- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । एमाले विभाजनको अन्तिम चरणमा पुगेका बेला माधव नेपाल समूहका दुई नेता नयाँ दिल्ली गएका छन् । पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिने बहानामा उनीहरु दिल्ली गएका हुन् ।
एमाले नेताहरु सुरेन्द्र पाण्डे र भीम आचार्य दिल्ली पुगेपछि यता नेपाल समूहमा भने ठूलो हल्लीखल्ली भएको छ । ‘झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उहाँहरु आज दिल्ली जानु भएको हो’, पाण्डे निकट रहेका एक नेताले भने ।
एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल दिल्लीको एपोलो अस्पतालमा उपचाररत छन् । मृगौला प्रत्यारोपण गरेपछि दिल्लीको अस्पतालमा रहेका वरिष्ठ नेता खनाललाई भेट्ने निहुँ बनाएर दिल्ली पुगेका दुवै नेताहरुले माधव नेपाललाई समेत यस बारेमा जानकारी दिएका थिएनन्।
‘कार्यदलमा रहेका नेताहरु पार्टी विभाजन गर्नुहुन्न भन्ने पक्षमा रहेका छन्, उहाँहरु कसैसँग पनि सल्लाह नगरी दिल्ली जानु भएको छ, यो विषयमा माधव नेपाललाई थाहा छैन’, नेपाल निकट एक नेताले भने । ती नेताका अनुसार पार्टी विभाजन गर्नु हुँदैन भन्दै ओलीसँग मिल्न खोजिरहेको र त्यसको जानकारी खनाललाई पनि गराउन गएका हुनसक्छन् ।
खनाल स्वंय भने ओलीसँग मिल्न नसक्ने भन्दै नयाँ पार्टी बनाउने पक्षमा रहेका छन् । तर खनाल निकट रहेका नेताहरु पाण्डे र आचार्यका अतिरिक्त गोकर्ण विष्ट, ठाकुर गैरे लगायतका नेताहरु भने पार्टी विभाजन गर्न नहुने पक्षमा रहेका छन् । उनीहरुले निरन्तर पार्टी एकताकै पक्षमा वकलत गर्दै आएका छन् । तर पाण्डे र आचार्य एक्कासी दिल्ली पुगेपछि नेपाल समूह सशंकित बनेको छ । आचार्यले त दुई दिन अघि पार्टीभित्र विभाजनकारी शक्ति हावी भएको बताएका थिए भने पाण्डेले कानुनी रुपमा एमालेको अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका थिए ।
पार्टी विभाजन हुने अवस्था आए नेपाल पक्षमा रहेका ८७जना केन्द्रीय सदस्य मध्ये १६ देखि २० जनाले साथ नदिने संभावना रहेको स्रोतको दावी छ । अहिले प्रभावशाली भनिएका युवा पुस्ताका नेताहरुले नेपाललाई साथ दिने संभावना कम रहेको छ । ‘अहिले सांसद रहेका र केन्द्रीय सदस्य समेत रहेका नेताहरुले नेपाललाई साथ दिने संभावना निकै कम रहेको छ’, एक नेताले भने ‘पाण्डे र आचार्यको दिल्ली भ्रमण पनि ओलीलाई साथ दिने तयारीको रुपमा भएको हुनसक्छ ।’
आठौ महाधिवेशनमा झलनाथ खनाल समूहमा रहेका नेताहरुलाई संगठित गरेर पार्टी विभाजनबाट रोक्न सकिन्छ भन्ने प्रयासमा उनीहरु लागेको स्रोतको दावी छ ।