arrow

कम्युनिष्ट फुटको विचलन

को होइन र लालगद्दार ?

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७८ भदौ ३ बिहिबार
rajendra-panthi-article1.jpg

आज  ममा एउटा मनोवाद पैदा भयो । त्यसैलाई पोख्दै छु ।  म कुनै बेलाको नेकपा एमालेको सक्रिय कार्यकर्ता  थिएँ ।अहिले पनि म कम्युनिष्ट  विचारमा आस्था राख्छु। तर अहिले नेपालको वर्तमान परिदृश्य हेर्दा कम्युनिष्ट भन्न घृणा लाग्छ, किन होला ? । नेकपाको इतिहासमा लाखौं कार्यकर्ता जस्तै  मेरो  पनि त त्याग थियो । त्यसमा मात्रा कति थियो भन्ने होला । कसैको तुलनामा थोरै र धेरै । जसले त्याग गर्छ भने परिणाम पनि खोजेकै हुन्छ। म जस्ता लाखौं जनताले त्याग र बलिदानीबाट के पाए त ? बहुदल, लोकतन्त्र, गणतन्त्र आदिको शब्दरुपी भ्रम। नेताले आठ वर्ष लगाएर आफ्नो मनोमानीले देशको ढुकुटी रित्याएर एक थान अपूर्ण  संविधान । अरु दिए त उहीँ पुरानै – अन्याय, अत्याचार, बेरोजगार, भ्रष्टाचार, महिला हिंसा  र राजनैतिक अस्थिरता र बेइमानी ।

यसैको परिणामस्वरुप राजनीतिप्रति वितृष्णा पैदा हुन्छ र नेतृत्वप्रति रगत उम्लिएर आउँछ। आजका पार्टी सजिलै बनेका होइनन् ,लाखौंको  त्याग र बलिदानबाट  बनेका हुन् । आज ती योद्धाको मूल्यांकन भएको छ ? कम्युनिष्टको आन्दोलनमा जनताले रगत पसिना बगाउँदा इतिहासमा मूल्यांकन  हुँदैन वा लेखिदैन वा मेटियो ।

बडो गम्भीर प्रश्न उठाउनु पर्ने देखिन्छ । आफूलाई कम्युनिष्टको समर्थक हुँ भनेर भन्दा पनि लाजमर्दो । नेपालको वर्तमान कम्युनिष्टको प्रवृत्ति देखेर घृणा लाग्छ । जसलाई जनताको बलिदानीबाट नेता बनाइयो तिनैले राजनीतिको रङ्गमञ्चमा नौटंकी र नाटकको फोहोरी अभिनय गरिरहेका छन् । देशमा आमूल परिवर्तनका लागि नेपाली जनताले सर्वस्व दिए । राणा शासन विरुद्ध लडे । पञ्चायतविरुद्ध लडे । राजाविरुद्ध लडे । तर प्राप्ति के पाए ? उहीँ असमानता, विभेद, चाकरीचाप्लुसी, अन्याय, अत्याचार र हिंसा । जनता र देश दुब्लाउने नेता मोटाउने भन्दा अरु पाउन सकिएन ।

मैले यहाँ करिब दुई दशक आफू प्रत्यक्ष वा परोक्ष रुपमा नेकपा (माले–एमाले) वि.सं २०४४ देखि  २०६४ सम्म काम गरेँ वा आबद्ध भएँ । त्यो समयमा आफूले गरेको त्याग र योगदानलाई साक्षी राखेर नेपालको कम्युनिष्ट आन्दोलन कसरी मजबुत हुँदै गएको थियो, कति सपनाहरू बुनिएका थिए तर अहिले कसरी लालगद्दार भनिएकाहरुको हातमा पुग्यो र कतै पतनोन्मुख बाटोको यात्रा त गरिरहेको छैन भन्ने चिन्ता लागेर मनमा उठेका जिज्ञासालाई पोख्न थाल्दै छु। ती जनताका सपना कतै सपनामै सीमित हुने त होइनन् ? यो अवस्थामा आउनुका कारण केलाउने प्रयास गर्दैछु । आफूले गरेको सानो सङ्घर्ष र देखेको र भोगेको बलिदानीको कथालाई स्मरण गर्दै छु ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ साल वैशाख १० गते (२२अप्रिल १९४९) भारतको कोलकातास्थित श्याम बजारमा एक बङ्गालीको घरमा भएको हो । पुष्पलाल, नरबहादुर, निरन्जन, नारायण विलास र मोतीदेवी गरी पाँच जनाले स्थापना गरेको पार्टी आज ७२ वर्षमा आउँदा करिब ७२ वटा पार्टी बनेको देखिन्छ । पार्टी फुट्नुको प्रमुख कारण भनेकै सिद्धान्त होइन नेतृत्वको व्यक्तिवादी अहंकार र कुर्सी नपाउनुको  पीडा नै प्रमुख देखिन्छ । राणाशासन, राजतन्त्र र पञ्चायती शासनविरुद्ध लड्दै आएको कम्युनिष्टको इतिहास रच्न  धेरै नेपालीको योगदान रहेको छ ।

आज शहरमा देखिने कम्युनिष्टको खोल ओढेका सुकिलामुकिला बनाउन धेरैले बलिदान दिए। कति मारिए, ज्युँदै जलाइए भने कति बेपत्ता छन् । देशको परिवर्तनका लागि प्राण हत्केलामा राखी हाँसी हाँसी मर्न तयार भए र कति मरे पनि । तर तिनै शहीदको रगतमा होली खेली आजका नेताले एक अर्कालाई लालगद्दारको आरोप लगाई तमासा देखाइरहेका छन् । संविधानमै समाजवाद उन्मुख राज्यनिर्माण गर्ने सपना बोकी जनतालाई वर्षौंसम्म भ्रमको खेती बाहेक केही गरेको पाइएको छैन । चाहे बहुदलीय व्यवस्था होस्, चाहे लोकतान्त्रिक गणतन्त्र भनेर नाम दिइयोस् जसको सरकार आएपनि जनताका पीरमर्का बुझ्ने जनताले कोही पाउन सकेनन् ।  

बहुदलीय प्रजातन्त्रका नाममा जनताले देशमा राजनैतिक अस्थिरता, भ्रष्टाचार, अन्याय, अत्याचार नातावाद, घुसखोरी, महिला हिंसा नै प्राप्त गरे । जनता र देश दुब्लाउने तर नेता मोटाउने प्रवृत्ति नेपालमा रह्यो र जनतामा राजनीतिप्रति वितृष्णा  देखा पर्दै गयो । मलाई लाग्छ म पनि १२–१३ वर्षकै उमेरमा कम्युनिष्ट बनेँ । त्यसबेला कम्युनिष्टको सिद्धान्त पढेर र बुझेर म कम्युनिष्ट बनेको होइन । सायद २०४४–०४५ तिर होला स्कुलबाट घर आउँदा जाँदा ढुङ्गा र केतुकीका पातमा नेकपा ( माले) जिन्दावाद भनेर डराई डराई लेखेको ताजै छ । पुलिसले भेटायो भने समात्छ भनेर लुकी लुकी लेखिन्थ्यो। 

मेरा पूजनीय पिता चन्द्रकान्त पन्थी त्यसबेला नेकपा मालेको संगठित कार्यकर्ता हुनुहुन्थ्यो । घरमा कम्युनिष्ट पार्टीसँग सम्बन्धित थुप्रै पुस्तकहरू बुबाले पढ्नुहुन्थ्यो । राति राति पार्टीका गोप्य बैठक भेला भइ रहन्थे। मलाई अचम्म लाग्थ्यो यो के होला भनेर । म सानैदेखि पार्टीका क्रियाकलापप्रति अलि जिज्ञासु थिएँ ।

खुला राजनीति गर्न नपाइने हुनाले संगठन निर्माण र पार्टी बिस्तार गर्न अति नै गाह्रो थियो । गुल्मी जिल्लाको पश्चिमी भेगमा नेकपा मालेको संगठन त्यतिबेला मजबुत थियो । भनभनेमा चन्द्रकान्त पन्थी, कुलबहादुर घर्ती, मुरलीधर शर्मा, खिमबहादुर थापा, चिन्तामणि  पौडेल, दिनेश पन्थी, लोकनाथ पन्थी, धनबहादुर खत्री, भूमिराम पन्थी आदि संगठित सदस्य भएर लागेको मलाई सम्झना छ। रातदिन नभनी, खाना पनि नखाई कहिले कहाँ कहिले कहाँ लुकी लुकी हिंड्दा मलाई अचम्म लाग्थ्यो ।

आज यी घटना लेख्नुको तात्पर्य आजको कम्युनिष्ट सुखले निर्माण भएको होइन । यस्तै लाखौं कार्यकर्ताको त्याग र बलिदानबाट भएको हो । अहिलेको खुला परिस्थितिमा राजनीति गर्न सजिलो छ । तर पञ्चायतकालमा धेरै गाह्रो थियो । फलेको फल खान मिठो हुन्छ, बिरुवा हुर्काउन , बढाउन मलजल गर्न गाह्रो र धेरै मिहिनेत गर्नुपर्ने  हुन्छ । अझै त्यसमा हुर्काउन र मलजल गर्न स्वतन्त्रता छैन, लुकी लुकी गर्नुपर्ने र  राज्यले थाहा पायो भने बिरुवा त परै जाओस् आफूलाई नै सिध्याउने हो कि भन्ने डर । पञ्चायतकालीन अवस्थामा संगठनका गतिविधि गर्न धेरै दुःख थियो । त्यही दुःख र सङ्घर्षको परिणामस्वरुप आजको  विशाल कम्युनिष्ट बनेको हो । यो व्यक्तिको पेवा होइन सबै नेपालीको हो । केही आफूलाई शक्तिशाली हुँ भन्नेहरूले पार्टीमा अहंकार र स्वेच्छाचारी प्रवृत्ति देखाउँदा रगत तातेर आउँछ । सायद त्यो रगतमा केही कम्युनिष्ट आन्दोलनको छिर्का भएर हुनुपर्छ ।

त्यसबेला पनि पञ्चायतको विरोध गर्नको लागि पञ्चायती चुनावमा पनि नेकपाले चुनावको उपयोग गरेको थियो। मेरो सम्झनाअनुसार २०४३ सालमा गुल्मीमा राष्ट्रिय पञ्चायतको चुनावमा जनपक्षीय उम्मेदवार दानबहादुर केसीले घर चुनाव चिन्ह लिएर उठेका थिए । हामीहरू घर चिन्हमा भोट माग्दै उनको प्रचार  गर्दै र पर्चा टाँसेको याद छ । केसी २०७४ को स्थानीय निर्वाचनमा गुल्मीकै मदाने गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै अर्को मेरो राजनीतिक स्मरण भनेको २०४४ को जिल्ला पञ्चायतको निर्वाचन हो। त्यस निर्वाचनमा पनि जनपक्षीय उम्मेदवार परमानन्द भण्डारी सभापतिको पदमा केराको घारी चुनाव चिन्ह लिएर उठेका थिए । केराको घाँरीको पर्चा घर घरमा टाँस्दै हिँडिएको थियो । त्यतिबेला सुनेको थिएँ – प्रशासनको षड्यन्त्रमा धाँधली गरी उनलाई हराइएको थियो । तिनै परमानन्द भण्डारी बहुदल आएपछि एकपटक गुल्मीको जिल्ला विकास समितिको उपसभापति बनेका थिए ।

यी सन्दर्भ उठाउनुको तात्पर्य हामी जस्ता लाखौं समर्थकबाट आजको नेकपा बनेको हो । यसमा केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल वा कुनै व्यक्ति विशेषले मात्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विशाल पार्टी बनाएका होइनन् । अन्ततः व्यक्तिगत अहंकारले त्यसलाई पनि टुक्रयाइयो र फेरि पार्टी फुटको अर्को अंक थपियो। 

आज पायौं त खायौंको परिपाटीले म जस्ता धेरै समर्थकमा पार्टी र नेतृत्वप्रति  वितृष्णा बढेको छ। इतिहासमा पार्टी निर्माण गर्दा बोलिएका र भनिएका अनुशासन, आचरण र सिद्धान्त कहाँ गए ? न माक्सवादी न लेनिनवादी र न माओवादी सैद्धान्तिक आचरण । कम्युनिष्टको नेता नै जग्गा दलाली, भ्रष्टाचारी, कमिसनखोरी भएपछि जनताले सुखको सास फेर्न सक्छन्  त ?

जब २०४६ चैत २६ गते बहुदल आउँछ म  केही  राजनीति  बुझ्ने भइसकेको हुन्छु । मलाई त्यतिबेला भनिएको र सुनेको पनि थिए  कम्युनिष्ट भनेको गरिब दीनदुःखीको पार्टी हो, समाजमा रहेका जति पनि विभेद छन् तिनलाई कम्युनिष्ट सरकारले हटाउँछ अनि समाजवाद हुँदै साम्यवाद ल्याउँछ । जब खुला राजनीति भयो अनि कम्युनिष्टका सैद्धान्तिक कुराहरू सुन्ने अवसर मिल्दै गयो । म बहुदल आएको अर्को दिन २०४६ चैत २७ गते पढ्न स्कुल गुल्मीको पुर्कोट दह गएको थिएँ । म घरदेखि हिँडेर दुई घन्टा टाढाको स्कुलमा जान्थेँ । कक्षा आठमा पढ्ने म १४ वर्षको भइसकेको रहेछु । 

राजनीति चेत भएर होइन तर पनि म आफैं थाहा नपाउँदो पाराले कम्युनिष्ट भइसकेको रहेछु । बालावस्थामा नै कम्युनिष्ट सिद्धान्त र पार्टीप्रति आबद्ध भइएको थियो । ममात्र होइन यही तरिकाले धेरै जना कम्युनिष्ट बनेका छन् । त्यसदिन हामी सम्पूर्ण विद्यार्थी त्यस बेलाका नेकपा मसालका नेता बिनबहादुर केसीको नेतृत्वमा विजय जुलुसमा सहभागी भएका थियौं । नेकपा मसाल जिन्दावाद भन्दै नारा लगाइएको थियो । गुल्मीको पुर्कोट दह बजारमा त्यसबेला प्रायः सबै  मसालमात्र देखिएका थिए । विजय र्यालीमा पञ्चायत लेखेका साइन बोर्डहरू फालिए। त्यहाँको चौकीमा रहेका पुलिसहरूलाई केही अभद्र व्यवहार पनि गरिएको थियो ।

समयको क्रममा मभित्र पनि नेकपा मालेप्रति आशक्त्ति  बढ्दै जान्छ। स्कुलमा विद्यार्थी संगठन निर्माणमा म उपस्थित हुन्थेँ । बहुदल आएपछि राजनीति परिवर्तनले मैले कक्षा आठ पढ्दै गरेको स्कुलको प्रशासनमा प्रभाव पर्दछ । विद्यालयको आर्थिक लेनदेनको मामिलामा  हरहिसाव  बरबुझारथमा राजनैतिक द्वन्द्व देखा पर्छ अनि दुई पक्ष मसाल र माले देखा पर्छन् । म नेकपा (माले)  पक्षमा स्पष्ट देखिएको हुँ । त्यसबेलादेखि २०५४ सम्म  पार्टीमा  संगठित सदस्य नभए पनि नेकपा मालेको  भ्रातृसंगठनमा रहेर काम गरेका अनुभव छन् । 

मैले कक्षा ९ र १० गुल्मीको सदरमुकाम तम्घासस्थित महेन्द्र माविमा पढ्दा र प्रवीणता प्रमाणपत्र तह गुल्मीकै रेसुङ्गा क्याम्पसमा पढ्दा  नेकपा (एमाले) को भ्रातृ संगठनका  प्रारम्भिक कमिटीमा बसेर काम गरेको थिएँ । जब २०५४ मा एमाले फुट्यो अनि नेताको चरित्र र क्रियाकलाप देखेर घृणा लाग्यो। कम्युनिष्टप्रति आस्था राख्दै पार्टीका पछाडि दौड्नु हुँदैन भन्ने लाग्यो अनि कम्युनिष्टको सामान्य मतदाता मात्र भइयो ।

तत्कालीन गुल्मी जिल्लाको क्षेत्र नं ३ मा चाहे संदीय निर्वाचन होस् चाहे स्थानीयमा पार्टीका उम्मेदवारलाई जिताउनको लागि धेरै मिहिनेत गरिएको थियो । घामपानी नभनी, रातदिन भोकै पेट धेरै दिन बिताइएको थियो । ज्यानलाई बाजी थापी कसैले एक भोट लैजाने हो कि भनेर महिनौ गाउँ गाउँ घर घर डुलेर आफ्नो भोट सुरक्षित राखिएको थियो । मजस्ता लाखौं कार्यकर्ताबाट संगठन भएको पार्टी आज यो अवस्था देख्दा कति धेरैमा नैराश्यता पैदा छ। हामीले रातदिन  नभनी  संगठन बनाएको दुई चार दर्जन मान्छेलाई सुकिलामुकिला बनाउन होइन ।

हाम्रो उद्धेश्य थियो कम्युनिष्ट सरकार आयो भने देशको विकास होला, गरिब दीनदुःखीलाई रोजगारको अवसर आउला भन्ने थियो । तर आजका नेपालका कम्युनिष्ट भनिने अधिकांश नेतामा कम्युनिष्टको कुनै आचरण देखिँदैन । जसरी हुन्छ देशलाई लुट्ने खाने भन्दा अरु देखिएन। एक अर्कालाई लालगद्दारको आरोप लगाउने अनि लुट्ने र विलासी जीवन बिताउने नेपालका कम्युनिष्ट नेतामा देखियो । पदलोलुप, चाकरीचाप्लुसी,अहंकार र घमण्ड नै कम्युनिष्ट नेताकोको प्रवृत्ति  देखियो ।

जनताको गास, बास, कपास, शान्ति सुरक्षाको मतलब छैन जतिबेला पनि महमा डुबेको मौरी जस्तै भ्रष्टाचारमा चुर्लुम्म डुबेर पुस्तौँ पुस्ताका लागि कमाउने परिपाटीको विकास आजका यी कम्युनिष्ट पार्टीमा देखा परेको छ। अब जनताले यस्ता देशका भस्मासुरलाई धुलो नचटाएसम्म सन्तोषको सास फेर्न सकिने अवस्था छैन ।

को होइन र लालगद्दार ?
नेपाली शब्दकोषमा गद्दारको अर्थ विश्वासमा आघात पुर्याउने वा धोका दिने काम भनेर उल्लेख गरिएको छ । नेपाली कम्युनिष्ट इतिहासलाई फर्केर हेर्ने हो भने संस्थापन नेताहरुलाई लालगद्दारको पगरी भिराएको पाइन्छ । खासगरी आफू अनुकूल नउभिने वा आफ्नो स्वार्थअनुसार नचल्ने नेताहरुलाई गद्दारको पगरी भिराउने गरिएको हो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठलाई गद्दारको संज्ञा दिइएको थियो ।

कम्युनिष्ट घोषणापत्रको नेपाली अनुवादक तथा नेपाली कम्युनिष्ट आन्दोलनका सिद्धान्तकार पुष्पलाललाई लालगद्दारको रुपमा प्रचार गरिएको थियो। अहिलेसम्मको कम्युनिष्ट इतिहासलाई केलाउने हो भने लालगद्दारको पगरी भिर्ने नेताहरुमा पुष्पलाल, मनमोहन अधिकारी, मोहनविक्रम सिंह, पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा ‘बादल’ र पछिल्लो समय माधवकुमार नेपाल लगायतका नेता रहेका छन् । एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताबाट बहिर्गमन हुनुपरेको झ्वाँकमा वरिष्ठ नेता नेपाललाई गद्दारको संज्ञा दिए ।

देश विकास अझ भनौ‘ ‘सुखी नेपाली, सम्वृद्ध नेपाल’ बनाउनका लागि अगाडि बढिरहेको आफ्नो सरकार ढाल्न नेता नेपालले निर्णायक भूमिका खेलेकाले उनी लालगद्दार भएको अध्यक्ष ओलीको भनाइ छ । पछिल्लो पटक प्रधानमन्त्रीबाट हटेपछि सरकारी निवास बालुवाटार छाडेर आफ्नो निजी निवास बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै आफूलाई जालझेल गरेर हटाइएको बताएका थिए । २०७८ साल भदौ २ गते नयाँ पार्टी नै गठन गरी निर्वाचन आयोगमा दर्ता गरेपछि त उनी अझ महालालगद्धार बन्न पुगेका छन् । तर उनले ओलीलाई पटक पटक आग्रह गर्दा पनि सहमतिमा नआएर एमालेको पार्टी कार्यालयको मूल ढोकाबाट भित्र छिर्न नदिएको पनि त इतिहासले हेरेकै होला । 
 
नेपाल कम्युनिष्ट पार्टीको स्थापनाका लागि पुष्पलालले अग्रणी भूमिका खेलेका थिए। उनकै देनका कारण आज नेपालमा कम्युनिष्टकको यो रजगज कायम हुन सम्भव छ भन्दा पनि अन्याय नहोला । उनलाई नेकपा स्थापना भएको दुई वर्ष पनि बित्न नपाउँदै २००८ सालमा पहिलो सम्मेलनमार्फत महासचिवबाट हटाइयो। सर्वसम्मतिको नाममा मनमोहन अधिकारीलाई महासचिव बनाइयो । त्यसपछि पुष्पलाल गद्दार भएको पुस्तकसमेत निकाल्न लगाइयो । 

पुष्पलाललाई केन्द्रित गरी मोहनविक्रम सिंहले ‘गद्दार पुष्पलाल’ भन्ने पुस्तक निकालेका थिए । नेपाली कांग्रेसलाई दुश्मन मान्ने त्यतिबेलाका कम्युनिष्टहरुको दृष्टिकोण थियो । तर त्यसको ठीक विपरीत पुष्पलालको विश्लेषण कांग्रेस मित्र शक्ति हो भन्ने रहेको थियो । दुश्मनलाई मित्र भनेपछि त्यतिबेला उनलाई लालगद्दार भएको विश्लेषण गर्दै सोही विश्लेषणका आधारमा ‘गद्दार पुष्पलाल’ किताब निकालेको मोहनविक्रम सिंहले एक अन्तर्वार्तामा बताएका थिए । पुष्पलालको निधन भएपछि पार्टीले पुनमूल्यांकन गर्दै उनलाई गद्दार भन्नु गलत भएको निचोड निकालेको उनको भनाइ थियो । पछि गद्दार पुष्पलाल भनेर निस्केको पुस्तकको शीर्षकलाई परिवर्तन गरेर दोस्रो संस्करणमा ‘क्रान्तिमा भ्रान्ति’ बनाइएको थियो ।

इतिहासको कालखण्डमा कम्युनिष्टका संस्थापक नै लालगद्दारको सूचीमा परेका थिए । अहिलेसम्म आउँदा माधव नेपाल समेत त्यो सूची भित्र परे। एक अर्कोलाई हिलो छ्यापाछ्याप गर्ने चरित्रको विकास र केवल जुँघाको लडाइँ कम्युनिष्टमा देखिएको छ। कहिले पनि यिनीहरूमा सैद्धान्तिक बहस छैन । सबैलाई बाँचुन्जेल कुर्सी  चाहिने । अनि कार्यकर्ता पनि अति नै झोले  र बाँदरे प्रवृत्तिले सबै कम्युनिष्ट अविश्वासी हुँदै गएको देखिन्छ ।

नेपालमा बहुदलीय प्रजातन्त्र आएपछि सात वटा कम्युनिष्ट सरकार बने । तर जनताले  कम्युनिष्टको सरकारको अनुभूति हुने लायक खासै केही प्राप्त गर्न  सकेनन्। नेताले जनतालाई दिए त केवल फुस्रा आश्वासन । अनि असल र  गद्दार को को ? स्पष्ट नै देखिन्छ न कि बार्दली र माइतीघरको कुरा मात्र सुन्नु पर्छ भन्ने छैन । जनताको घरआँगन, खेतबारी र आँसुहरू नै बोलेका छन् ।

नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासलाई मसिनो गरी केलाउँदा बेलाबखत यस्तो आरोप लगाउँदै आएको पाइन्छ । कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका पात्रहरुलाई किन यस्तो प्रकारको आरोप लगाइन्छ ? जब आफू अनुकुल हुँदैन अनि आफ्नो विरोधी गद्दार भइहाल्छ त ? नेपाली कम्युनिष्ट नेतृत्व पङ्तिमा अहिलेसम्म लालगद्दार को छैन र । दुई चार  जनाको नाममात्र सीमित होला र । जनतालाई धोका दिने लालगद्दार होइनन् र ? पछिल्लो ३१ वर्षे समयावधिमा नेपाली कम्युनिष्ट नेतृत्वमा कुन पवित्र छ र ? अधिकांश नेताहरू लालगद्दार हुन् ।

एक टेलिभिजन कार्यक्रममा पत्रकारको एक प्रश्नको उत्तरमा पार्टी फुटाएर कम्युनिष्ट पार्टीको इतिहासमा अर्को कलंकित पात्र बनेकी नेकपा एमाले (समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले भनेकी थिइन् – जनताको घर घरमा भात पुर्‍याइदिने र बसी बसी खाओ भन्ने ?  माननीयले भनेजस्तो जनताले खोजेका होइनन् । जनताको चाहना भनेको शिक्षा, स्वास्थ रोजगारको सुनिश्चितता हो । हत्या, हिंसा अन्याय र अत्याचारको अन्त्य हो । देशमा विकासका पूर्वाधार चाहिएको हो । प्रजातन्त्र आएको तीन दशक बितिसक्दा पनि देशको सामाजिक, आर्थिक र राजनीतिक अवस्था जहाँको त्यहीँ हुनु कति लाजमर्दो कुरा हो । प्रायः नेताको समय भनेको लुट्ने र खानेमा बितेको छ ।अनि कसरी जनताले सुखको सास फेरून् ।

यदि नेपाललाई विकसित देश र सुखी नेपाली बनाउने हो भने नेतृत्वले आफ्नो आचरण पूरै  परिवर्तन गर्नुपर्छ । जनताको नाममा कसम खाई लाखौं कार्यकर्ताको बलिदानीलाई स्मरण गरी पार्टीबाट माथि उठ्नु पर्छ र देश निर्माणको विशाल सपना बनाई लाग्नुपर्छ । पुस्तौं पुस्ता नेतृत्व गरेर कुर्सीमा किर्नो गडे झैँ गडेका र  पिण्ड खान तम्सेका बुढाको हातबाट अर्को पुस्तामा हस्तान्तरण गरी झोले प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ । विचार र सिद्धान्तको राजनीति गर्नुपर्छ ।

पार्टी आचरण र अनुशासनमा रहनुपर्छ अनि मात्र सच्चा राजनीति हुनसक्छ । चाहे एमाले होस्, चाहे माओवादी वा अन्य साना कम्युनिष्ट घटक सबैले मौका पाउँदा  बित्तिकै आफ्नो सम्पूर्ण अस्तित्व बिर्सेर पार्टीलाई मागी खाने भाँडो बनाएर ब्रम्हलुट गरिएको वर्तमान घृणित राजनीतिको अन्त्य नभएसम्म समुन्नत देश बन्न सक्दैन । राजनीति भनेको विशुद्ध समाज सेवा हो भन्ने भावना हुनुपर्छ । अनि मात्र देश बन्छ ।

पार्टीप्रति खासै ठूलो योगदान नभएकोको ममा त यस्ता किसिमका नेतृत्वप्रति वितृष्णा उम्लिएर आउँछन् भने जसले सिङ्गो जीवन नै पार्टीको लागि समर्पण गरेका थिए तिनीहरूमा झन् कति धेरै वितृष्णा होलान् । आज देश र जनताका  लागि कतिले छोराछोरी, बाबुआमा, परिवार, श्रीमती र सम्पत्ति नभनी आफ्नो ज्यान आहुती दिए तिनको सपना कहिले पूरा गर्ने हो ? जनयुद्धका नाममा आज कति बेपत्ता छन् तिनको खोजी गर्ने कोही छैन ।

नेपालमा राजनैतिक अस्थिरता सिर्जना गरी विकृति र विसङ्ति निम्त्याउने मात्र खेल भइरहेको छ । पार्टी फुटाउ, राज गर। आज एउटा गुट भोलि अर्को गुट । जुन पार्टीमा जाँदा पनि मन्त्री । नाङ्गो चरित्र भन्दा कम्युनिष्टमा केही नदेखिने अवस्था छ । कुनै नेतामा कम्युनिष्ट संस्कार र आचरण छैन । अन्त्यमा यी तथाकथित  कम्युनिष्ट  जनमारा र भाइमारा लालगद्दारदेखि सावधान ! (पन्थी हाल अमेरिकाको भर्जिनियामा रहेका छन्) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ