arrow

कांग्रेस अधिवेशन भदौमा पनि शुरु नहुने संकेतः मंसिरमा स्थानीय तह र माघमा केन्द्रको महाधिवेशन गर्न प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
nepali-congress-flag-tree.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया भदौमा पनि शुरु नहुने संकेत देखिएको छ । बुधबार कांग्रेसका शीर्ष नेताहरुबीच सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भएको महाधिवेशनको नयाँ मितिबारेको छलफलमा भदौमा नभएर मंसिरमा प्रक्रिया शुरु गर्ने प्रस्ताव आएको हो ।

‘संस्थापन पक्षबाट अहिले सारेर पनि भदौमा महाधिवेशन हुन सक्ने अवस्था नहुने भनाइ आयो, मंसिरमा स्थानीय तहका अधिवेशन सकेर माघमा केन्द्रीय महाधिवेशन गरौं भन्ने उहाँहरुको आसय थियो,’ बैठकमा सहभागी संस्थापन इतर पक्षका एक नेताले हाम्राकुरासँग भने ।

तर महाधिवेशन धेरै पर धकेल्ने पक्षमा भने नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहमत देखिएका छैनन् । उनीहरुले भदौमा नै प्रक्रिया थाल्नु पर्ने भनेका छन् । कहिलेलाई सार्ने र कुन मितिमा शुरु गर्ने भन्ने विषयमा भने बुधबार कुनै निश्कर्ष ननिस्किएको ती नेताले जानकारी दिए ।

‘भोलि विहीबार केन्द्रीय समिति बैठक छ, त्यसअघि विहान शीर्ष तहका नेताहरु पुनः छलफलमा बस्ने कुरा भयो, भोलीको केन्द्रीय समितिले नयाँ कार्यतालिका ल्याउँछ’ ती नेताले भने । सभापति देउवा निकट नेता मीन विश्वकर्माका अनुसार पनि अब भदौमा महाधिवेशन हुने अवस्था छैन । 
‘अहिले सारेर १५ दिन पछि नै अधिवेशन गर्न सहज छैन, अलि परैको मितिमा पुग्न सक्छ, स्थानीय तहको अधिवेशन एक महिना भित्रै गर्ने गरी कार्यतालिका आउन सक्छ, तर केन्द्रको महाधिवेशन चाँही माघसम्म हुने गरी कार्यतालिका आउन सक्छ,’ देउवा निकट नेता विश्वकर्माले भने । 
बैठकमा क्रियाशील सदस्यताका विषयमा देखिएको विवाद समाधानमा विषयमा पनि छलफल भएको छ । अझैसम्म पनि बारा र सप्तरी जिल्लाको नयाँ क्रियाशील सदस्यताको विवाद टुंगिन सकेको छैन । यस्तै सिन्धुपाल्चोक, सर्लाही, धनुषा र रसुवामा पनि सदस्यताको विवाद कायमै छ ।

सभापति देउवाले मंगलबार साँझ भने डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, गगन थापा लगायतसँग महाधिवेशनका बारे छलफल गरेका थिए ।

क्रियाशील सदस्यता विवादले पार्टी महाधिवेशन नहुने संकेत देखिएको भन्दै पौडेल समूहले भने सभापतिमाथि दबाब बढाउँदै आइरहेको छ । 
बुधबारको बैठकमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री डा शशांक कोइराला र पूणर्बहादुर खड्का, सहमहामन्त्री डा प्रकाशसरण महत, नेता डा. मिनेन्द्र रिजाल लगायत सहभागी थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ