- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिलेसम्म ८ हजार एक सय २९ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको जनाएको छ। अख्तियारले बिहीबार सार्वजनिक गरेको त्रैमासिक बुलेटिन अनुसार आर्थिक वर्ष २०७७-७८मा १४ हजार ४ सय २५ थान उजुरी दर्ता गरिएका थिए। अघिल्लो वर्ष फर्छ्यौट हुन ८ हजार २ सय थान मुद्दा बाँकी रहेका थिए।
यसबाट २०७७-७८मा फर्छ्यौट हुन बाँकी रहेका मुद्दा समेत आव २०७७-७८मा २२ हजार ६ सय २५ थान मुद्दा पुगेका थिए। आव २०७७-७८मा एक वर्षमै १४ हजार ४ सय ९६ थान मुद्दा फर्छ्यौट भएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार हाल ८ हजार एक सय २९ थान मुद्दा फर्छ्यौट हुन बाँकी छ।
अख्तियारले २०७८ वैशाख देखि असारसम्म १३ वटा आरोप पत्रमा २६ जना व्यक्तिलाई प्रतिवादी बनाइ विशेष अदालतमा मुद्दा दायर गरेको गरेको थियो। अख्तियारले ती व्यक्तिहरूबाट ३ अर्ब, एक करोड ४४ लाख ६० हजार ४२ रुपैयाँ माग दाबी गरेको छ।
३ महिनामा अख्तियारले दायर गरेका १३ थान मुद्दामा एक जना सहसचिव सरह कर्मचारी, ७ जना शाखा अधिकृत, सहायक सरहका ७ जना कर्मचारी तथा ८ जना बिचौलियालाई प्रतिवादी बनाइएको बुलेटिनमा जनाइएको छ। यसै गरी एक जना शिक्षक-पाध्यापक माथि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार अख्तियारमा दर्ता भएको उजुरीहरूमध्ये सबैभन्दा बढी उजुरी स्थानीय तह सहित सङ्घीय मामिला मन्त्रालयसँग सम्बन्धित उजुरी छन्। कुल उजुरी मध्ये ३२ दशमलव ७२ प्रतिशत मुद्दा सङ्घीय मामिला सँग सम्बन्धित भएको अख्तियारले जनाएको छ।