arrow

कांग्रेसका वडा अधिवेशन ३५ जिल्लामा सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ १८ शुक्रबार
Congress-convention-14-nepa.jpg

काठमाडौं। नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि प्रारम्भ भएको गाउँ-नगर वडा अधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

अधिकांश वडामा सर्वसम्मत केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । अधिवेशन भएका वडाको मत परिणाम केन्द्रमा शनिवारसम्म आइपुग्ने समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । ५६ जिल्लामध्ये अधिवेशन हुन बाँकी जिल्लामा वडा अधिवेशन शनिवारदेखि भदौ २३ गतेसम्म सम्पन्न हुने उनले बताए । यस बाहेक क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली भने क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ-नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ ।

करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ-नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नै वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । 

यसबाहेक वडाअधिवेशनमा मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि पनि निर्वाचित हुन्छन् ।

महाधिवेशनअन्तर्गत गाउँ-नगरवडा अधिवेशन आज भदौ १८ गते, गाउँ-नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ । 



नयाँ