- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया आजको १८औं दिनमा शुरु हुँदै छ । कांग्रेसले ३० साउनमा ल्याएको महाधिवेशनको नयाँ कार्य तालिका अनुसार १८ भदौमा महाधिवेशनको प्रक्रिया सुरु हुने भएको हो ।
कांग्रेस विधानमा केन्द्रदेखि वडा तहसम्म गरी आठ संरचना छ । सबै भन्दा तल्लो तहको संरचना नै वडा हो । त्यहाँबाट चयन भएर आउने तल्लो तहको आगामी नेतृत्वले नै कांग्रेसको जगको करिब ५ वर्षको नेतृत्व सम्हाल्ने छन् ।
यो अधिवेशन कांग्रेसका लागि विगतको निर्वाचनमा व्यहोरेको हारपछिको कमजोर जगलाई बलियो बनाउने अवसरसमेत हो ।
कांग्रेसले सोही दिन देशभरका ६ हजार ७ सय ४३ वडामा नयाँ नेतृत्वका लागि मतदान गर्ने छ । मतदान मार्फत सबै वडामा नयाँ नेतृत्व आउने छन् ।
यसरी निर्वाचित भएर आएको वडा कार्यसमितिले आवश्यकता अनुसार नेपाली कांग्रेसको सदस्य र नेपाली कांग्रेसको क्रियाशील सदस्य मध्येबाट टोल कार्यसमिति गठन गर्ने छ ।
वडा भन्दा तल्लो तह मानिने टोल कार्यसमितिमा सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिवसहित बढीमा १५ जना रहने कांग्रेस विधानमा उल्लेख छ ।
यस्तै संशोधित कार्य तालिका अनुसार गाउँ तथा नगर अधिवेशन २७ भदौ, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोज, सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोज, जिल्ला अधिवेशन १० असोज र प्रदेश अधिवेशन १० देखि १२ कार्तिकसम्म भित्रमा हुने छ ।
नयाँ कार्य तालिका अनुसार २ भदौ अर्थात् मङ्गलवारसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । यस्तै मङ्गलवार नै निर्वाचन निर्देशिकालाई पनि अन्तिम रूप दिने कांग्रेसको नयाँ कार्य तालिकामा उल्लेख छ ।
कांग्रेसले यसअघि आन्तरिक विवादका कारण पाँच पटक महाधिवेशनको कार्य तालिका परिमार्जन गरेको थियो । यसपटक भने कांग्रेसले कोरोना सङ्क्रमणलाई देखाउँदै महाधिवेशन सारेको हो । यसअघि १२ भदौदेखि वडा अधिवेशन सुरु गर्ने र १६ देखि १९ भदौसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्य तालिका ल्याइएको थियो ।
नयाँ मिति अनुसार केन्द्रीय महाधिवेशन भृकुटीमण्डप र मतदान राष्ट्रियसभा गृहमा हुने तय भइसकेको छ ।