arrow

पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ६ आइतबार
Child-marriage.jpeg
तस्वीर– सांकेतिक ।

राँझा । बाँके जिल्लाका पाँच स्थानीय तहका १२ वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय तहले वडास्तरमा  सञ्चालन गरेको बालविवाहविरुद्धका अभियानमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको छ ।

परियोजनाको सहयोगमा जिल्लामा हालसम्म पाँच स्थानीय तहका १२ वडा बालविवाह मुक्त घोषणा भइसकेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका चार वडा, कोहलपुर नगरपालिकाका तीन वडा, जानकीको तीन वडा र खजुरा र बैजनाथ  गाउँपालिकाका एक÷एक वटा वडा गरी हालसम्म ११ बालविवाह मुक्त घोषणा भइसकेका छन् । कोहलपुर नगरपालिकाको वडा नं ३ र वैजनाथ गाउँपालिकाको वडा नं ५ मा बालविवाहमुक्त घोषणा गर्ने तयारी भएको छ ।

पछिल्लोपटक शनिबारमात्रै जानकी गाउँपालिकाको वडा नं २ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले चाँडै जिल्लाकै पहिलो बालविवाह मुक्त स्थानीय तहका रूपमा जानकीलाई घोषणा गर्ने प्रतिबद्धता जनाए । 

बाँकेका आठ स्थानीय तहमध्ये राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा भने बालविवाहविरुद्धको अभियान प्रभावकारी हुनसकेको छैन । वडालाई बालविवाह मुक्त घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशील रहेको छ ।

बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार वडामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष पाण्डेले जानकारी दिए । विसं २०६८ को जनगणना अनुसारमा बाँकेमा ६६।०८ प्रतिशत बालविवाह रहेको छ । 

सामाजिक परम्परा र प्रेम गरेर बालविवाह गर्ने क्रम अझै रोकिएको छैन । जनचेतनाको कमी, जातीय विभेद, आर्थिक अभाव, गरिबी र बेरोजगार, सामाजिक परम्परा, अशिक्षा, धर्म र संस्कार, कुसंस्कार, पुरानो रीतिरिवाज, पुरुष प्रधान समाज, पारिवारिक दबाब, कानून थाहा नपाएर, साथीहरूको देखासिकी र प्रेम विवाह, सामाजिक सञ्जाल र मोबाइल दुरुपयोगलगायत कारणले बालविवाह हुँदै आएको जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ