arrow

स्मार्ट सिटी: रहर वा वास्तविकता ?

के तपाईँको क्षेत्रको राजनैतिक नेताले तपाईँको शहरलाई पनि स्मार्ट बनाउँछु भनेका थिए?

logo
सरोज पाण्डे,
प्रकाशित २०७८ भदौ १७ बिहिबार
Article-saroj-ICT.jpg

नेपालमा केही वर्ष पहिला चुनाव ताका एउटा शब्दले निकै चर्चा पायो। जानिबुझी वा केवल एक रहरको रूपमा, मुख्यतः राजनैतिक वृत्तका सबैले यो शब्दलाई खुबै रुचाए अनि सयौँ पटक प्रयोग पनि गरे। सो शब्द चुनावी घोषणापत्रमा राख्नै पर्ने एक विषय बन्यो। हो, त्यो शब्द थियो - 'स्मार्ट सिटी'।

के यो केवल कुरा गर्नको लागी मात्र प्रयोग गरिएको फेसन हो वा नागरिकहरूको जीवनस्तरको उन्नयनमा यसको केही महत्त्व छ? के तपाईँको क्षेत्रको राजनैतिक नेताले तपाईँको शहरलाई पनि स्मार्ट बनाउँछु भनेका थिए? भनेका थिए र सो कुरामा विश्वास लाग्छ भने, तपाईँलाई भविष्यमा स्वागत छ।

प्रविधिको विकाससँगै हाम्रो जीवनशैली पनि परिवर्तन भएको छ। इन्टरनेट आधारभूत आवश्यकताहरू मध्ये एक भएको छ। स्मार्ट उपकरणहरू अब देखाउनका लागि मात्रका चीजहरू नभई ती त दैनिक गतिविधिहरू सञ्चालन गर्नको लागि आधारभूत आवश्यकता बनेका छन्। स्मार्टफोन र इन्टरनेट, कल गर्न वा केही जानकारी प्राप्त गर्नका लागी मात्र प्रयोग भइरहेका छैनन्। तपाईँलाई आएको फोन कल, सन्देश, साथीको जन्मदिन वा तपाईँको मन पर्ने टोलीको खेलको जानकारी आदि कुराहरू स्मार्ट घडीले दिन थालेका छन्।

स्मार्ट सिटी के हो?

विश्वका विभिन्न सहरका उदाहरण सुन्दा विज्ञानको कथा सुने जस्तो लागे पनि स्मार्ट सिटीको परिभाषालाई तिनीहरूले जीवन्त पार्दै गइरहेका छन्। घरको वा सडकको बत्ती बाल्ने निभाउने स्विचलाई सेन्सरले प्रतिस्थापित गर्दै छ। सार्वजनिक स्थानहरूको सफाइ निगरानी क्यामेरा मार्फत भइरहेको छ। सवारी साधनहरूको स्थान र अवस्थाको जानकारी स्मार्ट तरिकाले गर्न थालिएको छ। सिंगापुरमा ऊर्जा उपयोग, फोहोर व्यवस्थापन र वास्तविक समयमा पानीको उपयोगको निगरानीका लागि स्मार्ट सिस्टम प्रयोग भइरहेको छ। अमेरिकाको कान्सास शहरमा स्मार्ट सडक बत्ती जोडिएका छन् साथै सवारी पार्किङ गरिने ठाउँको विवरण, यातायात प्रवाह मापनको डाटा दृश्य अनुप्रयोगको एप्लिकेसनको माध्यम बाट शहरका बासिन्दाहरूका लागि उपलब्ध गराइएका छन्। दुबईको ट्राफिक निगरानी र व्यवस्थापन प्रणाली उत्कृष्ट मानिएको छ। स्पेनको, बार्सिलोनासँग स्मार्ट यातायात प्रणाली छ, बस स्टपहरूमा सित्तैमा वाई फाई र युएसबी चार्जिंङ्ग पोर्टहरू उपलब्ध छन्। तापमान, प्रदूषण, ध्वनि, आर्द्रता र वर्षालाई सेन्सरको उपयोग गरी मापन गरिएको छ। 

यी उदाहरणमा प्रस्तुत गरिएका लोभलाग्दो संरचनाहरू तपाईँको शहरमा छन् त? के तपाईँको शहरको सडक बत्ती तपाईँ सो बाटो नजिक पुग्दा आफै बल्छ? तपाईँ आज एक चलचित्र हेर्न जाँदै हुनुहुन्छ, के तपाईँ फिल्म हलको पार्किङ उपलब्ध छ कि छैन जाँच गर्न सक्नुहुन्छ? तपाईँको गाडीको इन्धन स्तर लाइन तल हुँदा नजिकै कुन इन्धन स्टेसन छ पत्ता लगाउन सक्नुहुन्छ? के तपाईँको शहरको ट्राफिक लाइटले सवारी चाप अनुसारको निर्णय दिन सक्छ? के खानेपानी संस्थानले ग्राहकको कुनै गुनासो भन्दा पहिले नै पानीको पाइप कहाँ बिग्रिएको छ भन्ने कुरा कार्यालयबाट नै भन्न सक्छ? सडक छेउ राखिएका फोहोरका कन्टेनर भरिएको कुरा नगरपालिकाले थाहा पाउँछ? तपाईँ आफ्नो स्मार्ट उपकरणहरू बाट शहर को ध्वनि र वायु प्रदूषण स्तर हेर्न सक्नुहुन्छ? मुख्यतः वर्षाको समयमा नदीको स्तरको जानकारी स्मार्ट उपकरणमार्फत हेर्न सकिने अवस्था छ? स्मार्ट उपकरण र एप्लिकेसन प्रयोग गरी सवारी कर तिर्न सक्नुहुन्छ? के सवारी चालकले राजमार्गको टोल सजिलै तिर्न सक्छन्? के बिजुली प्राधिकरणले आफ्नो कार्यालयबाटै तपाईँको घरमा उपयोग गरिएको विद्युतको मिटर पढ्न सक्छ?

स्मार्ट सिटी बन्ने प्रयासमा लागेका विश्वका शहरहरू 
प्रश्न अझ धेरै हुन सक्छन् तर माथि उल्लेख गरिएका प्रश्नहरूमा तपाईँले भन्ने प्राय उत्तर नकारात्मक नै हुन्छ। तर एक स्मार्ट शहरको नागरिकले उल्लेख गरिएका प्रश्नहरूमा सकारात्मक जवाफ दिन्छन्। विश्वभरमा केहि प्रसिद्ध स्मार्ट शहरहरु बार्सिलोना, एम्स्टर्डम, कोपेनहेगन, दुबई, सिंगापुर, टोकियो, हङकङ, सान फ्रान्सिस्को, शिकागो, न्यूयोर्क, डेनवर, बोस्टन, सियोल, सिडनी आदिका उदाहरण लोभलाग्दो छन् भने अन्य धेरै शहरहरुले स्मार्ट सिटीको पाइलट परियोजनाहरू सुरु गरेका छन् जसको लागि उनीहरूले आईटी कम्पनीहरू र वित्तीय साझेदारहरूसँग सम्झौता समेत गरेका छन्।

राम्रो सडक, राम्रा सवारी साधन, व्यवस्थित ट्राफिक लाइट, बिजुलीको प्रभावकारी प्रयोग, फोहोरको उचित व्यवस्थापन आदि कुराहरूले सुसज्जित ठाउँ एउटा शहर हो र सूचना र सञ्चार प्रणालीको एकीकृत प्रयोगले त्यस शहरलाई 'स्मार्ट शहर' बनाउँछ। यसो हेर्दा यो कुरा एउटा शहरको पदोन्नति हो तर यो सामान्य पदोन्नति भने पक्कै हैन। स्मार्ट शहरले स्मार्ट टेक्नोलोजी को मद्दत मार्फत आफ्ना नागरिकहरूको जीवनस्तर गुणस्तरीय बनाउने  उच्च लक्ष्य राख्छ। 'स्मार्ट सिटी' बन्न 'स्मार्ट नागरिकहरू'को भूमिका महत्त्वपूर्ण हुन्छ जसले  आफ्नो जीवनशैली, काम, र यात्रा विकल्पको बारेमा छनौट गर्न शहरको स्मार्ट प्रणालीले दिएको जानकारी नै प्रयोग गर्दछन्। 

स्मार्ट सिटीको परिभाषा
संयुक्त राष्ट्रसङ्घको आर्थिक र सामाजिक परिषद्को दृष्टिकोणमा, स्मार्ट शहरको एक मानकीकृत र सामान्यतया स्वीकार्य परिभाषा छैन, यो मान्छेबाट मान्छे र देशबाट देशमा फरक छ, जुन प्रविधिको विविधता र सो प्रविधि एकीकृत रूपमा प्रयोग गर्न सक्ने देशको क्षमतामा निर्भर हुन्छ।  विभिन्न व्यक्तिहरूद्वारा विविध रूपमा परिभाषित गरिएको भए पनि, आइसीटीसँग शहरको वर्तमान प्रणालीको संयोजन मार्फत नागरिकलाई सुलभताका साथ गुणस्तरीय सेवा प्रदान गर्नु नै स्मार्ट शहर विकासको मूल सिद्धान्त हो। स्मार्ट शहरमा नागरिकको जीवनस्तर उकास्नको लागि व्यापार, वातावरण, जीवनशैली, सुरक्षा, पानी आपूर्ति, ऊर्जा व्यवस्थापन, विद्युतीय शासन प्रणाली र नागरिक सहभागिता, गुणस्तरीय सञ्चार संयन्त्र, गुणस्तरीय स्वास्थ्य र शिक्षा, र व्यवस्थित यातायात सञ्जाल आदि जस्ता धेरै क्षेत्रहरूमा आइसीटी पूर्वाधारको उपयोग गर्नुपर्ने अपरिहार्य आवश्यकता हुन्छ।

एक अमेरिकी प्रविधि कम्पनी IBM ले स्मार्ट शहरलाई एउटा प्रणालीको रूपमा परिभाषित गर्दछ जसले सबै उपलब्ध र आपसमा जोडिएको जानकारीको उच्चतम उपयोग गर्दछ। त्यस्तै गरी, अर्को प्रविधि कम्पनी सिस्कोको परिभाषाले ती शहरहरुलाई स्मार्ट शहर मान्छ जसले सूचना र सञ्चार प्रविधिको उपयोग गरी दक्षता बढाउन, लागत घटाउन र जीवनको गुणस्तर बढाउन समाधानका उपायहरू अपनाउँदछन्।

वस्तुहरूको इन्टरनेट
स्मार्ट शहर कार्यान्वयनको महत्त्वपूर्ण पाटो भनेको ‘वस्तुहरूको इन्टरनेट’ (Internet of Things) हो जसलाई छोटो रूपमा 'आई ओ टी' (IoT) भन्ने गरिन्छ। IoT यस्तो अवधारणा हो, जसमा प्रत्येक उपकरणहरूमा उच्च स्तरीय सेन्सर जोडिएका हुन्छन् त त्यसले विभिन्न डाटा उत्पन्न गर्दछन्। ती भौतिक उपकरणहरू अन्य स्टेसनसँग सञ्चार गर्नका लागि पनि सक्षम हुन्छन्। उदाहरणको रूपमा सडक बत्तीलाई लिन सकिन्छ जसमा भएको मोसन र लाईट सेन्सरले स्वचालित रूपमा बत्ती बाल्ने र निभाउने गर्छ। जब अँध्यारो हुन्छ सेन्सरले सो कुरा थाहा पाएर बत्ती बाल्छ र उज्यालोमा आफै निभ्छ। मोसन सेन्सर जडित बत्ती छ भने पैदल यात्रीहरू नजिक र टाढा हुँदा आफै बल्ने निभ्ने गर्दछन्, जुन ऊर्जा व्यवस्थापनमा पनि महत्त्वपूर्ण छ। त्यसै गरी, फोहोर कन्टेनर सेन्सर जडित छ भने, सो कन्टेनर फोहोरले भरिएको जानकारी आफ्नो आधार सर्भरमा पठाउँछ र सो जानकारी पाएपछि फोहोर व्यवस्थापन टोली कन्टेनरको स्थानमा आउँछ र फोहोर ल्याण्डफिल साइटमा लैजान्छ जसले शहरमा स्वच्छ वातावरण कायम राख्न मद्दत गर्छ।

पार्किङमा जडित एकीकृत सेन्सरले त्यसको स्थिति निरन्तर अनुगमन गरी Mobile वा Web Application को माध्यमबाट सोधपुछ गर्ने सवारी चालकहरूलाई वास्तविक समयको पार्किङ स्थलको स्थितिको जानकारी प्रदान गर्छ। शक्तिशाली आइसिटी पूर्वाधार, ब्रोडब्याण्ड इन्टरनेट, सडक बत्तीको व्यवस्थापन, स्मार्ट फोहोर कन्टेनर, स्मार्ट ट्राफिक लाइट, प्रभावकारी सार्वजनिक यातायात, विद्युतीय सरकार, स्मार्ट पावर ग्रिड, स्मार्ट बिजुली र पानी मिटर, पानी र हावाको गुणस्तरको अनुगमन, बाढी, पहिरो वा अन्य प्रकोपको पूर्व जानकारी, ऊर्जाको नवीकरणीय स्रोतको उपयोग, स्मार्ट सडकहरू, बिजुली र स्वायत्त सवारी साधनहरू, इलेकट्रोनिक भुक्तानी प्रणाली, प्रभावकारी सुरक्षा र निगरानी आदि केही मोडेलहरू एक स्मार्ट शहरको त्यसको नागरिकहरूको गुणस्तर बढाउनको लागि अपरिहार्य छन्।

नेपालको दुरदर्शी सपना
नेपाल सरकारले काठमाण्डौं उपत्यका र देशका अन्य भागहरूमा स्मार्ट सिटी निर्माण गर्ने बताएको छ। तर एउटा राष्ट्र जसमा आधारभूत पूर्वाधारहरूको समेत अझै अभाव छ, यो एक दूरदर्शी सपना मात्र पनि हुन सक्छ। एक स्मार्ट शहर हाम्रो लागि आइसीटी विकासको एक बिलकुल नयाँ पक्ष हो। यस प्रकार, उच्च स्तरीय सेन्सर र शक्तिशाली पूर्वाधार निर्माण गर्दैमा एक प्रणाली स्मार्ट बन्दैन। दिगो तरीकाले यसको क्षमताको उपयोग एक ठुलो चिन्ताको विषय हो। स्मार्ट सिटीमा भएका अनुसन्धान र विशेषज्ञहरूको ग्लोबल विश्लेषणलाई मध्यनजर गर्दै देशको इतिहास तथा संस्कृति सुहाउँदो प्रणाली विकाश गर्नु आवश्यक छ किनकि हाम्रा धेरै जसो शहरहरु तिनीहरूको लामो इतिहास, धनी संस्कृति र विविध समुदायहरूको कारण लोकप्रिय छन्, त्यसैले सो ऐतिहासिक तथा सांस्कृतिक आधारलाई कदापि भत्कन दिन हुँदैन। 

नेपाल सरकार, शहरी विकास मन्त्रालयले स्मार्ट जनता, स्मार्ट शासन प्रणाली, स्मार्ट गतिशीलता, स्मार्ट अर्थव्यवस्था, स्मार्ट जीवनशैली र स्मार्ट वातावरण जस्ता स्मार्ट सहरहरूका विभिन्न आयामको पहिचान गरेको छ। समावेशीकरण, शिक्षा, रचनात्मक आदि स्मार्ट जनताका सूचक हुन्। त्यसै गरी स्मार्ट शासन प्रणालीमा अनलाइन सेवा उपलब्धता, आइसिटी पूर्वाधार, पारदर्शी सरकार र खुला डाटा सामेल हुन्छ। स्मार्ट गतिशीलताका सूचकहरू प्रभावकारी र पर्यावरण मैत्री सार्वजनिक यातायात, राजमार्ग टोल, पार्किङ र यातायात व्यवस्थापन, जिपिएस ट्र्याकिङ र रिमोट निगरानी प्रणाली आदि हुन्। समान रूपमा, स्मार्ट अर्थव्यवस्था अर्को महत्त्वपूर्ण सूचक हो जसले उद्यमशीलता, नवीनता, उत्पादकत्व र स्थानीय र वैश्विक सम्बन्धलाई ख्याल राख्छ। स्मार्ट जीवनशैलीले स्वास्थ्य, सुरक्षा, संस्कृति, र Well Being लाई समेट्छ। त्यसै गरी, स्मार्ट वातावरणले स्मार्ट भवनहरू, स्मार्ट सञ्चार प्रणाली, सिस्टम आउटेजलाई सम्बोधन गर्नको लागि स्वचालित नियन्त्रण प्रणाली, व्यवस्थित नवीकरणीय ऊर्जा स्रोतहरू, पुनर्नवीनीकरण ठोस फोहोर, स्मार्ट बिजुली र पानी को मिटर, दिगो शहरी योजना को साथमा विपद् लचिलापन योजना, र शहरका सम्पूर्ण जानकारीसहितको मार्गहरू र नक्सा पर्दछ।

एक स्मार्ट शहरको अन्तिम उद्देश्य बासिन्दाहरूलाई सुधारिएको सेवाहरू प्रदान गर्नु हो जसको लागि एक आपसमा जोडिएका र सूचना प्रविधिका बुद्धिमान कम्पोनेन्टहरूको भूमिका महत्त्वपूर्ण छन्। नेपाल जस्ता विकासशील राष्ट्रहरूको लागि आइसीटी पूर्वाधारमा लगानी गर्नु ठुलो चुनौती हुन सक्छ तर यो चुनौती कदम कदम प्रदर्शन गरेर कम गर्न सकिन्छ। विद्यमान प्रणालीलाई पूर्ण रूपले रूपान्तरण गर्नु रातारातको प्रक्रिया होइन। साना र कम बजेटका आइसीटी परियोजनाहरूबाट शुरू गरी सो परियोजनामा नयाँ सुविधाहरू थप गर्दै तिनीहरूको उचित संयोजनको विधि हाम्रो लागी उत्तम विकल्प देखिन्छ तर मानकीकरण र प्रणालीहरूको सब सिस्टम बीचको अन्तर प्रक्रिया भने व्यवस्थित हुनु पर्दछ।

दक्षिण कोरिया लगायतका देशले नेपालका केही शहरहरुलाई स्मार्ट शहरमा रूपान्तरण गर्नको लागि प्राविधिक र आर्थिक सहयोग दिएका छन्, उनीहरूले रणनीतिक रूपरेखाको निर्माणमा केही समय सहयोग गरे पनि हामी सधैँ दाताहरूमा भर पर्न सक्दैनौँ। स्मार्ट शहर निर्माणको प्रक्रिया सरकारी निकायबाट मात्र सम्भव हुँदैन त्यसैले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेल उपयुक्त हुन सक्छ जसमा सरकारी निकाय, अनुसन्धान संस्थाहरू, आइटी सेवा प्रदायकहरू, र अन्तर्राष्ट्रिय दाताहरू साझा लक्ष्यको सरोकारवालाहरू बन्न सक्छन्। कार्यान्वयनको अर्को चुनौतीको रूपमा देखिएको आइसीटीको पहुँचको सन्दर्भमा पनि सजग हुनु आवश्यक छ। देशका विभिन्न ठाउँका नागरिकबीचको खाडल जसलाई डिजिटल विभाजन पनि भनिन्छ, सामान्यतया शहर र ग्रामीण क्षेत्रका मानिसहरू बीच देखिएको छ। आइटी साक्षरतामा सुधार गरी विकास र कार्यान्वयनको प्रक्रिया लाई बलियो बनाउनको लागि सरकारी र निजी क्षेत्रहरूको सक्रिय संलग्नता अपरिहार्य छ। 

अन्तमा, हामी यो तीतो सत्यलाई बेवास्ता गर्न सक्दैनौँ कि राजनीतिक नेताहरू र सरकारी अधिकारीहरूको अक्षमता, अपर्याप्त योजना र प्रयास नै खराब कार्यान्वयन को प्रमुख कारण हो र स्मार्ट शहरको मामलामा पनि यस्तै हुन सक्छ। स्मार्ट सिटीको सम्भावनाहरू लगभग अनन्त छन् तर कार्यान्वयन पक्ष कमजोर हुँदा शहर झन् गुणस्तरहीन बन्न पनि सक्छ। सरकार र त्यसका अङ्गहरूको सकारात्मक प्रयाससँग, नागरिकहरू र बाह्य संस्थाहरूको  समर्थन भएमा स्मार्ट शहरको सपना त्यति टाढा भने छैन।

 



नयाँ