arrow

काँग्रेसका वडा अधिवेशन : ३८ जिल्लामा सम्पन्न

logo
भीष्मराज ओझा,
प्रकाशित २०७८ भदौ २० आइतबार
nepali-congress-flag.jpg_1618043342.jpeg

काठमाडौँ । नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ-नगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भएको छ । काँग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
 
अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । क्रियाशील सदस्यता नामावली प्रकाशित भएका जिल्लामध्ये शुक्रवार ३५ जिल्ला, शनिवार झापा र मुस्ताङ तथा आइतबार दाङमा वडा अधिवेशन सम्पन्न भएको समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
 
त्यस्तै भदौ २१ गते सुनसरी, नुवाकोट, धादिङ, चितवन, ललितपुर, पाल्पा, बागलुङ, नवलपुर, सल्यान, मुगु र बैतडीमा वडा अधिवेशन हुँदै छ । भदौ २२ गते गुल्मी, रोल्पा, प्युठान, कालिकोट र दार्चुला तथा भदौ २३ गते रुकुम पूर्व र रुकुम पश्चिममा अधिवेशन हुन लागेको उनले बताए ।
 
यसबाहेक क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली भने क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ-नगरपालिका अधिवेशनसम्म सबै जिल्लामा वडाको अधिवेशन सम्पन्न गर्ने योजना रहेको पार्टी कार्यालयले जनाएको छ । 

निर्वाचन समितिले भने अधिवेशन सम्पन्न गर्न कम्तीमा पाँच दिनअघि क्रियाशील सदस्यता सूची प्राप्त हुनुपर्ने माग गरेको छ । त्यसमध्ये पनि डोल्पा र रसुवामा भने भौगोलिक विकटताका कारण निर्वाचन सामग्री पठाउन थप समय लाग्ने संयोजक यादवले जानकारी दिए ।  
 
क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी रहेका २१ जिल्लामा तत्काल निर्वाचन अधिकृत खटाउन सक्ने गरी तयारी अवस्थामा रहेको समितिले जनाएको छ । क्रियाशील सदस्यको सूची सार्वजनिक भएको दुई घण्टाभित्र सम्बन्धित जिल्लामा निर्वाचन अधिकृत खटाउन सकिने गरी तयारी भएको उनले बताए ।
 
हालसम्म प्रदेश नं १ मा मोरङ, प्रदेश नं २ का सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा, वाग्मती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ र रसुवा, लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दिया, कर्णाली प्रदेशका डोल्पा र सुर्खेत तथा सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेलधुरा र कैलालीका क्रियाशील सदस्यको सूची समितिलाई प्राप्त नभएको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
 
करिब नौ लाखको सङ्ख्यामा रहेका काँग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ-नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने काँग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् ।
 
मुलुकभरका सबै छ हजार ७४३ वडामा कांगे्रसका अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र एक लाख २१ हजार ६८१ सदस्य निर्वाचित हुने समितिले जनाएको छ । यसबाहेक मनोनीत हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
 
काँग्रेसले यसअघि नै गाउँ-नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ-नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिसकेको छ ।
 
त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ