arrow

कोरोना महामारीमा काँग्रेस महाधिवेशन

काँग्रेसले बिर्सिएको स्वास्थ्य निर्देशिका, नेताहरू भन्छन् बिर्सिए पनि सर्कुलर जारी गर्छौ

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन ३२ सोमबार
deuba-home-house-pm-niwash-congress.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाली काँग्रेसले छैटौँ पटक नयाँ मिति घोषणा गर्दै आफ्नो १४ औँ महाधिवेशनको तयारी थालेको छ। शनिवार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४औँ महाधिवेशन ९ देखि १३ मङ्सिरमा गर्ने गरी नयाँ कार्यतालिका ल्याएसँगै आन्तरिक तयारी थालेको हो।

विविध आन्तरिक समस्या र कोरोना भाइरसको महामारीका कारण महाधिवेशन गर्न नसकेको काँग्रेसले महाधिवेशन सुनिश्चित गर्दै तयारी थाले पनि कोरोनाको महामारीबाट कार्यकर्तालाई कसरी सुरक्षित राख्ने भन्नेबारे प्रस्ट योजना बनाएको छैन। गाउँ नगरदेखि केन्द्रीय महाधिवेशनमा हुने भिडभाडका कारण फैल नसक्ने सङ्क्रमण नियन्त्रणका लागि केन्द्रीय समिति बैठकले कुनै सम्बोधन नगरेपछि कार्यकर्ताहरूले प्रश्न उठाएका छन्।

काँग्रेस नेता डा.शेखर कोइराला स्वास्थ्य भन्दा महाधिवेशनमा सबैको ध्यान केन्द्रित भएकाले त्यस बारेमा केन्द्रीय समिति बैठकमा कसैको ध्यान नगएको स्विकार्छन्। उनी भन्छन्, ‘गाउँ नगर, जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशनमा कार्यकर्ताको भीड अत्यधिक हुने भएकाले सङ्क्रमण बढ्न सक्ने खतरालाई ध्यानमा राखेर स्वास्थ्य सम्बन्धी छुट्टै मापदण्ड वा स्वास्थ्य निर्देशिका तत्काल बनाउनु जरुरी छ।’

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा स्वास्थ्य मापदण्ड वा निर्देशिका बनाउने सवालमा केन्द्रीय समिति बैठकमा छलफल हुनु आवश्यक नभएको बताउँछन्। उनी भन्छन्, ‘महाधिवेशनमा कोरोना भाइरसबाट सुरक्षित रहने वा सतर्कता अपनाउने विषयमा पार्टी केही दिनभित्रै बेग्लै मापदण्ड वा निर्देशिका बनाएर काम गर्नेछ’, उनले भने, ‘कोरोना सङ्क्रमणबाट कार्यकर्ता वा आम नागरिकको जीवन रक्षाका सवालमा काँग्रेस गम्भीर छ। यसका लागि महाधिवेशन लक्षित योजना बनाएर अघि बढ्नुपर्ने बाध्यता छ।’

हुन त केन्द्रीय कार्यसमितिको बैठकले गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको कार्यसमिति चुन्ने व्यवस्थामा संशोधन गरेर भीड कम गराउने उपाय अवलम्बन गर्न खोजे पनि त्यो पर्याप्त देखिदैन्।

यसअघिका अधिवेशनमा सबै क्रियाशील सदस्यले चुन्ने व्यवस्था संशोधन गरेर वडा सभापति र क्षेत्रीय प्रतिनिधिले मात्र पालिका र नगर अधिवेशनमा मतदान गर्ने पाउने निर्णय गरेर भिडभाड कम गर्ने प्रयास गरे पनि सङ्क्रमण रोक्न त्यो पर्याप्त नहुने देखिएको हो।

सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि कागजमा बलियो र अब्बल मापदण्ड ल्याए पनि उक्त मापदण्ड सरकारी निकायबाटै उल्लङ्घन भइरहेको अवस्थामा सत्ता सञ्चालनको नेतृत्व गरिरहेको काँग्रेसले आफ्नै महाधिवेशनमा स्वास्थ्य मापदण्डलाई कुन रूपले पालन गर्छ त्यो प्रतीक्षाको विषय बनेको छ। 

स्वास्थ्य मापदण्ड आदेशको अवज्ञा गर्ने वा आदेशको कार्यान्वयनमा बाधा पुर्‍याउने व्यक्ति तथा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारबाही र सजाय हुने उल्लेख गरे पनि काँग्रेसले त्यस ऐनलाई कार्यान्वयन कसरी गर्छ भन्ने प्रश्न उठेको छ। नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको क्रम रोकिएको छैन। 

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई आधार मान्दा पछिल्लो एक सातामा नेपालमा कोभिड सङ्क्रमण दर औसतमा २२.६४ प्रतिशत देखिएको छ। यस्तो अवस्थामा काँग्रेसको महाधिवेशन आफैँमा चुनौतीपूर्ण रहेको काँग्रेस नेता दिव्यमणि राजभण्डारी बताउँछन्। उनले महाधिवेशन लक्षित स्वास्थ्य निर्देशिका ल्याउनुपर्ने वकालत समेत गर्दै आएका छन्। 

काँग्रेस सह महामन्त्री डा प्रकाश शरण महतले आम नेता कार्यकर्ताहरूको स्वास्थ्यलाई ख्याल गर्दै निर्वाचन निर्देशिकाहरू जारी हुने बेलामा कोभिड महामारीलाई ध्यान दिँदै कोभिड प्रोटोकल जारी केन्द्रीय कार्यालयबाट गर्नुपर्ने बताए। यसलाई केन्द्रीय कार्यालयले स्वास्थ्य निर्देशिकाको रूपमा पठाउन सक्ने महतले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ