arrow

मातृका यादवले बोलेको शब्द रेकर्डबाट हटाउन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २९ शुक्रबार
matrika-yadhav.jpg

काठमाडौं । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा एक सांसदले प्रयोग गर्नुभएका ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द संसद् सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् । 

प्रतिनिधिसभाको शुक्रवारको बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले बिहीबारको बैठकमा एक सांसदले अर्का सांसदलाई अमर्यादित र असंसदीय शब्द बोलेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद मातृकाप्रसाद यादवले सांसदलाई इङ्गित गर्दै ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रयोग गरेका थिए । 

उनले बोल्ने बित्तिकै प्रमुख सचेतक भट्टराईले बिहबिारको बैठकमा पनि नियमापत्ति गर्दै उक्त शब्दावली संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएकामा सभामुख सापकोटाले ध्यानाकर्षण भएको जनाएका थिए ।

प्रतिनिधिसभाको शुक्रवारको बैठक शुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले आसनग्रहण नगरी उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले प्रमुख सचेतक भट्टराईलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएका थिए ।

उनको भनाइपछि सभामुख सापकोटाले भने, “नेकपा (माओवादी केन्द्र) का सांसद मातृकाप्रसाद यादवले बिहीबार बोल्ने क्रममा प्रयोग गर्नुभएको ‘मेन्टल्ली, फिजिकल्ली फिट हुनुहुन्न’ भन्ने शब्द प्रतिनिभिसभा नियमावलीको नियम २१ को खण्ड (ङ) को प्रतिकूल हुने भएकाले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।” 



नयाँ