- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया अन्तर्गत मङ्गलवार पाँच जिल्लामा वडा अधिवेशन हुँदै छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार मङ्गलवार गुल्मी, प्युठान, रोल्पा, कालिकोट र दार्चुलामा वडा अधिवेशन हुँदै छ । काँग्रेसले वडा अधिवेशन गत १८ गतेबाट सुरु गरेको थियो । यस्तै बुधवार २३ गते रुकुम पूर्व र रुकुम पश्चिममा वडा अधिवेशन तोकिएको निर्वाचन समितिले जनाएको छ ।
हिजो २१ गते भने सुनसरी, नुवाकोट, धादिङ, चितवन, बागलुङ, नवलपुर, पाल्पा, सल्यान, मुगु, बैतडी र ललितपुर जिल्ला गरी ११ जिल्लामा वडा अधिवेशन भएको थियो । मङ्गलवार सम्पन्न हुनेसहित ५४ जिल्लामा काँग्रेसको वडा अधिवेशन सम्पन्न हुनेछ । बुधवारका लागि तोकिएका रुकुम पूर्व र रुकुम पश्चिममा वडा अधिवेशन सम्पन्न हुँदा काँग्रेसको ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न हुनेछ ।
सभापति शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा भने २५ भदौका लागि वडा अधिवेशन तोकिएको छ । तर वडा सभापतिकै सदस्यता काटिएपछि त्यहाँ विवाद बढेको छ । अन्य २० जिल्लामा भने कहिले वडा अधिवेशन हुने भन्ने टुङ्गो छैन । अब क्रियाशील सार्वजनिक हुन बाँकी जिल्लाहरू मध्ये सबै भन्दा बढी प्रदेश २ का आठ वटा जिल्लामा समस्या बढी देखिएको छ ।
काँग्रेसले ७५३ वटै पालिका तहमा भने २७ भदौका लागि अधिवेशन तोकेको छ । वडा अधिवेशन नै सबै जिल्लामा सम्पन्न नभए ती जिल्लामा पालिका अधिवेशन पनि धकेलिन सक्छ । प्रदेश १ मा मोरङको सदस्यता सार्वजनिक भएको छैन । प्रदेश २ का सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा गरी आठ वटै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गरिएको छैन ।
यसै गरी बागमती प्रदेशका सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ र रसुवा गरी चार जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन । लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दियाको सूची सार्वजनिक हुन सकेको छैन भने कर्णाली प्रदेशका डोल्पा र सुर्खेत, सुदूरपश्चिम प्रदेशका बाजुरा, डडेलधुरा र कैलालीको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ ।
निर्धारित कार्यतालिका अनुसार प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुने उल्लेख छ ।
यसै गरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० कात्तिक देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मङ्सिरसम्म काठमाडौँमा हुने उल्लेख छ ।