- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने बताएका छन् । उनले आफूले पार्टीभित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको भएपनि एक्लैको प्रयास पर्याप्त नभएको बताएका हुन् ।
शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनलेले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पारे।
नेता नेपालले पार्टीलाई नयाँ जीवन दिन भन्दै अरुले जस्तो ‘बाँदरे नाच’ नाच्ने काम नगर्न पनि आफू पक्षीय जनवर्गीय संगठनका नेता, कार्यकर्तालाई आह्वान गरे। इमान्दार बन्नुपर्ने, असल संस्कार बोक्नुपर्ने, अरुको मानमर्यादामा आँच पुर्याउने काम कसैले पनि गर्न नहुने उनको भनाइ थियो।
नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टीभित्र समस्या पैदा गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढ्न आफूले चाहिरहेको बताए ।
अध्यक्ष ओलीले पछिल्लो समय दिइरहेको भड्किलो अभिव्यक्तिका कारण पार्टी एकता रोकिएको नेपाल पक्षको निष्कर्ष थियो। ओलीकै कार्यशैली र व्यवहारका कारण एमालेमा समस्या झन् झन् बढिरहेको उनको भनाइ थियो ।
‘हामीकहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे। सामूहिकताका भावनाहरु हराउन थाले। अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो। मै सबथोक सर्वज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो। र, हाम्रो पार्टी नेकपा एमालेमा समस्या देखा पर्यो’, नेपालले भने ।