arrow

नवलपुरमा पहिरोले पुरिएर एकै परिवारका तीन जना बेपत्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
nawalpur-pahiro.jpg

कावासोती । नवलपुरमा पहिरोले पुरिएर एकै परिवारका ३ जना बेपत्ता भएका छन् । लगातार वर्षा पछिको पहिरोमा परेर  हुप्सेकोट गाउँपालिकाको वडा नं ४ माथिल्लो चारघरेमा एकै परिवारका ३ जना बेपत्ता भएका गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन ।

पाण्डेका अनुसार हुप्सेकोट- ४ का  हर्कबहादुर पुलामीकी श्रीमती धनमाया पुलामी, नातिनीहरू भूमिसार पुलामी र देउमाया पुलामी 
पहिरोमा परेर बेपत्ता भएका हुन । त्यस्तै पहिरोमा परेर गम्भीर घाइते भएका हर्कबहादुर पुलामीको उद्धार गरिएको र बेपत्ता तीन जनाको सुरक्षाकर्मीको सहयोगमा खोजी सुरु गरिएको पाण्डेले बताइन ।

त्यस्तै लगातार परेको वर्षाको कारणले बिहीबार  राती ९ बजे देखि अवरुद्ध भएको पूर्व पश्चिम राजमार्ग अझै खुल्न सकेको छैन । गैँडाकोट- ९ थुम्सीको २३ स्मृति पुल नजिकैको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो । डाइभर्सन मर्मत गरेर सडक खुलाउने प्रयास भए पनि कति बेला सम्म सडक सुचारु हुन्छ भन्न नसकिने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता मधुसूदन सिंहले बताए ।  त्यसै गरी पूर्व पश्चिम राजमार्गकै दाइउन्नेमा पहिरो गएर अवरुद्ध सडक पनि अझै सम्म खुलेको छैन । पहिरो हटाएर सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।  

अविरल वर्षा पछि आएको बाढीका कारणले जिल्लाका भित्री वडाहरू सदरमुकाम जोडने सडक सम्पर्क बाट विच्छेद्य भएका छन् । कावासोती नगरपालिकाको वडा नं. १६ डन्डा बजारबाट बभनौली हुँदै मध्य विन्दु नगरपालिकाको साबिक कोल्हुवा जोड्ने सडक बिहीबार राती पत्थरखोलामा आएको वाढीले  बगाउँदा सदरमुकाम आउने बाटो अवरुद्ध भएको छ । कावासोती-१७ गोरसतीको पत्थर खोलामा आएको बाढीले झोलुङ्गे पुल बगाएको छ भने त्रिभुवन बाल मावि ढोकीको मन्टेश्वरी भवनमा बाढी पस्दा १५ लाख बराबरको शैक्षिक तथा खेलकुद सामाग्री बगाएको छ ।

त्यसै गरी देवचुली नगरपालिका वडा नं ६ जोडने मुन्डे कीर्तिपुर सडक खण्डमा आधा दर्जन बढी स्थानमा पहिरो गएर सडक भत्किएको छ । सडक भत्किए सँगै बिजुलीका पोलहरू ढल्दा देव चुली-६ मा विद्युत् अवरुद्ध भएको वडा अध्यक्ष मीनबहादुर सोती मगरले बताए । 

लगातार परेको वर्षा सँगै आएको बाढीले जिल्लाका अधिकांश स्थानहरू डुबानमा परेका छन् । जिल्लाका मुख्य बजारहरू कावासोती  गैँडाकोट , दलदले जलमग्न भएका छन् । 

वर्षा पछिको बाढी पहिरोको कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ