- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबिच संवाद गर्ने वातावरण नभएको अवस्थामा नेकपा एमाले सचिव भीम आचार्यले पार्टीमा विभाजनकारी प्रवृत्ति हाबी भएको बताएका छन्। बुधवार बिहान सामाजिक सञ्जालमार्फत ८ बुँदे अपिल जारी गर्दै उनले यति बेला एमाले गम्भीर सङ्कटबाट गुज्रिरहेको समेत बताएका हुन्।
पार्टी एकताका लागि विना जालझेल, छलछाम र हिचकिचाहट रूपमा १० बुँदेलाई लागु गर्नुपर्ने उनको भनाइ छ। टुट–फुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै सङ्गिन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न पार्टी पङ्क्तिलाई आचार्यले अपिल गरेका छन्। एमाले एक भएर जानुपर्छ भन्ने धारणा बनाइरहेका आचार्यले बुधवार बिहान पार्टीभित्र विभाजनकारी शक्तिहरू हाबी हुँदा ओली–नेपालबिच संवाद हुन नसकेको आशय व्यक्त गरेका छन्। नेपाल समूहबाट निरन्तर पार्टी एकताको पक्षमा उभिएका आचार्यले दुवै तर्फबाट हठ कायम हुँदा पार्टी विभाजनको डिलमा पुगेकोमा चिन्ता व्यक्त गरेका हुन्।
यस्तो छ आचार्यको धारणा:
(१) एकातिर गत फागुन २८ गतेबाट सुरु भएको विभाजनकारी प्रवृत्तिहरू कतिपय बोली, बचन, काम, व्यवहार र निर्णयहरूमा हालसम्म पनि प्रकट भइरहेका छन्।
(२) अर्कोतिर त्यो प्रवृत्तिको विरोधमा पार्टी एकताको झन्डा उठाउनु पर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधिहरू विभाजनकै पक्षमा प्रकट भइरहेका हुन कि भन्ने आशङ्का बढेर गएको छ।
(३) पक्ष २ वटा प्रवृत्ति एउटै विभाजनकारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो।
(४) दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ता च्युत तत्त्वहरू र राम्रो काम गरेर होइन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको छ।
(५) नेकपा एमालेका देश विदेशमा भयका लाखौँ कार्यकर्ता,समर्थक,शुभचिन्तक तथा जनसमुदाय हरू नेपालको वामपन्थी आन्दोलन र नेकपा एमालेको एकताको पक्षका छन् तर उनीहरू पार्टी बचोस् भन्नै अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासे जस्ता भयका छन् र विडम्बना उनीहरू नेतृत्वविहीन पनि छन्।
(६) गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो। यसैमा टेकेर एकताको शुभारम्भ गर्दै थप समस्या हरू हल गर्दै जान सकिन्छ। विना जालझेल, छलछाम र हिचकिचाहट रूपमा यसलाई लागु गर्नु पर्दछ।
(७) हाल पार्टी एकताको कुरा गर्नेहरू माथि आक्रमण गर्ने, निरुत्साहित–हतोत्साहित गर्न खोज्ने, अनेक आरोप लगाए र बदनाम गर्ने प्रयासहरू भइरहेका छन्। त्यसबाट एकता पक्षधरहरू हतोत्साहित हुनु हुँदैन।
(८) टुट–फुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै सङ्गिन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देश विदेशमा रहनुभएका सम्पूर्ण न्याय प्रेमी नेपाली दाजुभाइ दिदी बहिनीहरूमा हार्दिक अपिल गर्दछु।