arrow

गाउँ गाउँमा कांग्रेस महाधिवेशनको रौनक, जिल्ला बाहिर रहेका नेताहरु गाउँ पुग्न थाले

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
Congress-convention-14-nepa.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको सरगर्मी बढेको छ । वडा तहको निर्वाचन भदौ १८ गते नै गर्ने निश्चित भएपछि गाउँ गाउँमा कांग्रेस कार्यकर्ताहरुको चहलपहल बढेको हो ।

लामो समयदेखि जिल्ला बाहिर रहेका कांग्रेसका केन्द्रीयस्तरका नेता अहिले जिल्ला आइपुगेपछि यहाँ चहलपहल बढेको हो । केन्द्रीयस्तरका नेताले आफ्ना कार्यकर्तासँगको भेटघाट र छलफल बाक्लिन थालेको छ ।

पार्टीको महाधिवेशनको मिति पटकपटक सर्ने गरेकामा धेरैलाई महाधिवेशन हुँदैन कि भन्ने आशङ्का भए पनि अब भने महाधिवेशन हुनेमा सबै ढुक्क देखिएका छन् ।

पार्टीले यही भदौ १८ गते वडाको अधिवेशन गर्ने सुनिश्चित गरेपछि जिल्लामा चुनावी रौनक एक्कासी तातेको दिपायल सिलगढी नगरपालिकाका पूर्वनगरप्रमुख तथा कांग्रेस नेता घनश्याम पाठकले बताए ।

उनले भने, “महाधिवेशन हुँदैन कि भन्ने कुराले कार्यकर्तामा निरासा थियो, अब हुने निश्चित भएपछि नेताहरु पनि जिल्ला आएका छन्, चहलपहल पनि बढेको छ भने कार्यकर्तामा खुशीयाली छाएको छ ।”

वडाको अधिवेशन आउन अब चार दिन बाँकी रहेको हुनाले पनि जिल्लामा हतारहतारमा भेला र छलफल हुन थालेको कांग्रेस युवानेता तथा केआइसिंह गाउँपालिकाका स्थानीयवासी पदम रावलले बताए । जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्ला, राजपुरलगायतका ठाउँमा अहिले प्रायः काग्रेस नेता तथा कार्यकर्तामात्रै देखिने गरेका छन् ।

जिल्ला पार्टी सभापति प्रदीपकुमार देउवाले वडासमितिको बैठक डाकेर महाधिवेशनको तयारी सुरु भएको जानकारी गाराउनु भएसँगै कांग्रेस अधिवेशनले चर्चा पाएको हो । पछिल्लो समय यहाँका नौवटै स्थानीय तहमा रहेका कांग्रेस नेताहरुले आगामी महाधिवेशनका बारेमा क्रियाशील सदस्यबीच छलफल गर्न सुरु गरेका छन् ।

वडा अधिवेशनका लागि मात्रै भए पनि जिल्लामा खासै देखा नपर्ने नेताहरू अहिले जिल्लामा आएका शिखर नगरपालिका–१ का दीपकबहादुर बोगटीले जानकारी दिए ।

जिल्लाका नौवटै स्थानीय तहका सबै वडामा कांग्रेसको महाधिवेशनको तयारी सुरु भएको पार्टीका पूर्वसभापति वीरबहादुर बलायरले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै स्थानीय तहका गाउँ कमिटीमा सहमति गरेरै नेतृत्व चयन गरिने योजना रहेको छ ।

वडागतरूपमा छानिने पदाधिकारी र जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि चयन गर्नेबारेमा अहिले गाउँमा छलफल सुरु भएको नेविसङ्घका पूर्वअध्यक्ष तथा युवानेता सोपानसिंह बोहराले बताए ।

कांग्रेस महाधिवेशनका लागि केन्द्रले जिल्ला निर्वाचन अधिकारीसमेत तोकिसकेको छ । केन्द्रले निर्वाचनका लागि पठाएका आवश्यक कागजात तथा सामग्री जिल्लामा आउँदै गरेको पार्टी कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ