arrow

कांग्रेस महाधिवेशनः बुधबार थप जिल्लाका क्रियाशील सदस्यहरुको नामावली आउँदै, छपाई कार्य धमाधम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
nepali-congress-flag.jpg_1618043342.jpeg

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यहरुको नामावली धमाधम छापेर जिल्लाजिल्लामा पठाउने क्रम जारी रहेको पार्टी कार्यालयले जनाएको छ । पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबारसम्म ६२ देखि ६३ जिल्लाको नामावली छापेर सम्बन्धित जिल्लामा पठाइसकिने बताएका छन् । 

विभिन्न जिल्लामा एक दुई स्थानका कारणले गर्दा समस्या भएको र यसको समाधान एक दुई दिनमै भइसक्ने दाबी गरिएको छ । मोरङको कानेपोखरीका कारणले, काठमाडौंको बौद्धको कारणले तथा कैलालीको टीकापुरका कारणले गर्दा समस्या समाधान भएर छपाई प्रक्रियामा जान सकेको छैन । 

यद्यपि बुधबारसम्म ६२–६३ जिल्लाको नामावली छापेर सम्बन्धित जिल्लामा पठाइसकिने पौडेलले बताए । मंगलबारसम्म ५६ जिल्लाका क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक भइसकेको छ । पौडेलका अनुसार बुधबार थप ६–७ वटा जिल्लाको नामावली सार्वजनिक हुनेछ । सँगसँगै छपाई प्रक्रिया पूरा गरेर जिल्लामा पठाइने छ । 

यसअघि मंगलबार केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्य सम्पन्न गरेका थप तीन जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो । यसअघि कांग्रेसले यही भदौ १० गते ३८ जिल्ला, ११ गते १० जिल्ला र १२ गते पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, २०७८ को दफा १ (ख) बमोजिम मंगलबार सुनसरी, मकवानपुर र बागलुङको क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो ।

क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतहरूलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यता नामावली भदौ १८ गतेसम्म प्रकाशित भइसक्ने पार्टी कार्यालयले जनाएको छ । वडा अधिवेशन १८ गते गर्ने भनिए पनि उक्त दिन नै अधिवेशन हुने सम्भावना भने कम रहेको बताइन्छ । केही दिन पर सार्ने बारेमा छलफल भइरहेको पार्टी कार्यालय स्रोतले बताएको छ ।  

नवीकरण र नयाँ गरी करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ–नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ ।

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँ–नगर वडा अधिवेशन यही भदौ १८ गते (यो मितिमा केही दिन हेरफेर हुने सम्भावना), गाउँ–नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन(एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।

वडा अधिवेशन तीनदेखि चार दिन पछाडि धकेल्ने योजना रहेको बताइन्छ । यदि त्यसो भएका खण्डमा गाउँ–नगरपालिका अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन पनि केही दिन सर्नेछ । 

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ । 

अन्य तालिकामा केही दिन तलमाथि हुने भए पनि केन्द्रीय महाधिवेशन भने समयमै गर्नेमा कांग्रेस एकमत छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ