arrow

तपाईँको बच्चालाई साइबरस्पेसमा कसरी सुरक्षित राख्ने?

logo
सरोज पाण्डे,
प्रकाशित २०७८ साउन २९ शुक्रबार
child-internet-saroj.jpg

कोभिड १९ को महामारीका विभिन्न लहरहरूका कारण देशभरिका बालबालिकाहरू घरमै बसिरहेका छन् र सो समय अझै लम्बिने सङ्केतहरू देखिइरहेको छ। दिनको अधिकांश समय स्कुलमा बिताउने ती बच्चाहरू घरमै रहँदा उनीहरूको दिनचर्याको तरिका पनि परिवर्तित भएको छ। अनलाइन कक्षाको लागी र मनोरञ्जनको साधनको रूपमा स्मार्ट उपकरणहरूको पहुँच बच्चाहरूमा सहज भएको छ। बच्चाहरू ती इन्टरनेट जोडिएका उपकरणहरूसँग व्यस्त देखिएका छन्, ज्यादातर खेल खेल्दै, भिडियो हेर्दै, वा परिवारका सदस्यहरू र साथीहरूसँग च्याट गर्दै।

केही समयका लागि ती गतिविधिहरू ठिक देखिन्थे, तर आजकल आमाबाबुले आफ्नो बच्चाहरूले स्क्रिनको अगाडि बिताउने समयको बारेमा चिन्ता गर्न थाल्नु पर्ने भएको छ। स्मार्ट उपकरणहरू र इन्टरनेट, शिक्षा र मनोरञ्जनका लागि अपरिहार्य छ, तर इन्टरनेटमा गरिने गतिविधिहरू र स्क्रिन समयको सन्तुलन चुनौतीपूर्ण बन्दै गएको छ। इन्टरनेटको असाधारण लाभहरूलाई अधिकतम गर्नका लागी केही तरिकाहरू पत्ता लगाउन आवश्यक छ, सँगसँगै सम्भावित हानि कम गरेर। 

अनलाइन यौन दुर्व्यवहार, साइबर धम्की, हानिकारक सामग्रीमा पहुँच, आदि जोखिम सामान्यतया बच्चाहरू सामना गरिरहेका छन्। अपरिचित वा चिनजानकै व्यक्तिले बच्चालाई यौन सामग्री पठाउन सक्छ। त्यसैगरि तिनीहरूले नराम्रा टिप्पणी, सन्देशहरू पनि पाइरहेका हुन सक्छन्। हानिकारक सामग्री जस्तै आत्महत्या र आत्म-हानिका लागि उत्तेजना; हिंसक सामग्री वा  कोभिड १९ कै बारेमा समेत गलत सूचना वा बच्चाहरूका लागी उपयुक्त नहुने सामाग्रीहरू पनि स्मार्ट उपकरणको पर्दामा देखिइरहेको हुन सक्छ। सोही कारण, आमाबाबु आफ्ना बच्चाहरू के हेर्दै छन् वा पर्दामा के गरिरहेका छन् र उनीहरूका बच्चाहरू के सिक्दै छन् वा अनुभव गरिरहेछन् भन्ने बारे सचेत रहनु पर्छ। 

आफ्ना बच्चाहरूलाई सम्भावित खतराहरूबाट बाहिर राख्नका लागी, आमाबाबुले घरमा 'इन्टरनेट र स्मार्ट उपकरण को उपयोग' को लागी नियम बनाई र शिक्षा र रचनात्मक गतिविधिहरूलाई बढी प्राथमिकता दिन आवश्यक छ। त्यस्ता नियमहरूको एक सबैभन्दा महत्त्वपूर्ण भाग यो हो कि ती नियमहरू आमा बुबाद्वारा पनि राम्ररी  पछ्याइनु पर्छ किनकि बच्चाहरूले प्राय आफू भन्दा ठुलाको नक्कल गरिरहेका हुन्छन्। कुनै स्मार्ट उपकरणहरू खाना खाँदा वा ओछ्यानमा प्रयोग गर्न पाइँदैन भन्ने नियम बनाउनुहुन्छ भने नियम सानो बच्चाहरूका लागि मात्र हैन आफ्नालागि पनि हो भनेर आमाबाबुले बुझ्न पर्छ। बच्चाको उमेर र परिपक्वता विचार गरि यहाँ दिइएका केही सुझावहरू आमाबुबाले पालन गर्न र गराउन आवश्यक छ।

विभिन्न गतिविधिहरूका लागि हेर्ने समय (स्क्रिन समय) निर्धारण

तपाईँको बच्चाहरूले कति समय अनलाइन बिताउन भन्ने चाहनुहुन्छ? पढ्नको लागी कति? खेल्नको लागि कति? कुराकानीको लागि कति? वा उनीहरू खानाको समयमा उपकरणको उपयोग गर्न सक्छन्? वा ओछ्यानमा? यसलाई यस्तो तरीकाले परिभाषित गर्नुहोस् ताकि तपाईँको बच्चा तपाईँसँग निराश पनि नहोस्।

उपयुक्त सामग्रीमा पहुँच 

इन्टरनेट विभिन्न सामग्रीबाट भरिएको छ तर आमाबाबुले बच्चाका लागि उपयुक्त सामग्री देखाउनको लागि केही उपायहरू अपनाउन सक्छन्। उदाहरणका लागि, YouTube Kids का सामग्री बच्चाहरूको लागि उपयुक्त हुन्छन्। अभिभावक नियन्त्रित सुविधाहरू, र बच्चाहरूलाई अनुपयुक्त देखिएको भिडियोको फिल्टरिंग प्रदान गर्ने एप्लिकेसन चलाउन दिनुहोस्। नेटफ्लिक्स, प्राइम भिडियो जस्तै अन्य मिडिया सेवा प्रदायकहरूको पनि बच्चाहरूको संस्करण हुन्छन्। बच्चालाई उमेर उपयुक्त एप्लिकेसन, खेल, र मनोरञ्जन सामग्री पहिचान गर्न मद्दत गर्नुहोस्।

बच्चाहरूलाई उनीहरू अनलाइन के गरिरहेछन् ?

बच्चाहरू अनलाइनमा के गर्दै छन्, उनीहरूले के सिके, वा उनीहरूले सामना गरेको कुनै समस्याको बारेमा कुरा गर्नुहोस्। इन्टरनेट मा के गर्न को लागी राम्रो छ र के छैन भन्ने बारेमा उनीहरूले बुझ्ने तरीकामा कुरा गर्नुहोस्। उनीहरूलाई जीवनोपयोगी पाठ, सामाजिक मूल्यहरू र सम्मान तथा नैतिक व्यवहारको कुरालाई रमाइला कथाहरूको माध्यमबाट सिकाउनुहोस्। 

विज्ञान र प्राविधिक उपकरण र आविष्कारका बारेमा सचेतना 

तपाईँको बच्चालाई विभिन्न वैज्ञानिक आविष्कारहरूसँग परिचित बनाउनुहोस् र कसरी ती आविष्कारहरूले संसारलाई अझ राम्रो बनाइरहेछ भन्ने बारे पनि जानकारी गराउनुहोस्। उनीहरूलाई मेल पठाउन सिकाउनुहोस्, इन्टरनेटमा खोज गरेर कसरी सिक्न सक्छन् भन्ने बारे पनि सिकाउनुहोस्। उनीहरूलाई वरिपरि भइरहेको प्राविधिक (टेक्नोलोजिकल) प्रगति देखाउनुहोस्। जब तपाईँ तपाईँको बच्चा लाई आफ्नै काम गर्न दिनुहुन्छ, सो समयमा अभिभावकको नियन्त्रण सक्रिय रहेको भने सुनिश्चित गर्नुहोस्।

सामाजिक सञ्जालको उपयोगका बारेमा नियमहरू बनाउनुहोस्

सामाजिक सञ्जाल मानिसहरूसँग अन्तरक्रिया गर्ने महत्त्वपूर्ण माध्यम हो जसले आफ्ना सृजनाहरू आदान प्रदान गरी बिचारहरूको अन्तरक्रियामा सहयोग गर्छ तर सामाजिक सञ्जालले सधैँ सकारात्मक प्रभाव नपार्न पनि सक्छन्। यदि तपाईँको बच्चा त्यस्ता सञ्जालमा रहेका असामाजिक तत्त्वहरूसँग नजिक हुन पुग्यो भने, ऊ साइबर धम्कीको शिकार पनि बन्न सक्छ। सबै भन्दा पहिले आमाबाबुले सामाजिक सञ्जाल जस्तै फेसबुक, ट्विटर, इन्स्टाग्राम, आदि एप्लिकेसनले खाता बनाउन को लागी आवेदनको निर्दिष्ट उमेर पुग्न पर्ने नियमको पालना गर्नु पर्छ र आफ्ना बच्चाहरू सामाजिक सञ्जालको प्रयोगको लागी योग्य उमेरका छन् भने उनीहरूलाई सामाजिक सञ्जालको सुरक्षित प्रयोग गर्ने सबै भन्दा राम्रो तरिकाहरूका बारेमा सिकाउनु पर्छ।

कुन पोस्ट सेयर गर्ने कुन नगर्ने, आफुले पोस्ट गर्ने कुरा कस्कस्लाई देखाउने, कोसँग बोल्ने कोसँग नबोल्ने आदि कुराहरूको बारेमा जानकार गराएर गोपनीयता सुविधाहरू र सामग्री फिल्टरको तरिकाको उचित उपयोग गर्नुहोस्। 

इन्टरनेट अवसरहरूले भरिएको छ, त्यसैले जुनसुकैको समयमा पनि त्यसलाई प्रभावकारी तरिकाले प्रयोग गरी आफ्नो बच्चाको ज्ञान र सीप वृद्धि गर्नुहोस्। मनोरञ्जन गतिविधिहरूसँग उनीहरूलाई सक्रिय बनाउनुहोस्। उनीहरूसँग समय बिताउनुहोस् र ईन्टरनेटका नकारात्मकताबाट टाढा राख्नुहोस्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ