arrow

हेटौँडाका स्कुल भित्र एमाले कार्यकर्ताको भेला र बैठक !

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ भदौ १३ आइतबार
uml-karyakarta.jpg

हेटौँडा । हेटौँडाका विभिन्न विद्यालयमा नेकपा एमालेका भातृ सङ्गठनहरूले राजनीतिक कार्यक्रम गर्ने गरेका छन् । नेकपा एमाले निकट अखिल नेपाल महिला (अनेम) सङ्घ मकवानपुरले हेटौँडाका विभिन्न वडामा रहेका विद्यालयमा बैठक तथा कार्यक्रम गर्ने गरेको पाइएको छ ।

कोरोना सङ्क्रमणका कारण लामो समय देखी जिल्लामा सम्पूर्ण शैक्षिक संस्थाहरू ठप्प छन् । सङ्क्रमण फैलिने भन्दै जिल्ला प्रशासन कार्यालयले शैक्षिक संस्था सञ्चालनको अनुमति दिएको छैन । तर विद्यालयको कक्षा कोठामा एमाले कार्यकर्ताहरूले भिडभाड जम्मा पार्दै कार्यक्रम गरिरहेका छन् । कुनै पनि स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई विद्यार्थी पढ्ने कक्षा कोठा भित्रै अनेम सङ्घ मकवानपुरले वडा कमिटी बैठक तथा भेला आयोजना गरिरहेको छ । अनेम सङ्घ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेकै उपस्थितिमा स्कुलको कक्षा कोठामा एमालेको वडा स्तरीय विविध कार्यक्रम गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध पनि भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले अहिले केही व्यवसाय बाहेक अन्य सबै व्यवसाय सञ्चालन गर्न छुट दिएको छ । प्रशासनले बिहानदेखि बेलुकासम्म नै पसल सञ्चालन गर्न पाइने भनेको छ । तर शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र), सिनेमा हल, सार्वजनिक पुस्तकालय, स्पा, सैलुन तथा ब्युटी पार्लर, स्विमिङ पुल, जिम खाना लगायत हेल्थ क्लब, स्ट्रिट फुड पसल, फुटसल पूर्ण रूपमा बन्द राख्नुपर्ने सिडिओको आदेश छ ।

यस्ता व्यवसाय अनुमति बिना खोलेको प्रशासनले भेट्टाए सधैका लागी बन्द गरिदिने प्रशासनको चेतावनी छ । 

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय तथा अन्य शैक्षिक संस्था खोल्नुपर्ने चौतर्फी आवाज पनि उठिरहेको छ । बजार र प्राय सम्पूर्ण व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आउँदा भिडभाड नहुने तर सीमित विद्यार्थी राखेर अध्ययन अध्यापन गराउँदा भने कोरोका फैलने भनी प्रशासनले अव्यवहारिक निर्णय गरेको भन्दै जिल्ला प्रशासनले गरेको निर्णयको आलोचना समेत भइरहेको छ । तर प्रशासनले भने अन्य सबै व्यवसायलाई सञ्चालन अनुमति दिई शैक्षिक क्षेत्र भने बन्द नै गर्नुपर्ने निर्णय गरेको छ ।

त्यति मात्र होइन कहिदिन अघि हेटौँडाका २ निजी विद्यालयलाई त प्रशासनले विद्यार्थीलाई विद्यालय बोलाएको भन्दै १०-१० हजार जरिवाना नै तिराएको थियो ।

कोरोनाको त्रास कायमै नै छ भनी सम्पूर्ण शैक्षिक संस्था ठप्प राख्ने प्रशासनले अहिले विभिन्न राजनीतिक पार्टीका सभा, कार्यक्रम, बैठकले विद्यालय भरिभराउ हुँदा भने देखे नदेखेझैँ गरिरहेको छ । अर्को तर्फ विद्यालय जस्तो शान्त क्षेत्रमा पार्टीका कार्यक्रम गरी भिडभाड जम्मा पार्दासमेत जिल्ला प्रशासन कार्यालय मौन छ । उता विद्यालय र यहाँका ट्युसन सेन्टरलगायतका संस्था सञ्चालन गर्न भने कोरोना फैलन सक्ने भन्दै बन्द नै राख्ने निर्णय गरिएको छ ।

कहिदिन अघि नेकपा एमालेको भातृ सङ्गठन युवा सङ्घको जिल्ला भेला गरेको थियो । हेटौँडामा भएको भेलामा सयौँको सहभागिता थियो । प्रमुख अतिथि निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नै उपस्थित थिए । उक्त कार्यक्रम प्रशासनले देखे नदेखेझैँ गर्‍यो ।

अर्को दिन नेपाली काँग्रेस मकवानपुरले पनि ठुलै कार्यक्रम गर्‍यो । विभिन्न पार्टी परित्याग गरी पार्टीमा प्रवेश गर्नेका लागि स्वागत कार्यक्रम विभिन्न स्थानमा चलाइरहेको छ । तर यस्ता कार्यक्रम प्रशासनले देख्दैन । 

केही व्यवसायबाहेक अन्य व्यवसाय बिहानैदेखि खुल्ला छन् । हेटौँडा बजार कोरोनाको कहर सुरु हुनुभन्दा पहिला जस्तो थियो त्यस्तै नै छ । केही फरक छैन । यातायातका सार्वजनिक सवारीमा कोचाकोच यात्रु हुन्छन् । बजारमा हरेक ठाउँमा भिडभाड छदै नै छ । बैङ्कमा लाइन बस्नुपर्ने बाध्यता उस्तै छ । सरकारी कार्यालयमा सेवाग्राहीहरूको भिड उस्तै देखिन्छ । तर विद्यालय, कलेज, ट्युसन सेन्टर,सैलुन तथा ब्युटी पार्लर जस्ता ठाउँबाट मात्र कोरोना फैलने जस्तै गरी प्रशासनले निर्णय गरेको छ । प्रशासनको यस्तो निर्णय अव्यवहारिक भएको भन्दै चौतर्फी विरोधसमेत भइरहेको छ ।

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण 
विद्यालयमा राजनैतिक दलको कार्यक्रम भएको र सामाजिक सञ्जालमा यसको विरोध भएपछि शिक्षा विकास तथा समन्वय इकाई हेटौँडाले यस प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै समन्वय इकाईले गैर शैक्षिक कार्यक्रम सञ्चालनका लागि विद्यालय भवन उपलब्ध नगराउनु भन्दै सचेत गराएको छ ।

इकाई प्रमुख प्रेमराज खरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, " एक विद्यालयको बाल विकास कक्षमा कोभिड १९ को मापदण्ड समेत पालन नगरी राजनीतिक दल सम्बद्ध कार्यक्रम सञ्चालन गरेको सम्बन्धमा फोटो समेत संलग्न गरी सामाजिक सञ्जालमा पोस्ट गरिएको विषयवस्तु प्रति यस कार्यालयको ध्यान आकृष्ट भएको छ, विद्यालयलाई शान्ति क्षेत्रको रूपमा परिभाषित गरिएको साथै विद्यालयमा शिक्षण सिकाई लाई प्रवर्धन गर्ने तथा अतिरिक्त क्रियाकलापका गतिविधि तथा सरकारलाई आवश्यक परेको सममयमा विद्यालयका भौतिक संरचनाको उपयोग गर्ने बाहेकका राजनीतिक दल सम्बद्ध कार्यक्रमहरू विद्यालयमा सञ्चालन गर्दा जनमानसमा समेत सार्वजनिक संस्था प्रति नकारात्मक सन्देश जाने भएकोले उक्त कार्यहरूमा विद्यालय भवन उपलब्ध नगराउन हुन अनुरोध गर्दछु" ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ