arrow

कांग्रेसको वडा अधिवेशन १८-२३ भित्रः पालिका अधिवेशन २७ देखि २९ सम्म

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १६ बुधबार
Congress-convention-14-nepa.jpg

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया पर्सि शुक्रबारबाट सुरु हुँदैछ । तर सबै जिल्लाका क्रियाशील सदस्यता एकै पटक सार्वजनिक नहुँदा वडा अधिवेशन भने फरक फरक दिनमा हुने भएको छ ।

कांग्रेसले विधान अनुसार सबैभन्दा तल्लो तहको संरचना अन्तर्गत पर्ने वडा तहको अधिवेशन १८ भदैबाट शुरु गरेर २३ गते भित्र सक्ने गरी तयारी गरेको छ । यसअघि केन्द्रीय समिति बैठकले तोकेको कार्यतालिका अनुसार भने १८ भदौमा नै वडा अधिवेशन हुने उल्लेख छ ।

तर केही जिल्लाका सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेकाले अधिवेशनको मिति पनि एक दुई दिन हेरफेर हुने भएको हो । जिल्लामा हुने निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने छन् ।

कांग्रेस नेता मीन विश्वकर्माले १८ गतेबाट शुरु गरेर २३ गतेसम्मममा वडा अधिवेशन सक्न र २७ गतेबाट शुरु हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको जानकारी दिए ।

‘१८ गतेबाट शुरु गरेर २३ गतेसम्मममा वडा अधिवेशन सक्न र २७ गतेबाट शुरु हुने पालिका तहका अधिवेशन ढिलामा २९ गतेसम्म सक्न निर्देशन भएको छ, सदस्यता टुंगिएर विवरण पुगेका जिल्लामा धमाधम अधिवेशन शुरु हुन्छ,’ नेता विश्वकर्माले हाम्राकुरासँग भने ।

कांग्रेसले हालसम्म ५६ जिल्लाको क्रियाशिल सदस्यहरुको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको छ भने बाँकी २१ जिल्ला मध्ये केही जिल्लाको आज बुधबार सार्वजनिक गर्दै छ । यसैगरी आज सार्वजनिक गरेर केही बाँकी रहने जिल्लाको सदस्यता भने १८ गते अघि नै सार्वजनिक गरिने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले जानकारी दिएका छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका, २०७८ को दफा १ (ख) बमोजिम मंगलबार सुनसरी, मकवानपुर र बागलुङ जिल्लाको क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको थियो ।

क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक यादवले जानकारी दिए । यसअघि कांग्रेसले १० भदौमा ३८ जिल्ला, ११ भदौमा १० जिल्ला र १२ गते पाँच जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो ।

निर्धारित कार्यतालिका अनुसार कांग्रेसको वडा अधिवेशन १८ भदौ, गाउँ/नगर अधिवेशन २७ भदौ, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख छ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिकदेखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुने उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ