- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
घरको जग हाल्ने साइत उत्सव हो, चाड हो । नेपाली कांग्रेसको चौधौं महाधिवेशनको लागि वडा अधिवेशनको साइत यही भदौ १८ गतेलाई जुरेको छ । ठूलो परिवार बस्ने ठूलै घरको जग लगभग सप्ताहव्यापी रुपमा सम्पन्न हुने आँकलन छ । ६७४३ वार्ड तहको नेतृत्वको चयन नेपाली कांग्रेसको जीवनसँग जोडिएको छ ।
सफल हुने किसानले ब्याड राख्दा उन्नत जातको बीउ चयन गरिन्छ । जसरी मंसिरको भकारी भरीको धान जेठमा राखिने बीउले निर्धारित हुन्छ । त्यसरी नै असल र सबल नेपाली कांग्रेस निर्माणको बलियो जग वडा तहको नेतृत्व नै हो । नागरिक तहमा नूर नगिराइ आँखा जुधाएर सामाजिक संवाद गर्न सक्ने नैतिक बल भएको नेतृत्वको चयनले मात्र नेपाली कांग्रेस मजबुत हुन्छ ।
आज, हिजोको परिणाम र भोलिको सूचक हो । व्यक्तिगत उद्धेश्य प्राप्तिको लागि निरन्तर मेहनत चाहिन्छ । एउटा व्यक्ति योग्य डाक्टर, वकिल, गुरु, व्यापारी, कलाकर्मी, पत्रकार, खेलाडी आदि बन्न पनि अनुशासित लगाव चाहिन्छ । व्यक्तिको व्यक्तिगत व्यक्तित्व निर्माणको निर्णय व्यक्ति स्वयंमा निर्धारित हुन्छ । राजनीति सामूहिक यात्रा भएकोले राजनीतिक सफलताको लागि अनुशासन र निर्णय प्रकृयामा सामूहिक सहभागीता अनिवार्य रुपमा चाहिन्छ ।
लाद्ने, झुक्याउने, अपमानित गर्ने, बहुमतको दम्भ प्रदर्शन गर्ने आदि जस्ता कार्यले मानिसको स्वाभिमानमा चोट लाग्छ । शरीरको घाउ औषधोपचारले ठीक हुन्छ । मनको घाउको दीर्घकालीन नकारात्मक प्रभाव रहिरहन्छ । नकारात्मक प्रभावको परिणाम सकारात्मक हुँदैन । तसर्थ हाम्रो तहगत अधिवेशन फाटेको मन जोड्नको लागि हुनु पर्दछ। अधिवेशनको नाममा जुट्नु पर्ने मन फाट्यो भने वर्ष भरिको लागि गाईवस्तुलाई खुवाउनको लागि जोहो गरेको परालको कुन्यूँमा आफैले आगो सल्काए जस्तो हुन्छ ।
नेपालको सन्दर्भमा निष्ठा, आदर्शबाट प्रेरित भएर गरिने राजनीति दिनानुदिन कुपोषणबाट ग्रसित छ । बाहुबल, धन, आफन्तजन र गुटको प्रभाव राजनीतिक सफलताको लागि साधन बनेको छ । सिद्धान्तको आधारमा निर्माण भएको गुटलाई स्वभाविक मान्न पनि सकिन्छ । तर हाम्रो विडम्बना, नेपाली राजनीति गुटले मात्र नभई गिरोहले सञ्चालित हुन थाल्यो । राजनीतिमार्फत राष्ट्र निर्माण अर्थात् मानवीय जीवनको बहुआयामिक पाटाहरु शिक्षा, स्वास्थ्य, रोजगारी, विकास निर्माण आदि सहज गर्ने स्वप्नद्रष्टाहरु नेतृत्वमा पुग्नुपर्छ ।
यसको ठीक विपरीत राजनीतिलाई कमाउ धन्दाको इजाजतपत्रको रूपमा प्रयोगमा ल्याउने चरित्र यो वा त्यो गुटको नाममा नेतृत्वमा पुग्नु दुर्भाग्यपूर्ण हुन्छ । नेतृत्व दियो जस्तो प्रकाशदायी हुनुपर्छ । दियोको प्रकाशमा पढ्न पनि सकिन्छ । उज्यालो प्रदान गर्ने नाममा डढेलो लगाउने नेतृत्वले इज्जतको खरानी त बनाउँछ नै, डढेलोको प्रकाशमा अध्ययन गर्न पनि सकिन्न । नभुलौं, हामी जन्मिदा जिब्रो सँगै थियो । दाँत पछि उम्रिएको हो । दाँतको स्वभाव कडा हुन्छ । तसर्थ अधिकांश जीवन सकिनुअघि दाँत झरिसक्छ । नरम जिब्रो जन्मदेखि कहिल्यै छुटिँदैन ।
उमेरगत हिसाबमा एउटा परिवारमा तीन पुस्ता रहन्छन् । परिवार मूलतः हजुरबुबा–हजुरआमा पुस्ता, बुबा–आमा पुस्ता र छोराछोरी वा नातिनातिना पुस्ताहरुको संगमस्थल हो । जसरी नयाँ पुस्ताले पाका पुस्ताको अनुभवको कदर वा सम्मान र पाका पुस्ताले नयाँ पुस्तालाई गर्ने विश्वास र जिम्मेवारी हस्तान्तरणमा परिवार चलेको हुन्छ । त्यसैगरी ठूलो परिवार नेपाली कांग्रेस सञ्चालनको विधि पनि तय हुनुपर्छ । ओगटेर बस्ने तर कर्म नगर्ने र अनुभवी ज्येष्ठ पुस्तालाई डोकोमा हालेर भिरबाट फालिदिने संस्कार नयाँ पुस्तामा हस्तान्तरण हुनुहुँदैन ।
नेपाली कांग्रेसको भ्रातृ र शुभेच्छुक संस्थाहरुको महाधिवेशन नभएको वर्षदेखि दशकौं वर्ष भइसक्यो । राजनीतिक जिम्मेवारीसहित सामाजिक कर्ममा होमिने जाँगरहरु निराशाको कम्मलले छोपिएको छ । यसैबीचमा नेपाली कांग्रेसको तहगत अधिवेशन जिम्मेवारी प्राप्त गर्ने अवसरको रुपमा आएको छ । साथीहरुले जिम्मेवारी प्राप्त गर्न गरेको प्रयास स्वभाविक छ । विधानले पनि प्रशस्त जिम्मेवारीका स्थानहरु तय गरेको छ ।
गुटको आँखाले मात्र हेर्दा पदहरु नपुग्लान् । फराकिलो दृष्टिमा उपलब्ध पदहरु राजनीतिक चेतना र संस्कार बोकेका साथीहरु अटाउने प्रशस्त स्थानहरु छन् । प्रधानमन्त्री पद आफ्नो साथीलाई हस्तान्तरण गर्ने लौह पुरुष गणेशमान सिंहको चरित्रको स्मरणले मात्र पनि हाम्रा समस्याहरु समाधान हुने सूत्र बन्न सक्छ । फेरि पनि पद प्राविधिक विषय हो । तर राजनीतिक संस्कार कहिल्यै हार्दैन ।