कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको कार्यतालिका बारे निर्णय हुनसक्ने
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २९ शुक्रबार
3k
Shares
काठमाडौं । महाधिवेशनको कार्यतालिका सम्बन्धी छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज शुक्रबार बस्दैछ। बैठक दिउँसो ११ बजे देउवा निवास बुढानीरकण्ठमा बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
विविध कारणले महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले आजको बैठकमा नयाँ कार्यतालिकाको विषयमा निर्णय हुने संभावना छ ।
बैठकको मुख्य एजेन्डा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका सम्बन्धी ने हुने बताइएको छ । कांग्रेसले क्रियाशील विवाद समाधान गर्न नसक्दा महाधिवेशन अनिश्चित बनेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील विवाद देखिएका विभिन्न जिल्लाका नेता कार्यकर्ता अनसनमा रहेकाले बैठक बुढानीलकण्ठ बस्न लागेको हो ।
विहीबार बसेको बैठकमा तीन वटा प्रस्ताव पेश भएका छन् । बैठकमा निर्वाचन समितिले बनाएको निर्देशिका महामन्त्री पुर्णबहादुर खड्काले पेश गरेका छन्।
यस्तै, समायोजन समितिको प्रतिवेदन उपसभापति विमलेन्द्र निधिले पेश गरेका छन् भने क्रियाशील छानबिन समितिको प्रतिवेदन छानबिन समितिका संयोजक रमेश लेखकले पेश गरेका छन्।