- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस भित्र महाधिवेशनको सरगर्मी बढेको छ । काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया १८ भदौबाट सुरु हुँदै छ । महाधिवेशनको प्रक्रिया सुरु हुने दिन नजिंकिंदै गर्दा काँग्रेसको वडादेखि केन्द्रीय तहसम्म उम्मेदवारका आकाङ्क्षीहरू खुल्न थालेका छन् ।
यस पटक पनि अघिल्ला महाधिवेशनमा जस्तै काँग्रेसबाट महाधिवेशनको मैदानमा पार्टी भित्रको गुट अनुसार नै प्रतिस्पर्धा हुने वातावरण बन्दै गइरहेको छ ।
काँग्रेसको संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा आफैँ फेरी पनि मैदानमा उत्रने तयारीमा छन् । सो समूहबाट हालका उपसभापति विमलेन्द्र निधि पनि सभापतिमा दाबी गर्दै औपचारिक घोषणासहित महाधिवेशनको मैदानमा होमिएका छन् ।
यस्तै काँग्रेस भित्रको संस्थापन इतर मानिएका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह पनि आफ्नो समूहबाट साझा उम्मेदवारको खोजीमा छन् । सो समूहको बैठक अहिले पौडेल निवास बोहोराटारमा जारी छ । पौडेल समूहबाट वरिष्ठ नेता पौडेल आफैँ सभापतिका आकाङ्क्षी हुन् ।
यस्तै महामन्त्री डा. शशाङ्क कोइराला पनि सभापतिका आकाङ्क्षी हुन् भने पूर्व महामन्त्री प्रकाशमान सिंह पनि सभापतिका आकाङ्क्षी हुन् ।
यसै गरी नेता डा. शेखर कोइरालाले पनि यस पटक सभापतिमा आफू अघि बढ्ने बताउँदै आइरहेका छन् भने नेता अर्जुननरसिंह केसीले पनि मैदानमा उत्रने दाबी गर्दै आइरहेका छन् । अहिले जारी बैठकमा आकाङ्क्षी सबै नेताहरू सहभागी रहेको एक नेताले जानकारी दिए ।
यसै गरी १३औँ महाधिवेशनबाट काँग्रेस भित्र तेस्रो धारको स्थापना गर्दै सभापतिमा उम्मेदवारी दिएका नेता कृष्णप्रसाद सिटौलाले पनि यस पटक पुनः सभापतिमा उम्मेदवारी दिने बताइन्छ । उनले यस पटक सिङ्गो टिम नै बनाएर उम्मेदवारी दिने दाबी गर्दै आइरहेका छन् ।
सो समूहबाट यसअघि महामन्त्रीमा उम्मेदवार बनेका नेता गगन थापाले सोमबार मात्रै महामन्त्री पदका लागि आफू उम्मेदवार बन्ने भन्दै घोषणा गरेका छन् ।
कतिपय नेताहरूले महाधिवेशनका लागि तयारी स्वरूप सम्पर्क कार्यालयसमेत स्थापना गरिसकेका छन् ।
निर्धारित कार्यतालिका अनुसार काँग्रेसको गाउँ/नगर अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।
यसै गरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुँदै छ ।