कांग्रेसले अधिवेशनको नयाँ कार्य तालिका चाँडै सार्वजनिक गर्ने
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
400
Shares
काठमाडौं। नेपाली कांग्रेसले पार्टीको आशन्न १४औँ महाधिवेशनअन्तर्गत प्रभावित भएका स्थानीय तहका अधिवेशनको नयाँ कार्य तालिका छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालगायत शीर्ष नेताबीच भएको बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद एकदुई दिनमै निरूपण गर्ने सहमति गरेको हो ।
क्रियाशील सदस्यता छानबिन समितिका सदस्य रमेश लेखकले क्रियाशील सदस्यतामा देखिएका समस्या समाधान गर्न शीर्ष नेताहरूको बैठक सकारात्मकरुपमा अघि बढेको छ र विवाद छिट्टै निरूपण हुने बताए । क्रियाशील सदस्यतामा देखिएका समस्या समाधानपछि प्रभावित स्थानीय तहको नयाँ कार्य तालिका सार्वजनिक गरिने उनले जानकारी दिए ।
बैठकमा अन्य पार्टीबाट कांग्रेसमा प्रवेश गरेकाको सदस्यताका हकमा केन्द्रित भएर छलफल भएको थियो । पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको यही साउन १४ गतेको बैठकले पार्टीको क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई सुम्पेको थियो । क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएका कारण र पार्टीको समायोजनका कारण बारा, सप्तरी, सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाहीलगायत जिल्लाका केही क्षेत्र र वडाको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी छ ।
कांग्रेसले १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्य तालिका तय गरेको छ । त्यस्तै यसअघिको कार्य तालिका अनुसार गाउँ-नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ-नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते तोकिएको थियो ।
यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ गते र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको छ ।