- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्वन्धी अध्यादेश जारी गरेलगत्तै नयाँ दल दर्ताको प्रक्रिया शुरु गरेसँगै एमालेको माधव नेपाल समूहभित्रै विभाजन आउने संकेत देखिएको छ ।
नेता नेपाल नयाँ पार्टी गठनको गृहकार्यमा लागिरहेका बेला आफ्नै समूहका नेताहरु विपक्षमा उभिएका छन् । सरकारले नयाँ दल गठनका लागि खुकुलो प्रावधानसहितको अध्यादेश ल्याएपछि नेपाल समूह उत्साहित भएपनि केही नेताहरु एमाले एकताकै पक्षमा देखिएका हुन् ।
नेपाल पक्षमा रहेका १४ जना स्थायी कमिटी सदस्यहरुमध्ये आधा भन्दा धेरै नेताहरु नयाँ दल गठनका विपक्षमा देखिएका छन् । घनश्याम भुसाल, ठाकुर गैरे, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरु नयाँ दल दर्ता गर्ने पक्षमा नरहेको बुझिएको छ । स्थायी समिति सदस्यहरु भीम रावलसहत विष्ट र भट्टराईले यसअघि नै विभाजनमा नलाग्ने बताइसकेका थिए।
नयाँ दल दर्ता सम्बन्धी प्रक्रिया अघि बढिरहेको र एमाले विभाजनको अन्तिम तयारी भइरहेका बेला त्यसको प्रभाव सबैभन्दा पहिले वागमति प्रदेश सरकारमा देखिएको हो ।
नेपाल पक्षकी एमाले उपाध्यक्ष अर्थात एमाले अध्यक्ष केपी ओलीको आलोचक मानिएकी अष्टलक्ष्मी शाक्य पार्टी विभाजनको विपक्षमा उभिएपछि उनलाई वागमतीको मुख्यमन्त्री बनाइने तयारी भइरहेको सांसद रचना खड्काले जानकारी दिइन । उनका अनुसार नयाँ मुख्यमन्त्रीका लागि हेटौंडामा एमाले संसदीय दलको बैठक बसिरहेको र बुधबार नै दलको नेता परिवर्तन हुनेगरी तयारी गरिएको छ । हालका मुख्यमन्त्री डोरमणी पौडेलले राजीनामाको तयारी गरेको बुझिएको छ ।
पौडेलले दलको नेताबाट राजीनामा दिएर शाक्यलाई नेता बनाउने र उनलाई मुख्यमन्त्री जिम्मेवारी दिनेगरी तयारी भइरहेको छ । शाक्य मुख्यमन्त्री बनेपछि नेपाल पक्षका प्रदेशसभा सदस्यहरु नैतिक संकटमा पर्ने र दल विभाजनमा समस्या उत्पन्न हुने बुझिएको छ ।