पनि सभामा प्रस्तुत गरिनेछ।
सोही बैठकमा अर्थमन्त्री डा. वाग्लेले 'नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।
अर्कोतर्फ दिउँसो सवा १ बजे माथिल्लो सदन अर्थात् राष्ट्रिय सभाको बैठक बस्ने भएको छ। राष्ट्रिय सभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त भएका विभिन्न पत्रहरूको बेहोरा सदनलाई पढेर जानकारी गराउनेछन्।
यसका साथै अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पनि बैठकमा जानकारी गराउने कार्यसूची छ।
त्यसपछि राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।