- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका पौडेल समूहका आगामी सभापतिका आकांक्षीले बिहीबार संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । पार्टीको १४ औं महाधिवेशनको वडा अधिवेशन शुक्रबारदेखि शुरु हुँदै गर्दा अहिलेसम्म आफूहरुका तर्फबाट एकल उम्मेदवारीका लागि गरेको प्रयास सफल हुन नसकेपछि चारै जना आकांक्षीहरुले संयुक्तरुपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पौडेल–कोइराला समूहका चार आकांक्षीहरु वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला तथा केन्द्रीय सदस्यद्धय डा। शेखर कोइराला र प्रकाशमान सिंहले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
उनीहरुले संयुक्त पत्रकार सम्मेलनमार्फत आफूहरु एक भएको सन्देश दिन खोजिरहेका छन् । केही दिनदेखि उनीहरुले सभापतिका लागि एकल उम्मेदवारीको लागि नियमित रुपमा छलफलमा बसे पनि निचोड निकाल्न सकेका छैनन् ।
उनीहरुले वडा तहदेखि नै आफूहरु एक भएको सन्देश दिँदै गए नेतृत्व नै आफूहरुमा रहने निष्कर्ष निकाल्दै उनीहरु निरन्तर प्रयासमा छन् । तर शुक्रबारदेखि वडा अधिवेशन नै हुने भएकाले उनीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै १४ औं महाधिवेशनको अन्तिम चरणमा आफूहरुमध्ये एक जनामात्र उम्मेदवार हुनेमा विश्वस्त दिलाउन उनीहरुले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पत्रकार सम्मेलन दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनपम फुडल्याण्डमा हुने बताइएको छ । महाधिवेशनमा एकल उम्मेदवारी दिएमात्र अबको नेतृत्व सम्हाल्न सकिनेमा पौडेल पक्ष आशावादी छ ।
यता नेतृत्वका लागि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः दोहोरिने बताइसकेका छन् । उनकै समूहबाट छुट्टिएर विमलेन्द्र निधीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
१३ औं महाधिवेशनका सभापतिका उम्मेदवार कृष्णप्रसाद सिटौला पनि सभापतिका दावेदार उम्मेदवार हुन् ।
त्यस्तै युवा नेता कल्याण गुरुङले बुधबार मात्रै उम्मेदवारी घोषणा गरेका छन् । पौडेल समूहबाट पहिले चार जनाभन्दा धेरैको नाम आएको भए पनि अन्तिममा आएर चार जनाको दावेदारी समूहभित्र परेको हो । यो समूहभित्रको दावेदारी पनि आफूहरुको आन्तरिक सहमतिमा एकल उम्मेदवारी पर्नेमा नेताहरु विश्वस्त छन् ।
सोही विश्वास दिलाउँदै उत्साहजनक रुपमा १४ औं महाधिवेशन सफल पार्नका लागि नेताहरुले सन्देश दिन पत्रकार सम्मेलन गर्दैछन् ।