- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशीलता विवाद समाधान भएसँगै मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने भनिएको १४औं महाधिवेशन प्रक्रिया अघि बढेको छ । महाधिवेशन समयमै हुनेमा आशंका व्यक्त भइरहेका बेला सोमबार क्रियाशील सदस्यता विवाद टुंगिएसँगै महाधिवेशनको प्रक्रिया अघि बढेको हो ।
संशोधित कार्यतालिकाअनुसार कांग्रेसको गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुने तय भइसकेको छ ।
कांग्रेस मुख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार निर्वाचन प्रक्रिया अघि बढिसकेकाले क्रियाशील सदस्यता नामावली पठाउने तयारी भइरहेको छ । उनले हाम्राकुरासँग भने,‘हिमाली, पहाडी र दुर्गम क्षेत्रमा आज बुधबार सम्ममा नामावली पठाइसक्छौं । त्यसपछि निर्वाचन समितिले काम अघि बढाउने छ ।’ क्रियाशील सदस्यहरुको नामावाली धमाधम छपाइ भइरहेको र विभिन्न माध्यमबाट जिल्ला सदरमुकामसम्म नामावली पठाउने गरी तयारी भइरहेको पनि पौडेलले जानकारी दिए ।
तर ढिलागरी टुंगिएको सदस्यता विवादले हाल तोकिएको वडा तहको निर्वाचन भदौं १८ मै सम्पन्न गराउन निर्वाचन समितिलाई कठिनाइ हुने देखिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसी भन्छन्,‘दुर्गम, विकट र हिमाली/पहाडी जिल्लामा अबको आठ दिनमा निर्वाचन गराउन व्यवहारिक र प्राविधिक कठिनाइ देखिन्छ । कतिपय जिल्लाको सदरमुकामबाट वडासम्म पुग्न पाँच दिनसम्म लाग्ने अवस्था छ । भदौ ३ गते नै नामावली दिने सहमति भएपनि ८ गते मात्र नामावलीका विषयमा विवाद समाधान भएपछि हामी अफ्ठयारोमा परेका छौं ।’
निर्वाचन समितिले क्रियाशील सदस्यता नामावली प्राप्त भएको १६ दिन तयारीका लागि समय चाहिने भनेको छ । कतिपय जिल्लाका वडामा पुग्न सदरमुकामबाट पाँच दिन लाग्न सक्ने स्थान रहेकाले निर्वाचन समितिलाई व्यवहारिक र भौगोलिक कठिनाइ देखिएको छ । सदस्य केसीले भने,‘हामी निर्वाचन गराउन जुनसुकै बेला तयार छौं तर तयारीको आवश्यक समय जरुरी पर्छ । यस विषयमा पार्टीले उपयुक्त र व्यवहारिक निर्णय गर्नु जरुरी छ ।'
यता सभापति शेर बहादुर देउवाले क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेपछि प्रतिवेदन पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । निर्वाचन समितिले क्रियाशील सदस्यताको विवरण प्राप्त गरेलगत्तै चाँडोगरी सम्पूर्ण जिल्लामा पुर्याइसक्ने समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । समय कम भएकाले समितिले स्थल र हवाई यातायातका साथै कतिपय हिमाली जिल्लामा हेलिकोप्टर समेत प्रयोग गर्ने उनले बताए ।
निर्वाचन समितिले क्रियाशील सदस्यता नामावली सूची, पार्टीको विधान र नियमावली, निर्वाचन निर्देशिका, अधिवेशनमा निर्वाचित हुने सदस्यलाई प्रदान गर्ने प्रमाणपत्रसहितको बण्डल प्रत्येक जिल्ला सदरमुकाममा वडा अधिवेशनको कम्तीमा एक साता अघि र त्यसको दुई दिनभित्र प्रत्येक वडामा पुर्याउने लक्ष्य राखेको छ । तर त्यो समय पर्याप्त देखिदैन् ।
समितिले तराई र सुगमका ४१ जिल्लामा योजनाअनुसारको निर्धारित समयमै निर्वाचन सामग्री पुग्ने अपेक्षा गरेको र बाँकी हिमाली तथा विकट पहाडी ३६ जिल्लामा भने यातायातको केही चुनौती रहेको जनाएको छ । यसबाहेक पार्टीले अधिवेशनमा कोभिड-१९ को महामारी, बाढीपहिराको प्रकोपलगायत चुनौतीको पनि सामना गर्नुपर्ने देखिन्छ । जसका कारण कतिपय विकट र दुर्गम वडाहरुमा तोकिएकै मितिमा अधिवेशन हुने संभावना न्यून छ । त्यसका लागि पार्टी बेग्लै निर्णय गर्ने तयारी भइरहेको बुझिएको छ ।
यता क्रियाशील सदस्यताकै विषयलाई लिएर जिल्ला सभापतिहरु पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बसिरहेकाले वडा अधिवेशन प्रभावित हुनसक्ने आंकलन गरिएको छ । मंगलबार विहानदेखि शुरु भएको धर्नामा क्रियाशील सदस्यताको सूची प्रकाशित गर्नुपर्ने, निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायतका माग राखिएको छ ।
साउन ३० गतेको केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित कार्यतालिकाअनुसार काँग्रेसको गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।
यसैगरी काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।