दार्चुला तुइन घटना : ड्रोन प्रयोगका लागि भारतको अनुमती कुर्दै छानबिन समिति
रासस
प्रकाशित २०७८ साउन २६ मंगलबार
797
Shares
दार्चुला। महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न गठित समिति आठ दिन पछि यहाँबाट फर्किएको छ । यही साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा धामी बेपत्ता भएका थिए ।
धामीको शव खोज्न ड्रोन क्यामेरा प्रयोग गरिँदै छ । यसका लागि नेपाल प्रहरीको प्राविधिक टोली जिल्लामै छ । भारतीय पक्षले सोमबारसम्म महाकालीमा ड्रोन प्रयोगको लागि अनुमति दिने-नदिनेबारे जवाफ पठाएको छैन । स्वदेशी भू–भागबाट ड्रोन प्रयोग गर्ने तयारी छ । सीमा क्षेत्रमा ड्रोन उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ । ड्रोन क्यामेरा लिएर टोली आइतबार दार्चुला आइपुगेको हो । व्यास गाउँपालिका–२ मालघाटबाट सदरमुकाम खलङ्गासम्मको क्षेत्रमा ड्रोनको प्रयोग गरिने जनाइएको छ ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमका नेतृत्वमा गठित सो समितिका सदस्य आज घटनाबारे थप बुझ्न बैतडी प्रस्थान गरेका छन् । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने र महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।
सरकारले छानबिन समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन समय सीमा दिएको छ । गत साउन १७ गते गठित छानबिन समितिले बुधवारसम्म सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने छ । समितिले अझै काम सकेको छैन । छानबिन समिति बैतडी महेन्द्रनगर हुँदै काठमाडौँ फर्किने समितिका सदस्य एवं दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिईन् ।
सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र सहायक प्रमुख जिल्ला अधिकारी भट्ट रहेका छन् । छानबिन समितिले जिल्लामा रहँदा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गर्नुका साथै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना सङ्कलन गरेको थियो ।