arrow

संकट मोचक कृष्ण सिटौला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ९ बुधबार
krishna-situla-feature.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाका बारेमा विभिन्न टीकाटिप्पणी हुने गर्दछ । पार्टीमा तेस्रो धार जन्माएर गुटको राजनीति गर्‍यो । बार्गेनिङ गर्ने माध्यम बनायो र आफ्ना मान्छेलाई च्याप्ने काम मात्र गर्‍यो । हुन त लोकतान्त्रिक राजनीतिक दलमा खेमा-गुट वा धार हुनुलाई अस्वाभाविक मानिँदैन । विचार समूह वा हित समूह हुनुलाई सामान्य नै मानिन्छ । सिटौलाले पनि त्यस्तै सामान्य राजनीति गरे जसका कारण उनी सधैँ केन्द्र विन्दुमा रहे । चाहे राष्ट्रिय राजनीतिमा होस् या दलगत राजनीतिमा सिटौला करिब अढाइ दशक यता केन्द्र विन्दुमा छन् । पार्टीको महाधिवेशनमा उनी अन्य समूहबाट तानातानमा पर्छन् । निर्णायक भूमिकामा देखिन्छन् । सिटौला जता ढल्किन्छन् पार्टीको राजनीति उतै मोडिन्छ ।

हुन त सिटौलाका थुप्रै अवगुणहरू पनि छन् । उनी जोकोही मान्छेलाई तौलिन चाहन्छन् । धेरै बोल्दैनन् तर जोखेर बोल्छन् । जसका कारण उनको भूमिका कस्तो रहला भन्नेमा सधैँ ‘कन्फ्युजन’ रहन्छ । विरोधीलाई चाँडै ‘ट्रिट’ गर्न रुचाउँछन् र समझदारीमा ल्याइहाल्छन्। क्षमताको पहिचान तुरुन्तै गर्न सक्छन् र सोही अनुसारको व्यवहार गर्न इच्छा देखाउँछन् । यद्यपि, कांग्रेसलाई मात्र नभई मुलुकलाई भविष्य दृष्टि दिने काम सिटौलाले गरिरहेका छन् । पार्टीभित्र उनको समन्वयकारी भूमिका सधैँ अग्रगामी रहँदै आएको छ ।

सिटौलाको बानी, आचरण र व्यवहार कसैलाई मन परोस् वा नपरोस् तर उनी देशका लागि ‘क्राइसिस म्यानेजमेन्ट म्यान’हुन भनेर राजनीतिभित्रको कूटनीति बुझ्नेहरूले मजाले बुझेका छन् । देशभित्र वा पार्टीमा आउने कुनै पनि सङ्कटको समाधान गर्न सक्ने खुबी सिटौलामा छ। उनले धेरै पटक सङ्कटमा परेको अवस्थामा ती सङ्कटहरू समाधान गरेका छन्। सङ्कटलाई समाधान गर्ने खुबीका कारणले उनलाई ‘क्राइसिस म्यानेजमेन्ट म्यान’ भनेर चिनिन थालेको छ।

सिटौलालाई नजिकबाट बुझेका लेखक तथा विश्लेषक सुदर्शन आचार्य भन्छन्,‘उहाँलाई यो चाहीं कुरा ठिक हो, यो चाहीं कुराले देश र जनताका लागि हित हुन्छ भन्ने लाग्यो भने दिनरात नभनी खटिने र कार्यान्वयनमा ल्याउन सक्ने खुबी उहाँमा छ’ आचार्यले अघि भने,‘उहाँको अर्को राम्रो बानी के छ भने जति नै रिसाएर वा जंगिएर कुनै व्यक्ति उहाँसँग बहस गर्यो भने सालिनता र धैर्यता देखाउने क्षमता राख्नुहुन्छ । उहाँ अरुको कुरा सुनिसकेपछि बोल्ने गर्नुहुन्छ जसका कारण जोकोही उहाँको आचरणबाट प्रभावित हुन्छन् ।’

नेपाली कांग्रेसको ‘फस्टम्यान’ नभए पनि उनी देशमा सङ्कट पर्दा  ‘क्राइसिस म्यानेजमेन्ट म्यान’ का रूपमा चर्चामा रहन्छन् । सिटौलाको अर्को विचित्रको क्षमता छ । जुन उनी निकट मानिएका व्यक्तिहरूले मात्र पहिचान गरेका छन् । त्यो हो विपक्षीको रणनीति चाँडो बुझ्न सक्नु । विपक्षी पार्टीको रणनीति पहिचान गर्न सक्नु । विपक्षीहरूलाई पनि विश्वासमा लिन सक्नु र अन्ततः कूटनीतिक रूपमा निस्तेज पार्न सक्ने क्षमता सिटौलामा छ ।

किनकी गिरिजा प्रसाद कोइराला, सुशील कोइराला र हालका सभापति शेर बहादुर देउवाले सिटौलाकै सुझबुझलाई प्रयोग गरेर राजनीतिक उचाइ लिएका छन् । हुन पनि यी तीन नेताले सत्ता र पार्टीको नेतृत्व गरिरहँदा देशमा ठुला सङ्कटहरू आइपरे । देश सङ्कटमा पर्दा वा बन्धक रहँदा त्यसलाई खोल्ने चाबी सिटौलाकै हातमा पर्‍यो । सहजै चाबी खोलिदिए र देशलाई नयाँ दिशामा डोर्‍याए ।

कांग्रेस नेता भीमसेनदास प्रधान सिटौलाको समन्वयकारी भूमिकाबाट प्रभावित भएको बताउँछन् । उनी भन्छन्,‘पार्टीका शीर्ष नेताहरूमा देखिएको खटपटलाई चाँडै हल गर्न सक्ने र विपक्षी पार्टीहरूको रणनीति पहिचान गरेर गोटी चाल्ने सक्ने क्षमता उहाँमा छ । शालीन र कूटनीतिक रूपमा विपक्षीहरूलाई कन्भिन्स गराएर राष्ट्रिय राजनीतिलाई सही दिशामा हिँडाउने काममा उहाँको भूमिका बिर्सन सकिँदैन ।’

सिटौलाको राजनीतिक जरो झापामा छ । झापा कम्युनिष्ट आन्दोलनको उर्वर भूमि हो । सिटौलाले कांग्रेस मात्र होइन कम्युनिष्टहरुबाट पनि राजनीतिक खेल सिके । झापाका पुराना नेता स्वर्गीय सीके प्रसाईको सहयोगमा सिटौला जिल्लामा स्थापित भए । केशवकुमार बुढाथोकी सिटौलासँगै स्थानीय राजनीतिमा झापामा सँगै थिए । सर्वप्रथम कांग्रेसको खुला अधिवेशन २०४८ सालमा सिटौलाकै गृहजिल्लामा झापाको कलबलगुडीमा भयो । त्यस बखत कांग्रेसको कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराई थिए । उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सभापतिमा उठ्न चाहन्थे । गिरिजाप्रसाद त्यस बखत नउठ्दा भट्टराई कांग्रेसको निर्विरोध सभापति बने । भट्टराई पार्टी नेतृत्वमा रहँदा झापाको कांग्रेस जिल्ला सभापति बनेका सिटौला अहिले कांग्रेसको नेतृत्व तहमा छन् । उनी कांग्रेसको १३औं महाधिवेशनमा पार्टीको केन्द्रीय सभापतिमा आफूलाई उभ्याउँदै हाल कांग्रेस भित्रको तेस्रो धारको नेतृत्व गर्दै आइरहेका छन् । १२औं महाधिवेशनपछि उनी कांग्रेसको महामन्त्री बनेका थिए ।

यति मात्र होइन सिटौला देशमा सङ्कट आइपर्दा सङ्कट मोचनका लागि मध्यस्थता गर्नेमा पनि निर्णायक हुन् । उनको समन्वयकारी र सन्तुलित भूमिका लोभलाग्दो छ । अरूका कुरा धेरै सुन्ने र आफ्नै शैलीले निर्णय सुनाउने उनको स्वभाव नेपाली राजनीतिमा अरूको भन्दा भिन्न छ । देशमा माओवादी सशस्त्र जनयुद्ध शुरु हुँदै गर्दा तत्कालीन कांग्रेस सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग निकट रहनु नै सिटौलाका लागि नेपाली राजनीतिको क्षेत्रमा सबैले विश्वास गर्ने बाटो बन्यो । त्यसबेला माओवादीसँगको १२ बुँदे सम्झौताको सल्लाहकार (मध्यस्थकर्ता) गर्ने उनै थिए ।

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउँदै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन सिटौलाकै भूमिका महत्त्वपूर्ण छ । कतिपयले सिटौलालाई गिरिजाप्रसाद कोइरालाको ‘कर्मको उत्तराधिकारी’ ठान्ने पनि गर्छन् । जुन शान्ति सम्झौताका बेला उनले खेलेको भूमिकाले स्पष्ट पारेका पनि छ । किनकि उनले नै शान्ति प्रक्रियाको डिजाइन गरेका थिए । गिरिजाप्रसादको भरोसा जिते र विद्रोही माओवादीको पनि विश्वास जितेर शान्ति प्रक्रियालाई अघि बढाएका थिए ।

उनले आफूलाई माओवादी अध्यक्ष पुष्पकमल दाहालले वार्ता नमिले के हुन्छ ? भनेर सोध्दा आफूले सटिक जवाफ दिएको स्मरण गर्दै भने, ‘गिरिजाबाबु नभएको भए सायद नेपालको शान्ति प्रक्रिया र वार्ता के हुन्थ्यो थाहा छैन, माओवादी अध्यक्ष पुष्पकमल दाहालले वार्ता नमिले के हुन्छ ? भनेर सोध्नुभयो, मैले तपाई जहाँ जान चाहनुहुन्छ, म त्यही लगेर छोड्छु भन्ने जवाफ दिएँ,’ उनले माओवादीसँग भएको वार्ताको प्रसङ्ग सम्झँदै भने ।

मुलुकमा राजतन्त्रको अन्त्य गरेर देशमा गणतन्त्र ल्याउनमा पनि सिटौलाले खेलेको भूमिकालाई नकार्न सकिँदैन । तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई राजदरबारबाट नागार्जुन दरबार पठाउन सिटौलाले उनीसँग संवाद गरे । त्यसमा पनि उनी सफल भए । त्यसपछि संविधानसभाबाट संविधान बनाउँदा उनले निभाएको नेतृत्वदायी भूमिकाले उनलाई ‘क्राइसिस म्यानेजमेन्ट म्यान’ का रूपमा चिनायो ।

पछिल्लो पटक यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको निर्णय गर्दा उनै सिटौलाले संविधानको केस्रा केस्रा केलाए । संविधानको मस्यौदाकारका रूपमा रहेका उनले संविधानको धारा ७६ (५) को व्यवस्था पुरा नगरी कुनै हालतमा प्रतिनिधि सभा विघटन गर्नै मिल्दैन भन्ने अडान त्यसखबत अदालतले सत्य साबित गरिदियो । संविधान सभाले संविधान बनाउँदा उनै सिटौला संविधानको मस्यौदा समितिको सभापति थिए । उनकै नेतृत्वमा देशको संविधानको हरेक धारा उपधाराले पूर्णता पाएको थियो ।

यतिमात्रै होइन पार्टीको आन्तरिक कलहमा पनि सिटौला सधैँ समाधानको सूत्र बन्दै आए । पछिल्लो पटक सोमबार राति क्रियाशील सदस्यताका विषयमा देखिएको विवाद उनै सिटौलाकै नेतृत्वमा समाधान भयो । क्रियाशील छानबिन समितिले टुङ्ग्याउन बाँकी विवाद समाधानको जिम्मा सिटौलासहित केन्द्रीय सदस्यद्वय डा.मिनेन्द्र रिजाल र रमेश लेखकलाई दिएको थियो । रिजाल र लेखकको सहायतामा सिटौलाले क्रियाशील सदस्यता विवाद किनारा लगाएका छन् । कुनै समय शान्ति सम्झौता गर्दा एउटै समितिमा रहेर काम गरेका लेखक र सिटौला संयोगले यस पटक कांग्रेसको विवाद मिलाउने स्थानमा सँगै रहे । सिटौला-लेखकको ‘ट्यूनिङ’ले नै कांग्रेसको ठूलो विवाद सल्टिएको छ ।

क्रियाशील सदस्यता छानबिन समितिले टुङ्ग्याउन बाँकी रहेका विषयमा सैद्धान्तिक सहमति जुटाउँदै सिटौलाले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाए । कांग्रेसका एक सयभन्दा बढी वडामा नवीकरण, नयाँ र समायोजनका सदस्यताबारे विवाद रहेको थियो । ती सबै विवाद सैद्धान्तिक सहमति र नयाँ मापदण्डका आधारमा समाधान हुने भएको हो । जसअनुसार केही क्षेत्र र वडामा नयाँ सदस्यता वितरण स्थगन गरिएको छ । त्यहाँ १३ औं महाधिवेशनकै क्रियाशील सदस्यताको आधारमा अधिवेशन हुनेछ ।

समायोजनका सम्बन्धमा देखिएको समस्या समाधान गर्न साझा मापदण्ड प्रस्ताव गरिएको छ । जसअनुसार ‘कुनै पनि वडामा समायोजनको सङ्ख्या नवीकरण भएका सदस्यको सङ्ख्याभन्दा बढी हुन नहुने’ सहमति बनेको छ । जसअनुसार कुनै वडामा कांग्रेसको नवीकरण भएको भन्दा बढी समायोजनबाट आएका सदस्यहरू रहेछन् भने सङ्ख्या घटाइनेछ ।

आगामी १४औं महाधिवेशनमा सभापतिका लागि आकांक्षा देखाएका सिटौला निर्णायक भूमिकामा देखिने सङ्केतहरू देखिन थालिसकेको छ । सभापतिका आकाङ्क्षीहरू सिटौलाको भूमिका र उनको समर्थन खोजिरहेका छन् । पार्टीमा कस्तो वैचारिक परिणाम दिने र कस्तो नेतृत्व दिने भन्ने विषयमा पनि सिटौला हिस्सेदार रहने देखिएको छ । त्यतिमात्र होइन विभिन्न समूह, गुट वा खेमामा छरिएर रहेका नेताहरूको समायोजन र संयोजन गराउनेमा सिटौलाको भूमिकालाई अर्थपूर्ण रूपमा हेरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ