arrow

राजन भट्टराईको प्रश्न- सरकारले किन ढिलाइ गरिरहेको छ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
rajan.JPG

काठमाडौँ । नेकपा (एमाले) का विदेश विभाग प्रमुख तथा परराष्ट्रविद् डा. राजन भट्टराईले अफगानिस्तानमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनको लागि नेपाल सरकारले किन ढिलाइ गरिरहेको छ ? भनेर प्रश्न गरेका छन् । उनले भने,‘अफगानिस्तानमा अहिले जे भइरहेको छ, त्यो सशस्त्र र हिंसात्मक गतिविधि अन्त्य हुनुपर्छ, र शान्ति बहाली हुनुपर्छ भन्ने हाम्रो भनाई हो । हिंसात्मक गतिविधिलाई प्रशय दिने काम गर्नुहुँदैन ।’

अफगानिस्तानमा कानून सम्मत् र गैरकानूनी रूपमा कति नेपाली छन् ? भन्ने तथ्याङ्क यकिन नभए पनि हजारौँको सङ्ख्यामा रहेको कुरा आएकोले सरकारले तत्काल उनीहरूलाई उद्धार गर्नुपर्ने उनको माग छ । उनले भने,‘अहिले त्यहाँ रहेका नेपालीहरूको सुरक्षा गर्नु प्रधान कुरा हो । किन ढिलाइ भइरहेको छ, मलाई त आश्चर्य लागेको छ ।’ 

तालिबानले अफगानिस्तानका मुख्य मुख्य सहर कब्जा गरिसकेको समाचार आएकोले अब नेपाल सरकारले ढिला नगरीकन नेपालीहरूलाई त्यहाँबाट उद्धार गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘अहिलेको यो संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले उद्धारको लागि पहल गरोस् ।’ उनले आफूहरूको चाहना भनेको अफगानिस्तानमा शान्ति कायम होस भन्ने रहेको सुनाए । 

साथै उनले भारत यो क्षेत्रकै लागि अनुकरणीय देश भएकोले यसको विकास र समृद्धिबाट सबैले सिक्नुपर्ने बताए । भारतको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा आफू र पार्टीको तर्फबाट भारत सरकार र भारतीय जनतालाई शुभकामना दिँदै नेता भट्टराईले यस्तो बताएका हुन् । 

उनले भारतले पछिल्लो समय हासिल गरेको विकास र समृद्धि उदाहरणीय भएको बताए । भारतसँग नेपालको पुरानो सम्बन्ध रहेको र ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो । तर, भारतसँग रहेका कतिपय समस्या भने कूटनीतिक माध्यम र सम्वादमाफर्त समाधान गर्नुपर्ने उनको भनाई छ । उनले भारतसँगको नेपालको सम्बन्ध आधारभूत रूपमा सकारात्मक दिशातर्फ नै अघि बढेको पनि टिप्पणी गरे । 

परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले अफगानिस्तानबाट नेपालीहरुलाई तत्काल फिर्ता बोलाउनुपर्ने र उनीहरुलाई रेस्क्यु गर्न सरकारले उचित कदम चाल्नुपर्ने बताएका छन् । उनले तालिबानले अफगानिस्ताको मुख्य मुख्य शहर कब्जा गरिसकेको र अब राजधानी काबुल मात्रै कब्जा गर्न बाँकी रहेकोले नेपाल सरकारले आफ्ना नागरिकलाई यथाशक्य चाँडो नेपाल ल्याउनुपर्ने बताए । नेपाल सार्क राष्ट्रको अध्यक्ष भएको नाताले पनि प्रधानमन्त्रीले अफगानिस्तानबारे क्षेत्रिय दृष्टिकोण बनाउनको लागि सक्रियता लिनुपर्ने पनि उनको सुझाव छ। 

उनले भने,‘अफगानिस्तानमा लिगल-ईलेगल कति नेपाली छन्, त्यसको तथ्यांकसमेत हामीसँग यकिन छैन्, अहिले त्यहाँ रहेका नेपालीहरु अत्यन्तै भल्नरेवल अवस्थामा छन् । उनीहरुलाई तत्काल नेपाल फिर्ता ल्याउनुपर्छ ।’ 

त्यस्तै, उनले भारतले पछिल्ला वर्ष धेरै प्रगति गरेको पनि सुनाए । नेपालको विकास र समृद्धिमा पनि भारतले धेरै सहयोग गर्दै आएको उनले स्मरण गराए । हालै कोभिड-१९ को महामारीमा पनि भारत सरकारले सकारात्मक सहयोग गरेको पनि पाण्डेले उल्लेख गरे । भारतको विकासबाट नेपालले सिक्नुपर्ने, संघीयता र धर्मरिनपेक्षतालाई पनि भारतले राम्रोसँग ह्याण्डल गरेको उनको भनाई थियो । 

त्यस्तै, भारको परराष्ट्र नीति राष्ट्रिय सहमतिको आधारमा निर्माण हुने गरेको र बलियो रहेको पनि उनले स्मरण गराए । उनले भने,‘भारतको मुख्यमन्त्रीले विदेश भ्रमण गरेपनि त्यहाँको विदेश मन्त्रालयसँग अनुमति लिनुपर्छ ।’ छिमेकीलाई भारतले जहिलेपनि प्राथमिकतामा राखेको र नेपालमा पनि विभिन्न प्राकृतिक प्रकोप आईपर्दा भारतले फस्ट रेस्पोण्डरको रुपमा सहयोग गरेको उनको भनाई छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त छिमेक पहिलो प्राथमिकताको नीति नै लिएको उनले स्मरण गराए । 

डा. पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल सरकारलाई पूर्णता दिनको लागि सुझाव दिए । उनले भने,‘सरकार बनेको यतिका दिन भैसकेको छ, सरकारलाई पूर्णता दिनुपर्छ । फूल फ्लेज्डको परराष्ट्रमन्त्री नियुक्त गर्नुपर्छ ।’ उनले भारतले नेपालमा जो प्रधानमन्त्री भएपनि सरकारसँग डिल गर्ने भएकोले आगामी दिनमा नेपाल-भारत सम्बन्ध सुमधुर नै हुने विश्वास दिलाए । उनले भारतको ७५औं स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र भारतीय जनतालाई शुभकामना समेत दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ