arrow

कांग्रेस क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न जिल्ला सभापतिहरुको माग [पत्रसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
nepali-congress-flag.jpg_1618043342.jpeg

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गरेका छन् । काभ्रेपलाञ्चोकका पार्टी सभापति मधु आचार्यले जिल्ला सभापतिका तर्फबाट शनिबार केन्द्रीय सभापतिलाई पत्रमार्फत क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानबिन गरेर मात्र अन्तिम रुप प्रदान गर्न माग गरेका छन् । 

सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेु जिल्ला सभापतिहरुको माग छ । गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरेको छ । 

उक्त प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी रहेका कार्य पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकले यही भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाइ भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने बैठकले निर्णय गरेको तर क्रियाशील सदस्यताको विवाद आजसम्म पनि विवाद टुङ्गो लागिसकेको छैन ।  

प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी कार्यका बारेमा शनिबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा नेताहरू सिटौला, रिजाल र लेखकसहित छलफल भएको थियो । क्रियाशील सदस्यताको बाँकी काम अन्तिम चरणमा पुगेको र आइतबारसम्म सम्पन्न हुने नेता लेखकले जानकारी दिए । 

साउन ३० गतेको केन्द्रीय समिति बैठकले पार्टीको १४औँ महाधिवेशनको संशोधित कार्यतालिका पारित गरेको थियो । उक्त कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ–नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।

यसैगरी कांग्रेसले एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।

यस्तो छ जिल्ला सभापतिहरुको पत्र–
श्रीमान सभापति ज्यू
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति 
वीपी स्मृति भवन, वीपीनगर, ललितपुर ।
                             
                             मिति– २०७८–०५–०५

विषयः माग संवोधनका लागि हार्दिक अनुरोध 

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको सन्दर्भमा क्रियाशील सदस्यताको पारदर्शिता सम्वन्धी बिषयलाई लिएर देसभरिका लाखौं सदस्य साथीहरुको भावनाको प्रतिनिधित्व गर्दै आरम्भदेखि नै हामीले नेतृत्व समक्ष प्रष्ट विचार राख्दै आएका हौं । वडा तहबाट निर्णय भइआएका नामहरु हटाउने, ठाडै केन्द्रबाट जथाभावि नामहरु थप्ने र झिक्ने तथा शतप्रतिशतभन्दा बढी नामहरु इन्ट्री गर्ने जस्ता धाँधलीजन्य गतिविधि रोक्न निरन्तर आग्रह गर्दै रह्यौं। यस्ता अनियमिततालाई बेलैमा रोक्नु त कता हो कता, झन पछिल्ला दिनमा आएर सुनियोजित ढंगबाट अमूक ब्यक्तिको स्वार्थसिध्दी गर्न, लामो समयदेखि पार्टीमा रगत(पसीना भिजाएका निष्ठावान नेता कार्यकर्ताको राजनीतिक हत्या गर्न हजारौ संख्यामा क्रियाशील सदस्य थप्ने वा मेट्ने वा अर्को वडामा पन्छाउने जस्ता अशोभनीय कामहरु भैरहेबाट हामी स्तब्ध भएका छौं। त्यसमाथि ७७ वटै जिल्लाका सभापतिको एउटै प्रकृयाबाट निर्वाचन हुने विधानको प्रष्ट ब्यवस्था विपरीत निर्वाचन निर्देशिका जारी भएबाट हामीलाई थप चिन्तित बनाएको छ।

तसर्थ, 
१, प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरियोस । 
२, क्रियाशील सदस्यता सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानवीन गरेर मात्र अन्तिम रुप प्रदान गरियोस ।
३, सबै जिल्लाका सभापतिको निर्वाचन प्रकृयामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरियोस ।

हाम्रो उपरोक्त मागहरुलाई संवोधन गर्नेगरी यही भाद्र ७ गते भित्र आवश्यक कदम नचालिएमा भोलिपल्ट ९भाद्र ८ गते० बाट केन्द्रीय कार्यालयमा धर्ना, अनसन लगायतका शान्तिपूर्ण आन्दोलनमा उत्रन हामी वाध्य हुने ब्यहोरा जानकारी गराउँछौं। जय नेपाल ।

विनीत 
जिल्ला सभापति एवं साथीहरु



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ