- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन समयमै हुने पक्का भएको छ । केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने पक्का भएको हो । महाधिवेशन समयमै हुनेमा आशंका व्यक्त भइरहेका बेला सोमबार महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुंगिएसँगै अब तीव्र रुपले तयारी अगाडि बढेको बताइएको छ ।
सोही अनुसार मंगलबार बिहानबाट क्रियाशील सदस्यहरुको नामावाली धमाधम छाप्न थालिएको छ । कांग्रेस उच्च स्रोतका अनुसार मंगलबार बिहानबाट तीन वटा ठूला प्रिन्टिङ मेसिनमा क्रियाशील सदस्यहरुको नामावली छाप्ने काम भइरहेको छ ।
मंगलबार करिब ४० जिल्लामा प्रिन्ट गरेर क्रियाशील सदस्यता नामावली पठाउने तयारी भइरहेको छ । त्यसैगरी कतिपय विकट जिल्लामा हेलिकोप्टरको प्रयोग गरेरै भए पनि क्रियाशील सदस्यता नामावली पठाउने गरी तयारी भएको छ ।
यही १० गते बिहीबारभित्र क्रियाशील सदस्यता समायोजनको समस्या भएका कपिलवस्तु, रसुवा लगायतका जिल्लामा समाधान गर्ने निर्णयसमेत भएको छ । यसका लागि ७ गते सोमबारसम्म जेजस्तो नाम दर्ता भएको छ त्यो भन्दा बढी कुनै पनि नाम नथपिने बताइएको छ ।
यसअघि सोमबार कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुंग्याएको थियो । क्रियाशील सदस्यता सम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको नेता डा मीनेन्द्र रिजालले जानकारी दिए ।
प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिवेदन बुझाएका हुन् । केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको क्रियाशील सदस्यता छानविन समितिले गत साउन १२ गते क्रियाशील सदस्यता विवरणको अधिकांश कार्य सम्पन्न गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो ।
उक्त प्रतिवेदन गत साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पारित गरी प्रतिवेदनमा उल्लेखित निर्णय गर्न बाँकी कार्य पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्यद्वय रिजाल र लेखकलाई जिम्मेवारी तोकेको थियो ।
सोही केन्द्रीय समिति बैठकले यही भदौ २ गतेभित्र सहमतिमा टुङ्गो लगाई भदौ ३ गते केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको थियो तर क्रियाशील सदस्यताको विवाद समयमै निरुपण हुन नसकेका कारण आज मात्रै सभापति देउवालाई प्रतिवेदन बुझाइएको हो ।
पार्टीको गाउँ–नगर वडा अधिवेशनका लागि मतदाता रहने क्रियाशील सदस्यताको सङ्ख्या मुलुकभर र विदेशस्थित जनसम्पर्क समितिका गरी नौ लाखभन्दा बढी रहेको पार्टी कार्यालयले जनाएको छ । क्रियाशील सदस्यताको विवाद यसअघि समयमै नसुुल्झिँदा महाधिवेशन कार्यतालिका समेत प्रभावित भएपछि कार्यतालिका नै संशोधन गर्नुपरेको थियो ।
साउन ३० गतेको केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित कार्यतालिकाअनुसार कांग्रेसको गाउँ–नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ–नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।
यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।