- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक भोली मंगलबार बस्दैछ । बैठकमा एमाले भित्र मध्यमार्गी धारमा देखिएका नेताहरु पनि सहभागी हुने भएका छन् ।
सोमबार विहानबाट एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएको छलफलपछि मध्यमार्गी धारमा उभिएका नेताहरुसमेत भोलि बस्ने भनिएको स्थायी कमिटीमा सहभागी हुने निश्कर्षमा पुगेका हुन् ।
विगतमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका भए पनि हाल एमालेमै रहेका उपाध्यक्ष डा.भीम रावललगायतका नेता र अध्यक्ष ओलीबीच सोमबार स्थायी कमिटी बैठक बसेर पार्टीलाई गतिशील बनाउने सहमति भएको हो ।
उहाँहरुबीच गत असार २७ मा भएको १० बुँदे सहमतिबमोजिम अघि बढ्ने समझदारी बनेको छ,’ एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भने ।
बैठकपछि मध्यमार्गी धारमा रहेका एमाले सचिव योगेश भट्टराईले पनि चैत ४ र ५ गते ललितपुरमा भएको नेपाल पक्षीय एमाले कार्यकर्ताहरुको राष्ट्रिय भेलाको निष्कर्ष विभाजन नभइ एकता नै रहेको बताएका थिए ।
‘राष्ट्रिय भेलाको निश्कर्ष विभाजन होइन एकता गरौँ भन्ने थियो, त्यसैले विभाजनतिर होइन, एकतातिर नै जानुपर्छ भन्ने अडान हामी छौँ,’ बैठकपछि भट्टराईले भने ।
बैठकमा अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले १० बुँदे कार्यान्वयनमा प्रतिबद्ध भएको बताएपछि माधव नेपाललाई पहिले साथ दिएका सबै स्थायी कमिटी सदस्यहरु मंगलबारको बैठकमा बस्न सहमत भएका हुन् । बैठकमा पार्टी एकतालाई सुदृढ गरेर अघि बढ्ने विषयमा गम्भीर छलफल भएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘पार्टी एकतालाई सुदृढ गरेर मुलुकसामु उपस्थित चुनौती सामना गर्न सक्ने गरी गम्भीर छलफल भयो, बैठकमा अध्यक्षलाई १० बुँदे प्रस्ताव कार्यान्वयन गरेर लैजान नेताहरुबाट आग्रह भएको छ, त्यसै अनुसार भोली ११ बजे पार्टी स्थायी कमिटी बैठक बोलाइएको छ, उहाँहरु आउनुहुन्छ’, ज्ञवालीले भने ।
बैठकमा मध्यमार्गी धारमा रहने बताउँदै आइरहेका नेताहरू रावलसहित भीम आचार्य, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकणर् विष्ट, सुरेन्द्र पाण्डे, रघुजी पन्त र योगेश भट्टराई थिए ।