- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको शनिवार सम्पन्न केन्द्रीय समिति बैठकले १४औं महाधिवेशनको नयाँ कार्यतालिका ल्याइसकेको छ । नयाँ कार्यतालिका अनुसार अब १८ भदौबाट कांग्रेस १४औं महाधिवेशनको मूल प्रक्रियामा प्रवेश गर्ने छ ।
यस्तै नयाँ कार्यतालिकामा गाउँ तथा नगर अधिवेशन २७ भदौ, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोज, सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोज, जिल्ला अधिवेशन १० असोज र प्रदेश अधिवेशन १० देखि १२ कार्तिकसम्मका लागि तोकिएको छ । केन्द्रीय महाधिवेशन भने ९ देखि १३ मङ्सिरसम्म काठमाडौंमा हुने तय भएको छ ।
कांग्रेसको वडादेखि केन्द्रसम्मको अधिवेशनको तालिका आएसँगै कुन तहमा उम्मेदवार बन्नका लागि आवश्यक योग्यता के चाहिन्छ भन्ने चासोसमेत बढेको छ । वडादेखि केन्द्रसम्म नै उम्मेदवार बन्न चाहनेहरू अब आआफ्नो माहौल बनाउनेतर्फ केन्द्रित हुन थालेका छन् ।
जिल्ला सभापतिका लागि १० वर्ष क्रियाशील सदस्य
कांग्रेसको जिल्ला सभापति बन्नका लागि कम्तीमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको केन्द्रीय महाधिवेशन प्रतिनिधि मध्येबाट जिल्ला सभापतिको निर्वाचन हुने व्यवस्था विधानमा छ ।
तर एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा भने क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिका लागि उम्मेदवार बन्न पाउने छन् ।
एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका हकमा भने महाधिवेशन प्रतिनिधि मध्येबाट नै जिल्ला सभापति चयन हुने कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
'एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा क्षेत्रीय प्रतिनिधि नै जिल्ला सभापतिका उम्मेदवार बन्न पाउँछन्, एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनै पर्छ’, कांग्रेस केन्द्रीय सदस्य पौडेलले हाम्राकुरासँग भने ।
दुई थरी व्यवस्था ठिक होइन : खतिवडा
कांग्रेस नेता रामहरी खतिवडा भने एक निर्वाचन क्षेत्र भएका जिल्लामा एउटा नियम र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा अर्को नियम ठिक नभएको बताउँछन् ।
‘एक निर्वाचन क्षेत्र भएका जिल्लामा एउटा नियम र एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा अर्को नियम ठिक होइन, दुई थरी व्यवस्था नगरौँ, यसलाई अझै सुधार्न सकिन्छ, यसतर्फ ध्यान दिऔँ,’ नेता खतिवडाले भने ।
निर्वाचित हुन ५० प्रतिशत बढी मत आवश्यक
यसैगरी सभापति पदमा विजयी हुन खसेको मतको ५० प्रतिशत भन्दा बढी मत ल्याउनु पर्ने छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबै भन्दा बढी मत ल्याउने दुई जना उम्मेदवारका बीचमा पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ । तर पहिलो पटकमा नै दुई जना मात्रै उम्मेदवार भएमा बढी मत ल्याउने व्यक्ति निर्वाचित हुनेछ ।
क्षेत्रीय प्रतिनिधिलाई अधिकार थप्दै विधान संशोधन
शनिवार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४ औँ महाधिवेशनका लागि गाउँ/नगर/उपमहानगर र महानगरपालिकाको कार्यसमितिको सभापतिको उम्मेदवार क्षेत्रीय प्रतिनिधिबाट हुन पाउने गरी विधान संशोधन गरेको छ ।
यसैगरी सभापति बाहेकको कार्यसमितिका पदाधिकारी र सदस्यको उम्मेदवार क्रियाशील सदस्य पनि हुन सक्ने र गाउँ/नगर/उपमहानगर/महानगरपालिका कार्यसमितिमा मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था गर्ने गरी विधानमा संशोधन गरिएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
यसैगरी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्वका सन्दर्भमा विधान र नियमावलीमा गरिएको पालिकाका क्रियाशील सदस्यहरूले निर्वाचित गर्ने भनी उल्लेखित गरिएका पदहरूको निर्वाचन वडा सभापति र क्षेत्रीय प्रतिनिधिले गर्ने निर्णय बैठकले गरेको छ ।
विधानको धारा ८ (१) (क) र धारा ९ (१) (ख) मा उल्लेख गरिएको क्रमशः “गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण नेपाली काँग्रेसका क्रियाशील सदस्य गाउँपालिका अधिवेशनका र नगर/उपमहानगर/महानगरपालिका क्षेत्र भित्रका नेपाली काँग्रेसका क्रियाशील सदस्य नगरपालिका अधिवेशनका सदस्य” भनिएकोमा “गाउँपालिका क्षेत्रभित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि तथा नगरपालिका क्षेत्र भित्रका वडा सभापति र क्षेत्रीय प्रतिनिधि” भनी संशोधन गर्ने भनिएको छ ।
विधानमा गरिएका यी संशोधन पार्टीको आगामी १४औं महाधिवेशनबाट अनुमोदन गरिने निर्णय बैठकले गरेको छ ।