- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनको प्रक्रियाका रूपमा मानिएको वडा अधिवेशन शुक्रवारबाट सुरु भइसकेको छ । काँग्रेसका क्रियाशील सदस्यहरूले वडा तहको नेतृत्व छान्न मतदान गर्दै छन् । देशभर रहेका स्थानीय तहका ६ हजार ७ सय ४३ वडाहरूमा काँग्रेसको नयाँ नेतृत्वका लागि आजबाट निर्वाचनको प्रक्रिया सुरु भएको हो ।
देशभरका यी सबै वडामा अधिवेशन सम्पन्न हुँदा काँग्रेसको वडा तहको नेतृत्वमा ४७ हजार २०१ पदाधिकारी र एक लाख २१ हजार ६ सय ८१ सदस्यहरू निर्वाचित हुने छन् । यसबाहेक मनोनीत हुनेको सङ्ख्या पनि रहनेछ ।
त्यस्तै देशभरका ६ हजार ७ सय ४३ वडाबाट एक लाख १४ हजार ५७५ जना क्षेत्रीय प्रतिनिधिसमेत निर्वाचित हुनेछन् । यो प्रक्रियामा समेत क्रियाशील सदस्यको महत्त्वपूर्ण भूमिका रहन्छ । यसरी निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरूले फेरी २७ भदौमा हुने पालिका तहको नेतृत्व छान्ने अधिवेशनमा मतदान गर्न पाउने छन् ।
देशभर वडा अधिवेशनको चहलपहल
काँग्रेसको आसन्न १४औँ महाधिवेशन सुरु भएसँगै वडा अधिवेशनमा पार्टीका नेता कार्यकर्ता आफ्ना जिल्ला तथा वडामा चुनावी माहौलमा केन्द्रित भएका छन् । कतिपय वडाहरूमा सहमतिका साथ वडाको नेतृत्व चयन गरिएको छ भने कतिपय वडाहरूमा निर्वाचन प्रक्रिया भइरहेको समितिले जनाएको छ तर कति वडाहरूमा आज निर्वाचन सम्पन्न भयो भन्ने तथ्याङ्क साँझसम्म मात्र उपलब्ध हुनेछ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली पनि क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ-नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने जानकारी दिए ।
करिब नौ लाखको सङ्ख्यामा रहेका काँग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ-नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने काँग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
मुलुक सङ्घीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने काँग्रेस पहिलो पार्टी बनेको छ । यसअघि काँग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुनमा सम्पन्न भएको थियो ।