arrow

कांग्रेस नेताहरु भन्छन्ः कांग्रेसभित्र नेतृत्व वा पुस्ता हस्तान्तरण हुन नसक्नु दुर्भाग्यपूर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ११ शुक्रबार
congress-lowas-rai.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले पार्टीभित्रका वैचारिक र सक्षम युवाहरुलाई योगदानका आधारमा उचित अवसर दिनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसका युवा नेता लाओस राईको अगुवाइमा शुक्रबार ललितपुरमा भएको भेलामा सहभागि नेताहरुले कांग्रेसभित्र नेतृत्व वा पुस्ता हस्तान्तरण गर्ने परिपाटीको विकास नहुँदा वैचारिक रुपमा सक्षम, सुदृढ र क्रियाशील युवाहरुले योगदानका आधारमा अवसर नपाएको गुनासो गरे ।

नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले पार्टीको नेतृत्व पंक्तीको कार्यशैली ठिक नहुँदा युवाहरुलाई विचार प्रदान गर्न असक्षम रहेको बताए । उनले भने,‘सम्पूर्ण भातृ संगठनहरु मृत सरह राख्ने, नीति बनाउन नसक्ने, युवा परिचालन गरेर संगठन सुदृढ गर्न नसक्दा युवाहरुमा उर्जा हराउने खतरा बढेको छ’, उनले अगाडि भने,‘नेतृत्वले सुझाव पनि ग्रहण नगर्ने र आलोचना पनि सहन नसकेका कारण पार्टीमा जागरण हराउँदै गएको छ । यस्तो बेला युवाहरु संगठित भएर बोल्नुपर्छ ।’

कांग्रेस महासमिति सदस्य तथा नेता मथुराप्रसाद घिमिरेले नेतृत्व तहका नेताहरुमा हुकुमी शासन कायम रहँदा पुस्ता हस्तान्तरण नभएको बताए । उनले भने,‘प्रतिस्पर्धा गर्न डराउने र विधि विधान अनुसार नचलेका कारण समस्या भइरहेको छ ।’ लोकतन्त्रमा पारदर्शीता आवश्यक रहेको भन्दै उनले पारदर्शिता र प्रतिस्पर्धा हुँदा मात्र पूर्ण लोकतन्त्रको अभ्यास हुने धारणा राखे । कांग्रेस नेता भरतलाल ङयाछेले अवसर पाइसकेका नेताहरुले पद छाड्न नसक्नु र पुस्ता हस्तान्तरण गर्न नसक्नु पार्टीका लागि दुर्भाग्यपूर्ण हुने बताए ।

भेलामार्फत ‘विचार डबली’ अभियान थालेका नेविसंघका पूर्वकेन्द्रीय सदस्य तथा कांग्रेस नेता लाओस राईले निर्माणका लागि बैचारिक विद्रोह आवश्यक रहेको औंल्याउँदै पार्टीको नेतृत्वले युवालाई उचित प्रयोग गर्नुपर्ने बताए । पार्टीको महाधिवेशन तत्कालिन आवश्यक्ता रहेको भन्दै उनले अग्रजहरुले अवसर नदिए पनि युवाहरु प्रतिस्पर्धामा उत्रिनुपर्ने बताए ।

नेविसंघका पूर्वकेन्द्रीय सदस्य सानुबाबु महर्जनले पार्टीमा रहेर काम गरेका युवाहरुलाई योगदानका आधारमा मूल्यांकन हुनुपर्ने भन्दै सिनियर र जुनियरका आधारमा विभेद गर्नु नहुने बताए । उनले भने,‘कोही पनि कार्यकर्तालाई टिम र व्यक्तिको ट्याग लगाएर विभेद गर्ने परिपार्टी तुरुन्त अन्त्य गर्नुपर्छ ।’

कांग्रेस भक्तपुर प्रदेश ‘क’का सभापति उद्धव खड्काले कांग्रेसका युवाहरुलाई नेतृत्वले प्रयोग मात्र गरिएको तर अवसर नदिएको बताए । उनले गुट र उपगुटका आधारमा कोही पनि युवालाई विभेद गर्न नहुने र क्षमता तथा योगदानका आधारमा अवसर दिनुपर्ने बताए । 

लोकतान्त्रिक इन्जिनियरिङ एसोसिएसनका महासचिब रोशनराज गिरीले पार्टी भित्र पुस्तान्तरण आवश्यक रहेको औंल्याउँदै परिर्वतन चाहनेहरुले प्रवृत्ति पनि परिवर्तन गर्नुपर्ने बताए । लोकतान्त्रिक इन्जिनियरिङ एसोसिएसनकै पूर्वमहासचिब विनोदप्रकाश पण्डितले पार्टीभित्र सबै पद प्राप्तीका लागि मात्र दौडिने तर वैचारिक क्षमता सुदृढ गर्न अघि नबढ्ने परिपाटीका कारण पार्टीलाई घाटा भइरहेको बताए ।

नेविसंघ धादिङका पूर्व सभापति सेतेमान तामाङले संगठन कब्जा गर्ने परिपार्टीले कार्यकर्ताहरुको सरक्षण नभएको र पार्टी गतिहिन र योजनविहीन बन्दै गएको दुखेसो गरे । भेलामा राष्ट्रिय मगर संघका केन्द्रीय सदस्य राम बहादुर थापा, विद्यार्थी नेता सुदर्शन शर्मा, ध्रुवलाल गैरे, गोपाल पौड्याललगायतले युवाहरुको सहभागिता बिना कांग्रेस सुदृढ हुन नसक्ने धारणा राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ