arrow

क्रियाशील सदस्यता विवाद : देउवाको गृह जिल्ला डडेलधुरा कार्यसमितिको बैठकमा भिडन्त 

अधिवेशनका कार्यक्रमहरू स्थगित, एक पक्षद्वारा २५ गते वडा अधिवेशन घोषणा

logo
राम धामी,
प्रकाशित २०७८ भदौ २२ मंगलबार
ddl-congress.JPG

डडेलधुरा । नेपाली काँग्रेसको क्रियाशील सदस्यता वितरणमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेलधुरामा अनावश्यक हस्तक्षेप गरेपछि सातौँ जिल्ला अधिवेशनको पूर्व सन्ध्यामा आयोजित जिल्ला कार्यसमितिको बैठकमा भिडन्त भएको छ । 

मङ्गलवार नेपाली काँग्रेस डडेलधुराको बैठकमा दुई पक्षबिच भिडन्त भएको हो । दिउसो नेपाली काँग्रेस डडेलधुराको कार्यालय किसुनजी भवनमा आयोजित बैठकमा केन्द्रबाट तोकिएका निर्वाचन अधिकृतले केन्द्रले सार्वजनिक गरेको सदस्यता विवरणका आधारमा निर्वाचनमा जाने प्रस्ताव राखेपछि विवाद उत्पन्न भएको हो । 

क्रियाशील सदस्यता विवादका क्रममा भिडन्त हुन थालेपछि बिहानैदेखि पार्टी कार्यालयमा तैनाथ प्रहरीले हस्तक्षेप गरेको थियो । नेपाली काँग्रेस डडेलधुराले पत्रकार सम्मेलन गर्दै वडा तहदेखि प्रक्रियागत ढङ्गले पठाइएका क्रियाशील सदस्यता थपघटगरि केन्द्रीय निर्वाचन समितिमार्फत नामावली सार्वजनिक भएको विषयमा उत्पन्न विवाद समाधान नहुन्जेल सम्मका लागि जिल्ला अधिवेशनका सम्पूर्ण प्रक्रिया स्थगन गरिएको जनाएको छ । 

क्रियाशील सदस्यता विवादका कारण गाउँ बस्तीसम्म मुठभेड हुनसक्ने अवस्थालाई मध्यनजर गरेर प्रक्रियागत रूपमा क्रियाशील सदस्यता वितरण गरिनुपर्ने नेपाली काँग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लले बताए । उनले जिल्ला कार्यसमितिसँग समन्वय गरेर अधिवेशनको प्रक्रिया अघि बढाउनुपर्नेमा एकपक्षीय रूपमा जिल्ला निर्वाचन अधिकृतले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएकोमा भर्त्सनायोग्य काम भएको जिकिर गरे । 

जिल्ला कार्यसमितिले यथास्थितिमा गाउँपालिका-नगरपालिका वडा अधिवेशन आयोजना गर्न नसकिने निर्णय गरेको अवस्थामा निर्वाचन अधिकृत लोकेन्द्र बमले एक विज्ञप्ति प्रकाशित गर्दै यही भदौ २५ गते वडा अधिवेशनको कार्यतालिका प्रकाशित गरेको जनाएका छन् । जिल्ला कार्यसमितिसँग समन्वय नगरेर कार्यतालिका प्रकाशित गरिएकोले यो अवैधानिक हुने नेपाली काँग्रेस डडेलधुराको सभापति पदका आकाङ्क्षी अधिवक्ता हरिप्रसाद भट्टले बताए । 

गत आइतबार राती नेपाली काँग्रेस डडेलधुराको क्रियाशील सदस्यताको विवरण नेपाली काँग्रेसको आधिकारिक वेबसाइटबाट सार्वजनिक भएसँगै प्रधानमन्त्री देउवाको गृह जिल्लामा तीव्र असन्तुष्टि देखिएको छ । मुलुककै सबैभन्दा जेठो लोकतान्त्रिक दल मानिने काँग्रेसमा विधि र पद्धतिगत ढङ्गबाट क्रियाशील सदस्यता वितरण हुनुपर्नेमा अनावश्यक हस्तक्षेप भएको भन्दै जिल्ला स्तरीय नेता कार्यकर्ताहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका हुन् । 

काँग्रेस सभापति तथा प्रधानमन्त्री देउवाले गृह जिल्ला डडेलधुरामा अघि सारेका जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउदलाई जिताउने अभिप्रायले वडा, पालिका, प्रदेश सभा क्षेत्र र जिल्ला कार्यसमिति गरेर चार तहबाट विधिवत् रूपमा पारित गरेर पठाएका क्रियाशील सदस्यहरू मध्ये  चार सय ६० जनाको नाम छानबिन हटाएर कुनै पनि प्रक्रिया नपुगाइएका तीन सय १२ जनाको नाम केन्द्रबाटै थपेर अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको नेपाली काँग्रेस डडेलधुराका उपसभापति करुणाकर भट्टले बताए । उनले जिल्ला नेतृत्वका लागि उम्मेदवारदेखि मतदातासम्म केन्द्रबाटै पठाइएकाले अन्यौलता उत्पन्न भएको जिकिर गरे । केन्द्रीय कार्यालयको मनोमानी र अन्यायका विरुद्ध सङ्घर्ष गरेर अघि बढ्ने जिल्ला स्तरीय नेताहरू बताउँछन् । 

लामो समयदेखि दुई वटा गुटमा रहेको नेपाली काँग्रेस डडेलधुराको संस्थापन पक्षले पार्टीको केन्द्रीय कार्यालयबाट क्रियाशील सदस्यता वितरणमा धाँधली भएको आरोप लगाएको छ भने केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवाको संरक्षणमा रहेको अर्को समूहले केन्द्रले सार्वजनिक गरेको क्रियाशील सदस्यताका आधारमा वडा अधिवेशनमा जाने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ